४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स सहयोग

सम्भव नेपालले गोरखाका पाँच स्थानीय तहलाई उपलब्ध गराएको एम्बुलेन्स । तस्विर ः नागरिक

सम्भव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाका पाँचवटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहयोग गरेको छ । राष्ट्रिय सभाका पूर्व प्रमुख प्रतिपक्ष दलका नेता एवं केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले बुधवार गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रमबीच स्थानीयतहका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स सहित स्वास्थ्य सामग्रीको मूल्य एक करोड रुपैयाँ भन्दामाथि रहेको संभव नेपालले जनाएको छ ।  

‘कोरोना संक्रमणका बेला दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन् भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेका हौं,’ संभव नेपालका अध्यक्ष खत्रीले भने । कच्ची सडकमा सहजै आउजाउ गर्न सक्ने, अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य साममग्री एम्बुलेन्समा रहेको उनले बताए । ‘एम्बुलेन्सलाई कोभिडका बिरामी बोक्न मिल्ने, समान्य उपचार सेवा दिन मिल्ने गरी बनाएका छौं,’ अध्यक्ष खत्रीले भने । ‘यो दुःखको बेला गोरखाका कोहीपनि नागरिक उपचार नपाएर मर्न नपरोस भन्ने उद्देश्यले सहयोग गरेको हुँ’ उनले भने ।  

गोरखा नगरपालिकाको लागि दुईवटा, शहीदलखन गाउँपालिका, गण्डकी, भीमसेन थापा र धार्चे गाउँपालिकाको लागि एक–एक वटा एम्बुलेन्स सम्भव नेपालले सहयोग गरेको छ । ‘यस्तो माहामारीका बेला सम्भव नेपाल र अध्यक्ष प्रेम खत्रीले पुण्यको काम गर्नुभएको छ’ पालिका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अथिति कांग्रेस केन्द्रीय सदस्य पाण्डेले भने । दुर दराजका जनतालाई सेवा दिन पालिकाहरुलाई उपलब्ध गराएको एम्बुलेन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । 

‘अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी हुन सक्छन,’ उनले भने ‘सबैले अव छिटो र सहज उपचार पाउँछन ।’ एम्बुलेन्स दुरुपयोग नगर्न र सही सदुपयोगमा ध्यान दिन स्थानीय तहका प्रमुखहरुलाई उनले सुझाब दिए ।  

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नगरपालिकालाई उपलब्ध भएको एम्बुलेन्सले ६५ वर्ष माथिको जेष्ठ नागरिक, अपांगता भएका र सुत्केरीलाई निशुल्क सेवा दिने बताए । ‘संस्था र अध्यक्ष प्रेम खत्रीले स्थानीय तहहरुलाई ठुलो सहयोग गर्नुभएको छ, एम्बुलेन्सको हामी सही सदुपयोग गर्छौ,’ उनले भने । उनले कोरोनाको पहिलो माहामारीका बेला थर्मल गन, एन्टिजेन किट लगायतका सामग्री सहयोग गरेर पालिकालाई मद्दत गरेको भन्दै महामारीका बेला पालिका मार्फत भएको सहयोगका प्रशंसा गरे । ‘पालिकालाई सहयोग भयो भने आवश्यकतामा आधारमा जनतालाई बितरण गर्छौ,’ नगरप्रमुख पन्तले भने ‘सबैले यसरी सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले एम्बुलेन्सको स्थानीय तहले सही सदुपयोग गर्नेमा आशाबादी रहेको बताए । एम्बुलेन्स सँगै सेनिटाईजर, मास्क, ग्लोब्स, पिपिई, अक्सिमिटर, स्टेचर, एन्टिजिन किट, स्प्रे मेसिन, भिटिएम लगायतका सामग्री पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । आरुघाट र चुमनुब्री गाउँपालिकालाई मास्क र सेनिटाईजर प्रदान गरिएको अध्यक्ष खत्रीले बताए ।

गोरखाको आरुघाट गाउँपालिका ८ घर भएका संभव नेपालका अध्यक्ष खत्रीले अफ्नो गृहजिल्लामा सहयोग गर्न पाउँदा खुसी मिलेको बताए । साथै उनले सहयोगलाई निरन्तरता दिने बताएका छन् । यस अघि पनि उनले कोरोनाको पहिलो लहरका बेला ४० लाख रुपैयाँ मुल्य बरावरको स्वास्थ्य सामग्री सहयोग गरेका थिए । संभव नेपालले आरुघाट गाउँपालिकाको मान्बुमा विद्यालयको होस्टल निर्माण, आरुपोखरीको भैरवी प्रावी निर्माण, भूकम्पपछिको पुन निर्माण यता बिभिन्न खालको सहयोग गर्दै आएको संभव नेपालका उत्तम अधिकारीले बताए ।  

प्रकाशित: २६ जेष्ठ २०७८ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App