२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विवाह अस्वीकार गर्दै प्रेमिकाको हत्या

डेढ महिनाअघि मोरङको रतुवामाई नगरपालिका–६ स्थित मैकबारीमा मृत अवस्थामा भेटिएकी महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।  

मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरिता सोरेनको हत्या आफ्नै प्रेमीबाट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। सोरेनले प्रेमी रतुवामाई–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दालाई विवाहका लागि प्रस्ताव राख्दा अस्वीकार गरेपछि हत्या गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। घटना भएको डेढ महिनापछि प्रहरीले हस्दाले हत्या गरेको पुष्टि गर्दै महेन्द्रनगरबाट बुधबार पक्राउ गरी ल्याइएको जनाएको छ।  

प्रहरीले गरेको अनुसन्धानबाट दुवब जनाबीच करिब ६ महिनदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। श्रीमानको मृत्यु भएपछि एक सन्तानकी आमा सरितासँग सुफलले प्रेमको नाटक गर्दै नजिकिएको पाइएको प्रहरीले जनाएको छ। सुफलले यो घटनाअघि नै दुईवटा बिहे गरिसकेका थिए। सुफलको घरमा दुई श्रीमती र तीन सन्तान रहेको प्रहरीले जनाएको छ।  

कानेपोखरी–२ मा रहेको एक गाई फर्ममा काम गर्दै आएकी सरिता वैशाख १७ गते बिहेमा जाने भनेर बिदा लिएर रतुवामाई पुगेकी अनुसन्धानका क्रममा खुलेको एसपी खड्काले बताए। ‘उनले त्यहाँ प्रेमी सुफलसँगको भेटपछि बिहे गरेर घरमै लैजानु भन्दै दबाब दिएको र त्यसलाई अस्वीकार गरी कुटपिट गर्दै घाँटी थिचेर सरिताको हत्या गरिएको हो।’  

घरबाट हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव मकैबारीमा भेटिएको थियो। सरिताका श्रीमानको तीन वर्षअघि मृत्यु भएको र उनका श्रीमान र सुफल दुबै ट्याक्टर चलाउँथे। यसैबीच उनीहरुबीच चिनजान भएपछि भएको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरिताले दबाब दिन थालेपछि दुई जनाबीच वादविवाद बढ्दै गएपछि घटना भएको देखिएको एसपी खड्काले जनाए।

प्रेमिकाको हत्या गरेर फरार रहेका सुफल भारत गई उतै बस्ने योजना बनाएर लुक्दै महेन्द्रनगरको कञ्चनपुर पुगेका रहेछन्, एसपी खड्काले भने, ‘बुधबार साँझ कञ्चनपुरबाट पक्राउ गरी यहाँ ल्यायौं। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएका छौं।’

प्रकाशित: ३ असार २०७८ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App