२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२१ जनाले कोरोना जितेपछि गाउँमा खुसियाली

एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी–६ रावतबाडा गाउँमा खुसियाली छाएको छ। कोरोना संक्रमण फैलँदा गाउँमा निराशा छाएको थियो। गाउँभर त्रास थियो। गाउँ नै सिल गरिएको थियो। कुनै पनि बाहिरको मान्छे गाउँमा प्रवेश पाउँदैनथे। गाउँभित्रको व्यक्ति बाहिर निस्कन पाउँदैनथ्यो। संक्रमित सबै गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बसेका थिए। गाउँमा एक साताका लागि सिल गरिएको थियो।  

गाउँभर कोरोनाको त्रास थियो। गाउँले कोरोनाले कसैको ज्यानमा तलमाथि नहोस् भनेर प्रार्थना गरिरहेका थिए। एकै पटक २१ जनामा कोरोना संक्रमण भएपछि गाउँमा सन्नाटा छाएको थियो। तर संक्रमित निको भएर लर्को लागेर घर फर्किंदा स्थानीय निकै खुसी भएका छन्। तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरूप्रसाद चौलागाईं एकै पटक २३ जना निको भएर घर फर्किंदा निकै खुसी भएको बताउँछन्। उनले भने, ‘धमाधम गाउँमा संक्रमित भेटिन थालेपछि निकै चिन्तित थियौं। अब निको भएर घर फर्कने लहर सुरु भएकाले उत्साहित छौं।’ 

कोभिड अस्पतालमा रहेको आइसोलेसनबाट एकै दिन तातोपानी–६ का २१ जना र तातोपानी–७ का २ जना संक्रमित कोरोना जितेर घर फर्किएपछि गाउँमा खुसियाली छाएको हो। 

कोभिड अस्पतालमा रहेको आइसोलेसनबाट एकै दिन तातोपानी–६ का २१ जना र तातोपानी–७ का २ जना संक्रमित कोरोना जितेर घर फर्किएको उनले बताए। कोरोना जितेर घर फर्किने संक्रमितको गाउँपालिकाले भव्य रूपमा बिदाइ गरेको थियो। संक्रमण देखिँदा आइसोलेसनमा आउन मानिरहेका थिएनन्। तर निको भएर घर फर्कंदा गाउँपालिकाले गरेको व्यवस्थापनको प्रशंसा भइरहेको थियो। आइसोलेसनमा बस्दा आफ्नो पनि सुरक्षा हुने र आफन्तको पनि सुरक्षा हुने भन्दै आइसोलेसन बनाउने काम निकै प्रभावकारी भएको अनुभूति संक्रमितले सुनाइरहेका थिए।  

तातोपानी गाउँपालिकाले ४७ जना संक्रमितलाई आइसोलेसनमा राखेको थियो। गाँस र बासको व्यवस्था गर्नुका साथै निरन्तर स्वास्थ्यकर्मी तथा चिकित्सकको निगरानीमा राखेको थियो। स्वास्थ्य संयोजक चौलागाईंले भने, ‘कोरोना संक्रमण एकाएक फैलँदा गाउँमा त्रास थियो। अहिले निको भएर घर फर्कंदा आत्मबल मिलेको छ। आत्मविश्वास र सावधानीले कोरोना सहजै जितिन्छ भन्ने सन्देश गाउँबस्तीमा फैलिएको छ।’

आइसोलेसनमा हरेक दिन जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गर्ने, भरोसा दिने र व्यवस्थापनमा देखिएको अभाव परिपूर्ति गर्ने गरिएको थियो। ठूलो संख्यामा संक्रमित आइसोलेसनमा राखेर औषधि उपचार, निगरानी राख्ने तातोपानी पहिलो गाउँपालिका हो। जिल्लाका एक नगरपालिकासहित ७ गाउँपालिकामा आइसोलेसन सेन्टर बने पनि प्रयोगमा आउन सकेनन्।  

तर तातोपानी गाउँपालिकामा संक्रमितको घरघर पुगी आइसोलेसनमा बस्नका लागि प्रेरित गरिएको थियो। उपाध्यक्ष गंगादेवी उपाध्याय बल्ल जनप्रतिनिधि भएको अनुभूति भएको बताउँछिन्। उनले भनिन्, ‘कोरोनाले जनजीवन अस्तव्यस्त छ। आइसोलेसनमा आउन नमान्दा निकै चुनौती रह्यो। तर आइसोलेसनबाट निको भएर घर फर्कंदा सबैले दुःख बिर्सिए। मनमा खुसी नै छायो। ’

गाउँमा कोरोना लक्षणका बिरामी देखिनेबित्तिकै स्वास्थ्यकर्मी लिएर वडाध्यक्ष विशाल खड्का गाउँ पुगेका थिए। उनले गाउँपालिका स्वास्थ्य शाखासँग समन्वय गरी पिसिआर परीक्षणका लागि पहल गरे। खड्काले भने, ‘गाउँमा कोरोना फैलँदा स्वाभाविक रूपमा त्रास त थियो नै तर कोरोना परीक्षण गरेर संक्रमितको स्वास्थ्य सुरक्षाका लागि निकै चासो थियो। समयमै पहल गर्दा कोरोनाबाट क्षति बेहोर्नुपरेन। पालिकालाई यसैमा सन्तुष्टि छ।’

तातोपानी गाउँपालिकाले गाउँपालिकाभित्रका ८ वडाका हरेक बस्तीमा कोभिड सम्पर्क व्यक्ति राखेको छ। दैनिक सबै वडाका सबै गाउँको अवस्थाबारे जानकारी लिने गरिएको छ। अहिले गाउँपालिकाका ठूलो संख्यामा संक्रमित आइसोलेसनमा छन्। गाउँपालिकाले ट्रेसिङ र टेस्टिङलाई सँगसँगै अघि बढाएको जनाएको छ।

प्रकाशित: १ असार २०७८ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App