coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा समुदायस्तरमा कोराेनाः दुई वडा सील

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै जुम्लाका दुई गाँउ सील गरेको छ। चन्दननाथ नगरपालिका ७ को मिचा गाउँ र तातोपानी गाउँपालिका १ को राँकागाउँमा कोरोना संक्रमित बढेपछि यी दुईवटै वडा सील गरेको हो।  

विगत केही दिन यता समुदायस्तरमा कोरोना संक्रमण फैलिन गई भयावह स्थिति सृजना हुन सक्ने देखिएकोले समयमै रोकथाम र नियन्त्रण गर्न वडा नै सील गर्नु परेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।  

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आदेश जारी गर्दै सबै सरोकारवाला अझै सक्रियताका साथ प्रतिकार्यमा लाग्नु पर्ने अपरिहार्य भैइसकेको जनाएका हुन्।

तातोपानी १ राँका र  चन्दननाथ  ७ मिचा गाउँमा अधिक मात्रामा संक्रमण देखिएकाले कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ नहुन्जेलसम्मका लागि सील गरिएको उनले बताए।  

सील गरिएको अवधिभर विनाकाम घर बाहिर ननिस्कने, अनिवार्य मास्क लगाउने, बेला बेलामा साबुन पानी हात धुने वा सेनिटाईजर प्रयोग गर्नु साथै न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्नु पर्ने आदेश गरिएको छ।  

प्रमुख जिल्ला अधिकारीको आदेशमा भनिएको छ,‘सील भएका वडाहरूबाट अर्को वडामा तथा अर्को गाउँपालिकामा आवत जावत हिँड्डुल गर्न पाइने छैन। विरामी तथा अत्यावश्यक काममा निस्किन परेमा सुरक्षा निकायसंग समन्वय गर्नुपर्ने छ।’ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,‘यस अवधिमा गाउँमा भेला, जमघट र अत्याधिक मानिसहरूको उपस्थिति हुने कुनै पनि किसिमको गतिविधि संचालन गर्न गराउन पाइँदैन। सील गरिएको वडामा कुनै गाउँपालिका/नगरपालिकाबाट मानिसहरू प्रवेश गर्न गराउन पाईने छैन।‘

कन्ट्याक्ट ट्रेसिङमा व्यक्तिले आरडिटी, एन्टीजेन र पिसिआर चेक गराउन स्वास्थ्यकर्मीलाई सहयोग गर्नु पर्ने सुझाव समेत दिइएको छ।  

प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश उल्लंघन गर्ने जो सुकैलाई कोभिड–१९ संकट व्यवस्थापन आदेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।  

अहिले जुम्लाको तातोपानी गाउँपालिकको राँका र रावतबाडा गाउँ, चन्दननाथ नगरपालिकाको मिचा गाउँमा कोरोना संक्रमण बढेको छ। तातोपानी गाउँपालिकाले एक साता अघि रावतबाडा गाउँ सील गरेको थियो। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको तातोपानी गाउँपालिका जुम्लाले जनाएको छ।  

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार जुम्लामा वैशाख ८ देखि यता ५८९ संक्रमित भएकोमा ३३२ जना निको भएर घर फर्किसकेका छन्। २९ जना संक्रमितले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइराखेका छन्।

कोरोना संक्रमणका कारण जुम्लाका ४ जना र जुम्ला बाहिरका ३ जना गरेर ७ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: २९ जेष्ठ २०७८ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App