३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

असुरक्षित बन्दै सडक यात्राः टिप्परको ठक्करले कार चालकको ज्यान गयो, प्रहरी भन्छ कारकै गल्ती

धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो । ठक्करपछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो । आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठक्कर दिएको थियो । तर घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।  

टिपरको ठक्करले चालक बस्ने सिट र ढोकातर्फको पुरै भाग छियाछिया भएको छ । मृतकका दाइ किशोर अधिकारीका अनुसार टिपरचालक, टिपरधनी र यातायात व्यवसायी धादिङकै भएकाले प्रहरीसँगै मिलेमतो गरी मुचुल्का बनाएका छन् । जसले पीडित पक्षले क्षतिपूर्ति तथा न्याय पाउन सकेका छैनन् । ‘म पनि गाडी चलाउँछु तर प्रहरीले गलत मुचुल्का बनाएको छ,’ उनले भने, ‘घटनास्थल हामीले पनि अवलोकन गरेका छौं, प्रहरीले गलत मुचुल्का उठाएको छ ।’

उनका अनुसार मृतक कार चालकका २ जना नाबालक छोरा छन् । अभिभावक नै गुमिसकेकाले उनीहरूलाई हुर्काउन तथा पढाउन आर्थिक समस्या देखिने भएपछि पीडित पक्षले क्षतिपूर्ति माग गरेका छन् । उनीहरूले ३० लाख रुपैयाँ दिन आग्रह गरेका छन् । तर यसबारे टिपरचालक, प्रहरी, टिपर धनीले बेवास्ता गरेको मृतकका दाइ अधिकारीले बताए । उनले घरको अवस्था पनि नाजुक भएको जानकारी दिए । ‘हामीसँग किरिया खर्चसमेत छैन, क्षतिपूर्ति दिए मान्छौं नत्र शव बुझ्दैनौं,’ उनले भने, ‘प्रहरीले नै हाम्रो मागप्रति चासो दिएको छैन ।’  

दुर्घटनालगत्तै मृतक अधिकारीलाई मेडिसिटी अस्पताल ललितपुर लगिएको थियो । अस्पतालले घटनास्थलमै ज्यान गएको पुष्टि गरेको थियो । आफन्तले क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने बताएका छन् । टिपरले ठक्कर दिएर कार चालकको ज्यान गएपछि प्रहरीले टिपरचालक बुद्ध तामाङलाई पक्राउ गरेको छ । चालकलाई नियन्त्रणमा लिएर आफन्तलाई क्षतिपूर्ति दिलाउने जिम्मा प्रहरीको भए पनि प्रहरीले तामाङलाई हिरासतमा राखेर छाड्ने गरी मुद्दा अघि बढाएको पीडित पक्षको भनाइ छ । त्यसो त घटनालगत्तै टिपरचालक तामाङले मृतक अधिकारीको पर्स, मोबाइल घडी पनि आफूसितै राखेको आफन्तले बताए । मृतक अधिकारीले केही वर्षअघि ऋणमा कार किनेर भाडामा चलाउँदै आएका थिए । 

इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले चालकलाई सवारी ज्यानसम्बन्धी मुद्दा चलाइएको र टिपर प्रहरीकै नियन्त्रणमा रहेको बताए । ‘उहाँहरूले थप क्षतिपूर्ति टिपर व्यवसायी समितिसँग माग गर्नुभएको छ, हामीले कानुनअनुसार न्याय र क्षतिपूर्ति दिलाइदिने हो,’ उनले भने, ‘दुर्घटना हेर्दा कारकै गल्ती देखिन्छ, कार गलत लेनमा गुडेकाले गम्भीर घटना भएको हो ।’ उनले पीडित पक्षलाई उचित क्षतिपूर्ति दिलाउन पहल गरिएको बताए ।  

असुरक्षित बन्दै सडक यात्रा  

टिपरकै कारणले धादिङमा बिहीबार भएको यो दुर्घटना नौलो घटना भने होइन । लामो होस् या छोटो रुटमा अघिकांश सवारी दुर्घटना टिपरकै कारणले हुने गरेका छन् । लेन मिचेर सडक नै कब्जा गरेर बतासिने टिपरले सवारी यात्रालाई असुरक्षित बनाइरहेको छ । तर मानिसको ज्यानै जाने गरी भएका कैयौं दुर्घटना भने सामान्य क्षतिपूर्ति र मिलेमतोमा सल्टिने गरेका छन् । कसिलो कानुन नहुँदा ठक्कर दिएर अरूको ज्यान लिएका सवारीचालकले पुनः सवारीसाधन हाँकिरहेका छन् । यातायातकर्मी प्रेमबहादुर थापाले सडक असुरक्षित टिपरकै कारणले भएको बताए ।

प्रकाशित: ३० जेष्ठ २०७८ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App