१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विस्थापितको पहरामा बास

भारी वर्षापछिको बाढीले मनाङमा व्यापक क्षति पुर्‍याएको छ। मर्स्याङ्दी खोला नजिकका होटल, घर, प्रहरी चौकी, बैंक तथा वित्तीय संस्थाका कार्यालय र गाउँपालिकाको वडा कार्यालय बगेका छन्। मौसम खराब हुँदा उद्धारका लागि हेलिकप्टरसमेत आउन सकेको छैन। 

तीन दिनदेखिको पर्खाइमा रहे पनि मौसम खराबीले हेलिकप्टर आउन नसक्दा उद्धारमा खटिन कठिनाइ भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। सेनाले हेलिकप्टरमार्फत राहत सामग्री लिएर आउने तयारी गरेको भए पनि मौसम अनुकूल नहुँदा सम्भव नभएको उनले बताए। अहिलेसम्म मनाङमा ५३ घरमा क्षति पुगेको छ। तर सबै विवरण आइसकेको छैन। सदरमुकाम चामेभन्दा तल आधा दर्जन झोलुंगे पुल पनि बगिसकेका छन्। त्यस्तै मोटर बाटो पनि भासिएको छ। पक्की पुल पनि बगेका छन्। बाढीले बिजुलीको पावर हाउस बगाएको छ। पावरहाउसमा पानी पुर्‍याउने पाइपसमेत बगेको छ।

प्रजिअ लामिछानेका अनुसार सदरमुकाम चामेमा विस्थापित भएका करिब ३ सय जनालाई नयाँ कारागार भवनमा राखिएको छ। त्यस्तै प्राइम र प्रभु बैंकका शाखा कार्यालयमा पनि क्षति पुगेको छ। धारापानीको ओडार भन्ने ठाउँमा ७० जनाजति एकै ठाउँमा बसेका छन्। उनीहरूमध्ये स्थानीय तहका कर्मचारी पनि केही रहेको बताइएको छ। ‘सबैतिर अत्यासलाग्दो अवस्था छ। न त उद्धारमा जान सकिएको छ, न खटाउन नै,’ उनले भने, ‘बुधबार दिउँसो केही बेर थामिएको वर्षाले बेलुकातिर पुनः भीषण आकार लिइरहेको छ।’

सबैभन्दा जोखिममा नासों गाउँपालिका–१ तालगाउँका स्थानीय परेका छन्। तालगाउँमा ६० घर छन्। मर्स्याङ्दी नदीको किनारमै रहेको तालगाउँमा एउटा घर पनि बस्न लायक छैन। घर नबगेको भए पनि घरभित्र पानी पसेकाले समस्या भएको प्रजिअ लामिछानेले बताए। उनका अनुसार तालका बासिन्दा अहिले केही माथिको सुरक्षित स्थानमा बस्न पुगेका छन्। केही गाउँले आफन्तकहाँ पनि शरण लिन पुगेका छन्। बुधबार बिहानपख ङावलमा पहिरो झरेर केही बेर मर्स्याङ्दी नदी थुनिएको भए पनि एक घन्टापछि बग्न थालेको थियो। तल्लो भेगका धारापानी, थोचे र तालगाउँ पुरै विस्थापित भएका छन्। थोचेमा पहिरो आएर गाउँले विस्थापित भएका छन्। विस्थापित गाउँले पहरोमा आश्रय लिएर बसेको उनले बताए। ‘सबैतिर तहसनहस पारेको छ। उद्धारमा खटिन पनि सकस भएको छ,’ उनले भने।

सेना, सशस्त्र र नेपाल प्रहरीका गरी ३३ सुरक्षाकर्मी अहिले अति प्रभावित धारापानी, तालगाउँका लागि सदरकमुकाम चामेबाट हिँडेका छन्। तीनवटा सुरक्षा निकायका ११ जनाका दरले अधिकृतको नेतृत्वमा टोली अहिले धारापानी हुँदै तालगाउँसम्मका लागि हिँडेको उनले बताए। तालगाउँ पुरै सम्पर्कविहीन भएको उनले बताए। ‘धेरै गाउँसँग सञ्चार सम्पर्क गर्न सकिने अवस्था पनि छैन,’ उनले भने। बाढीपहिरोले कतिपय गाउँको एकअर्काबीच सम्पर्क विच्छेद गराइदिएको छ। पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ। मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले मानवीय क्षति हुन नपाए पनि भौतिक क्षति धेरै भएको बताए। ‘हामी स्थानीयसँग बढो कठिनका साथ सम्पर्कमा त छौं। तर आउजाउ सहज छैन। तत्काल पुग्ने अवस्था नै छैन,’ उनले भने, ‘किनकि त्यहाँसम्म पुग्ने बाटो नै छैन। पुल नै बगेका छन्।’ तालका बासिन्दा पाल टाँगेर बसेको उनले बताए। कपितय आफन्तकहाँ र धारापानीसम्म पुगेर आश्रय लिएको पनि खड्काले बताए। ‘एक गाउँबाट अर्काे गाउँसम्म आउजाउ गर्न सहज छैन,’ उनले भने। उनका अनुसार २०५३ मा मनाङमा यसैगरी बाढी आएको थियो।  

म्याग्दीमा पनि उस्तै क्षति

अधिक वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा ६० भन्दा बढी घरधुरी विस्थापित भएका छन्। तीन दिनदेखि भइरहेको भारी वर्षाले जिल्लाभर वितण्डा मच्चाएको छ। जिल्लाभरको जनजीवन अस्तव्यस्त भएको छ। बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्रका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ भने दुईजनालाई सामान्य चोट लागे पनि मानवीय क्षति भएको छैन। म्याग्दी र कालिगण्डकी नदीसहित जिल्लाभरको खहरेखोला र सहायक नदीहरूको कटान, पहिरो तथा सडक विस्तारका क्रममा जोखिम क्षेत्रमा असर गरेको छ। 

बेनीबजारको क्याम्पसचोक, अस्पताल चोक, मंगलाघाट आसपासका क्षेत्रमा माथिल्लो क्षेत्रबाट खसेको भलबाढीले क्षति गरेको छ। बेनी नगरपालिका–४ तातोपानी मसारका १८ र राक्सेका पाँच, धवलागिरि गाउँपालिका–२ खोरियाका १३ घर, उत्तरी म्याग्दीको अन्नपूर्ण–५ घोस्केखोरका सात, स्वातत गाउँका तीन र पाउद्वारका दुई घरमा क्षति पुगेको सिखकाका वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए। घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमती बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टीकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्षति पुगेको र उनीहरू विस्थापित भएको स्थानीय प्रशासनले बताएको छ।  

पहिरोले पशुचौपायाको गोठसमेत पुरिदिएको छ भने सयौं रोपनी खेतीयोग्य जमिनमा असर गरेको छ। यता पहिरोका कारण बेनी–२ बगरफाँटमा–९ र वडा ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएको स्थानीयले बताएका छन्। बेनी नगरपालिका–४ डाँडाखेतमा लोकेन्द्र खत्री, खेमराज पौडेल र सानु किसानका परिवार विस्थापित भएको वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिए। मंगला गाउँपालिका–२ तल्लो डडुवास्थित कुकुर बिसौनामा पहिरोले कृष्णबहादुर दर्जीको ढुंगा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ।  

घर भत्किएपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको नेत्रराज सुवेदीले जानकारी दिए। यसैगरी सदरमुकाम बेनीको क्याम्पसचोकमा आएको बाढी पसेर कालीपुलमा रहेको देवेन्द्र पौडेलको ग्यारेज डुबाएको छ। बर्वाासँगै जामुनाखर्कको पाखाबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालिपुल बसपार्क हिलाम्मे बनाएको छ।  निरन्तरको बाढीपहिरोले जिल्ला सदरमुकाम बेनीलाई जोड्ने अधिकांश ग्रामीण सडक अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा, बेनी–बागलुङ बेनी–जोमसोम सडक अवरुद्ध छ भने बेनी–दरबाङ, बेनी–पाखापानी, बेनी–बरंजा, गलेश्वर–मौवाफाँट–चिमखोला–कुइनेमंगले, पोखरेबगर–घार–सिख–चित्रेलगायत सबै ग्रामीण बस्ती जोड्ने सडकमा यातायात ठप्प भएको छ। कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले खतराको तह नाघेको छ।  

लमजुङमा पनि क्षति  

अविरल वर्षात्ले लमजुङको दोर्दी गाउँपालिका–८ का चार, क्वालोसोथार गाउँपालिका–२ मा पहिरोबाट पाँच घर जोखिममा परेका छन। मर्स्याङ्दी गाँउपालिका–४ मा बाढीलेले दुईवटा रेस्टुरेन्ट, एउटा पसल, एउटा पानी उद्योग, वन सबडिभिजन कार्यालयको भवन बगाउँदा १३ जना विस्थपित भएका छन्। त्यस्तै मस्र्याङदी गाउँपालिका–६ नाइचेस्थित रहेको सुपरङदी हाइड्रोपावरको जस्ताले बारेको जस्ताले छाएको अस्थायी क्याम्प पुरेको छ।

प्रकाशित: ३ असार २०७८ ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App