७ वैशाख २०८१ शुक्रबार
समाज

निर्वाचन अवधिमा आयुक्तहरुले कर्मचारी सरह भत्ता पाउने

सरकारले निर्वाचन अवधीमा निर्वाचन आयोगका पदाधिकारीहरूलाई पनि थप सुविधा तथा भत्ता उपलव्ध गराउने भएको छ। मन्त्रिपरिषद्को बैठकले निर्वाचनको अवधि सुरु भएपछि आयोगका कर्मचारीहरू सरह पदाधिकारीहरूलाई पनि तथ सुविधा तथा भत्ता दिने निर्णय गरेको हो। मन्त्रीपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले राजपत्रमा सूचना समेत प्रकाशन गरेको छ।

मन्त्रालयका अनुसार निर्वाचनको समयमा दिइने थप सुविधा तथा भत्ताको विषयमा आयोगले आर्थिक कार्यविधि तयार गरेपछि अर्थ मन्त्रालयले स्वीकृत गर्नेछ। यो निर्णयसँगै अव निर्वाचन आउन १ सय २० दिन अघिदेखि  

प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरूले थप सुविधा तथा भत्ता प्राप्त गर्नेछन्। आयोगमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधर छन्। जसमध्ये थपलिया र पौड्याल नेपाल सरकारका पूर्वसचिव हुन्।यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा आयोगका कर्मचारीहरूलाई १ सय २० प्रतिशत भत्ता र अन्य सुविधा समेत उपलब्ध गराएको थियो।

आयोगले भने सरकारबाट निर्णय भैसकेपनि कार्यविधि भने निर्माणको प्रक्रियामा रहेको जनाएको छ। ‘कार्यविधि निर्माणको काम भैरहेको छ, कसले कति भत्ता पाउने भन्ने अहिले टुंगो लागिसकेको छैन,’ आयोग प्रवक्ता राजकुमार श्रेष्ठले भने ‘निर्वाचनको अवधिमा आयुक्त र कर्मचारीलाई रातदिन खटेर अतिरिक्त काम गर्नुपर्ने हुन्छ, अतिरिक्त समयको कामवापत भत्ता दिने भन्ने हो, कति पाउने भन्ने कार्यविधी बनेर स्वीकृत भएपछि मात्रै हुन्छ।’

आयोगका अनुसार निर्वाचन आउन ४ महिना अथवा १ सय २० दिनको अवधीमा मात्रै पदाधिकारी र कर्मचारीलाई अतिरिक्त भत्ता सुविधा लागु हुनेछ। निर्वाचन घोषणा भएपछि १ सय २० दिनलाई निर्वाचन अवधि मानिन्छ।

प्रकाशित: ४ असार २०७८ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App