coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना कहरमा जनताका सारथि बने शाही

जुम्ला हिमा गाउँपालिका–१ बड्की निवासी कांग्रेसका युवा नेता लक्ष्मण शाही स्थानीय तहको निर्वाचनमा अध्यक्षका उम्मेदवार थिए। उनले गाउँपालिकाभित्रको स्वास्थ्य शिक्षामा आमूल परिवर्तन ल्याउनेदेखि रोजगारी सिर्जना गर्नेसम्मका विषय समेटेर घोषणा पत्र सार्वजनिक गरे। तर निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रजबहादुर शाहीबाट उनी ४५ मतले पराजित भए।

पराजित भएपनि उनी जनताको सुखदुःखमा साथ दिनेभावनामा कहिल्यै विचलित भएनन्। अहिले उनी जनताको घरदैलोमा पुग्छन्। जनताका समस्यामा एकाकार हुँदै आएका छन्। कोरोना कहरबीच पनि नेता शाही जनताको घरदैलोसम्म पुगिरहे। स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गर्न आग्रह गरे। घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्न, सेनिटाइजरको लगाउन, साबुनपानीले नियमित हात धुन भन्दै उनी सचेतना फैलाउन थाले। ‘निर्वाचनमा पराजित भए पनि जनताको सेवा गर्न कत्ति पनि विचलित भएको छैन। जनताको हरेक सुखदुखमा साथ दिने प्रयत्न गरिरहेको छु,’ उनी भन्ने गर्छन्।

पहिलो चरणमा कोरोना संक्रमण हुँदा नयाँ प्रकारको रोग प्रवेश गरेको भन्दै गाउँमा त्रास थियो। जनता आत्तिएका थिए। कालापहाडदेखि आउने क्रम निकै बढ्दो थियो। त्यो समयमा उनी गाउँगाउँमा पुगेर सचेतना फैलाउँदै थिए। उनले भने, ‘हिमा गाउँपालिकाभित्रका २३ वटै गाउँमा पुगेर सचेतना दिएर कोरोना संक्रमणविरुद्धको लडाइँमा उभिन ऊर्जा थप्ने कार्य गरियो। उतिबेला यो निकै चुनौतीपूर्ण कार्य थियो।’

जनताको हरेक संकट समाधान, सामाजिक विकास र गाउँपालिकाको उन्नति र प्रगतिमा आफूले साथ दिने गरेको उनी बताउँछन्। उनको यो कार्यप्रति स्थानीय पनि सन्तुष्ट छन्। गाउँपालिका अध्यक्ष जितेर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत कुरामा जोड दिने लक्ष्य उनको थियो। तर निर्वाचन जित्न सकिएन। तैपनि जनताको सेवाबाट पछि हटेको छैन। नेता शाहीले भने, ‘समाजसेवा रहरले गर्ने विषय होइन, त्यसका लागि आत्मैदेखि जनसेवाको भावनाको विकास हुनु जरुरी छ।’

पहिलो चरणको कोरोना कहरमा उनले गाउँपालिकाभरि १० हजार मास्क बाँडे। स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराए। क्वारेन्टिनमा बसेकाहरूका लागि आवश्यक खाद्यान्न र स्वास्थ्य सामग्री दिए। प्रहरी चौकीका लागि स्वास्थ्य सामग्री दिए। उनले भने, ‘उतिबेला कोरोना भाइरस सबैको लागि नयाँ थियो। ज्यानको प्रवाह नगरी गाउँबस्तीमा पुगेर सचेतना फैलाउने कार्य भयो। यो कार्यले मनमा सन्तुष्टि मिलेको छ।’

दोस्रो लहरमा उनले सबै गाउँमा पुगेर ६ हजार १ सय मास्क बाँडे। मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्न अपिल गरे। त्यसबाहेक आफ्नो गाउँपालिकाभित्रका संक्रमितसँग फोन गरेर समस्या बुझ्ने, समाधान गर्ने प्रयत्नदेखि निरन्तर उत्साह, ऊर्जा दिने काम गरिरहेका छन्। उनले भने, ‘अहिले जनता सबै कोरोनाबाट बच्नु छ। कोरोनाबाट बचाउन हरेक प्रयत्न गर्नु जरुरी छ। यो कार्य भइरहेको छ।’ नेता शाहीले गरेको सेवा हेर्दा अहिले हिमाका जनता पश्चात्तापमा छन्।

‘निर्वाचनमा मान्छे चिनेनौं। गल्ती भयो। निर्वाचित गरेको भए सेवा रामै्र पाइने थियो’ भन्दै शाहीसामु पछुताउँछन्। अहिले शाही पनि बढी जनसम्पर्कमा छन्। नेता शाहीले स्वास्थ्य क्षेत्रमा निकै काम गर्नुपर्ने स्थिति रहेको बताउँछन्। शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्नेछौँ। आधुनिक कृषि प्रणालीको विकास गर्ने र पर्याप्त रोजगारीको अवसर सिर्जना गर्न गाउँपालिकासँग छलफल हुने गरेको उनको भनाइ छ। उनी गाउँपालिकाका नकारात्मक विषयमा खबरदारी गर्छन्, सकारात्मक काममा सघाउँछन्। उनी भन्छन्, ‘स्थानीय सरकारको गुण र दोषका आधारमा समर्थन वा विरोध भइरहेको छ।’

युवा नेता शाहीले कर्णाली प्राविधिक शिक्षालयमा ओभरसियर विषयमा अध्ययन गरे। त्यो समयमा कर्णाली प्राविधक शिक्षालयको विद्यार्थीहरूका संयोजक बने। कांग्रेसनिकट सांस्कृतिक संगठनको जुम्ला अध्यक्ष उनी दुईपटक नेपाल तरुण दलको जुम्ला अध्यक्ष, सांस्कृतिक संघको केन्द्रीय सदस्य हुँदै अहिले नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य छन्। जुम्लाको संगठन विभागको संयोजक रहेका शाही कोरोना रोकथाम तथा नियन्त्रणका लागि बस्तीस्तरका कार्यकर्तालाई सचेतनाका क्रियाकलाप गर्न निर्देशन गरिएको बताउँछन्।

प्रकाशित: ८ असार २०७८ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App