१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

प्राकृतिक स्रोतमाथिको दाबीः सामान्य विवाददेखि हत्यासम्मका घटना

क्याप्शन

तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारामा कुलो निर्माणका लागि स्थानीयले पहल थाले। कुलो निर्माण गरेर जमिन सिञ्चित गर्ने योजनामुताबिक शुक्रबार जग्गा नाप हुँदै थियो। जग्गा नापका लागि गाउँकै अमिन काम गर्ने मिलन केसी सहभागी थिए। आफ्नो जग्गाको साँधमै कुलो निर्माणका लागि जग्गा नाप हुँदै गर्दा तुलसीपुर–८ चन्द्रगन्जका पूर्णबहादुर ओली आइपुगे।  

उनले केसीलाई आफ्नो जग्गा नाप्न भने। उनले कुलो निर्माण हुनैपर्ने तर आफ्नो जग्गा भने काटिन नहुने भन्दै धम्क्याए। केसीले आफू फरक व्यक्तिको जग्गा नापका लागि मात्रै आएकाले अरू जग्गा ननाप्ने सुनाए। उनीहरूबीच भनाभन चल्यो। रिसाएका ओलीले घरमा रहेको पेस्तोल ल्याई केसीलाई ताकेर प्रहार गर्न थाले। ‘सुरुमा छातीमै हान्न खोजेका रहेछन् तर पहिलो राउन्डमा पेस्तोल पड्किएन छ,’ वडाअध्यक्ष बेदु केसीले भने, ‘दोस्रोपटक फेरि हान्न थालेछन् अनि उनका दाइले हात समातेपछि पेस्तोल भुइँमा पड्किएको रहेछ।’

प्राकृतिक स्रोत (कुलो, पानी) कै विषयमा केही समययता जिल्लामा ठूल्ठूला आक्रमणका घटना हुन थालेका छन्। त्यस्ता विवादका कारण ज्यानै गएका घटनाहरू पनि भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहका अनुसार ओलीले केसीलाई ताकेरै हान्न खोजेको तर संयोगवश उनलाई गोली नलागेको जानकारी दिए। अमिनलाई आफ्नो पनि जग्गा नाप्न र आफ्नो जग्गा नकाटिने गरी कुलो निर्माणका दबाब दिएको र त्यसक्रममा विवाद भएपछि गोली चलाउन बाध्य भएको उनले प्रहरीसमक्ष बयान दिएका छन्। ‘कुलो निर्माण गर्दा आफ्नो जग्गा नकाटिने गरी नाप्न अमिनलाई दबाब दिएका रहेछन्,’ ओलीको बयान उद्धृत गर्दै डिएसपी सिंहले भने, ‘त्यसक्रममा भनाभन भएपछि घरमा गएर पेस्तोल निकालेर हानेका रहेछन्।’

डिएसपी सिंहका अनुसार ओलीले गोली चलाएपछि अमिन केसी लडेका थिए तर उनलाई गोली भनेको लागेको थिएन। गोली चलाउने ओली भारतमा बस्दै आएका थिए। केही दिनअघि घर फर्केका उनले भारतबाटै पेस्तोल लुकाएर ल्याएको हुन सक्ने प्रहरीको आशंका छ।  

प्राकृतिक स्रोत (कुलो, पानी) कै विषयमा केही समययता जिल्लामा ठूल्ठूला आक्रमणका घटना हुन थालेका छन्। त्यस्ता विवादका कारण जिल्लामा ज्यानै गएका घटनाहरू पनि भएका छन्। गत वर्ष कात्तिक १२ गते बेलुका तुलसीपुर–६ गोलौराका ‘पानी हेरालु’ ७३ वर्षीय चुकलाल भण्डारी ड्युटीमा थिए। कुलो वितरणका लागि उनलाई गाउँलेहरूले पानी हेरालु चयन गरेको लामो समय भइसकेको थियो। कुलोको पानी पालो लगाएर वितरण गर्नु उनको जिम्मेवारी थियो।

बेलुका त्यही काममा खटिरहेका बेला दुई युवक उनीकहाँ पुगे र विवाद गर्न थाले। एकपक्षीय रूपमा आफू अनुकूलका किसानको खेतमा पानी छाडिदिएको आरोप लगाउँदै युवकहरू ती वृद्धमाथि खनिए। युवकहरूले भण्डारीलाई धकेलिदिए। उनी पक्की रोडमा लडे। त्यहीँ नै उनको ज्यान गयो। ‘खासगरी पानी हेरालु ती वृद्धलाई आफ्नो बारीमा पानी नछाडिदिएर अर्कैलाई मात्रै दिएको आरोपमा दुई युवकले उनलाई धकेलेका रहेछन,’ प्रहरी भन्छ, ‘पिच रोडमा लडेका उनको टाउकोमा चोट लाग्यो र मृत्यु भयो।’  

प्रकृतिक स्रोतमाथि भएको विवादले निम्त्याएको यस्तो अप्रिय घटना केही वर्षअघि पश्चिम दाङमा पनि भएको थियो। सिँचाइको पानीमा विभेद गरिएको भन्दै पश्चिम दाङको सलौरामा दुई गाउँका गाउँलेबीच झडप हुँदा सलौरा गाउँका कृष्णबहादुर चौधरीको मृत्यु भएको थियो। स्थानीय केशव आचार्यका अनुसार त्यहाँ रहेको सलौरा कुलोबाट सलौरा गााउँ र मौली गाउँको जमिन सिञ्चित हुँदै आएको थियो। सलौरा गाउँका नागरिकले कुलोको पानी आफूखुसी प्रयोग गरेका कारण मौली गाउँमा सिँचाइ नभएको भन्दै मौलीवासी आक्रोशित बने। गाउँका सबै नागरिक भेलाएर सलौरा गाउँमा पुगे। दुई गाउँका गाउँलेबीच विवाद बढ्दै जाँदा अन्ततः आक्रमण नै भयो।

‘सलौरा कुलोबाट सलौरा र मौली गाउँका जमिन सिँचित हुँदै आएको थियो,’ सलौरा गाउँका स्थानीय आचार्य भन्छन्, ‘मौली गाउँका नागरिकले सलौराका कारण पानी पुगेन भनेर निहुँ खोज्न आएपछि विवाद भयो अनि हानाहान हुँदा एकजनाको मृत्यु नै भयो।’

प्रकाशित: २९ जेष्ठ २०७८ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App