५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

विद्युत र इन्टरनेट नभएपछि गोरखाको धार्चे गाउँपालिकाको सेवा धादीङबाट

धार्चे गाउँपालिकाको कार्यालय।

गाउँपालिकाको केन्द्रमा विद्युत र इन्टरनेट नचलेपछि गोरखाको धार्चे गाउँपालिकाले धादीङ स्थित त्रिपुरासुन्दरी गाउँपालिकाको आरुघाटबाट सेवा दिन सुरु गरेको छ। इन्टरनेट नचल्दा विद्युतिय प्रक्रियाबाट भुक्तादी दिन, अन्य कागजात तयार गर्न समस्या भएपछि असार १३ गतेदेखि त्रिपुरासुन्दरी २ स्थित बेम्बो होटलबाट सेवा सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले बताए।  

‘एक महिनादेखि इन्टरनेट राम्रो सँग चलेको छैन, जताततै पोल ढलेको छ, ठाउँठाउँमा पहिरो बगेको छ’ अधिकृत अधिकारीले भने ‘योजनाको मूल्याङ्कन, भुक्तानी प्रक्रिया सबै रोकिएपछि नजिकको बजार झरेका हौँ।’ गोरखा सदरमुकामबाट सेवा दिँदा उपभोक्तालाई सास्ती हुने भएकाले धार्चेबाट नजिकको बजार आरुघाटबाट सेवा दिएको उनले बताए। ‘यो एक महिना यहाँबाट सेवा दिन्छौँ, त्यसपछि अन्य काम केन्द्रबाट नै हुन्छ’ प्रमुख प्रशासकिय अधिकृत अधिकारीले भने। अहिले मात्र नभएर दुर्गम भुगोलका कारण इन्टरनेटको समस्या वर्षभरी रहेको उनले बताए। अहिले लेखा, प्राविधिक र योजना गरी तीनवटा शाखाको काम आरुघाटबाट भएको छ।  

गत असार १ गते गाउँपालिकाको केन्द्रमा विद्युत अवरुद्ध भएको थियो। त्यसयता मर्मत भएपनि पुन बिग्रिएको उपाध्यक्ष फुलमाया गुरुङले बताईन्। ‘इन्टरनेट नभएको पनि एक महिना भयो, काम नै ठप्प भएपछि हामी आरुघाट झर्न बाध्य भयौँ’ उनले भनिन् । गाउँपालिकाको केन्द्रमा बैंक भएपनि इन्टरनेट नहुँदा कारोबारको समस्या भएको र आरुघाटमा पनि सिभिल बैंक भएका उपभोक्तालाई कारोवार गर्न सहज हुने उनले बताईन्।  

योजना फस्र्योट गर्न आरुघाट आउनुपर्ने बाध्यता उपभोक्तालाई हुने भएको छ। अझै ६० प्रतशित भन्दाबढि भुक्तानी बाँकी रहेको र आर्थिक वर्षको अन्तिममा भुक्तानी लिन आउने प्रवृत्तीका कारण छिटो काम गर्नुपर्ने अवस्था रहेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए। नेपाल टेलिकमको उहिया स्थित टावरबाट धार्चे गाउँपालिकाको केन्द्रमा इन्टरनेट संचालन भएको थियो। बूढीगण्डकीमा आएको बाढीले जगत स्थित लघुजलविद्युतमा क्षती पुगेपछि उहियाको टावरमा विद्युत अवरुद्ध हुँदा इन्टरनेट अवरुद्ध भएको हो।  

प्रकाशित: १५ असार २०७८ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App