कोरोना भाइरस संक्रमणको लामो छट्पटाहट अहिले केही मत्थर हुँदै गएको छ । स्थानीय प्रशासनले झन्डै डेढमहिनादेखि अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरेका छन् । निषेधाज्ञा लागु गरेपनि त्यसको आदेश सहरी क्षेत्रमा बढी कार्यन्वयनमा छ ।
कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै प्रशासनले निषेधाज्ञा लागु गर्दा सहरमा हिडडुल ठप्प प्राय छ । सहरी जनजीवन करिब ठप्प जस्तै हुँदा कोरोना संक्रमणको गतिमा पनि ब्रेक लागेको अनुभूति चिकित्सकले गरेका छन् । तर, गाउँमा भने संक्रमणमा ब्रेक लाग्न नसकेको उनीहरुको भनाई छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल भन्छन, ‘गाउँतिरबाट अझै पनि कोरोनाका जटिल प्रकृतिका बिरामी आईरहेका छन । हुन त सहरमै पनि संक्रमण पूर्ण रुपमा रोकिएको होइन,’ बरालले भने, ‘तर पछिल्लो समय गाउँमा संक्रमण व्याप्त हुँदा अझै जोखिम रहेको अनुमान गर्न सकिन्छ ।’ ग्रामिण क्षेत्रमा अझै पनि कोरोनाको चेन ब्र्रेक हुन नसकेको उनले बताए ।
बरालका अनुसार पछिल्लो केहीदिनदेखि कोरोनाका बिरामीको संख्या पनि कम भएका छन । दुईसाता अघिसम्म इर्मर्जेन्सीमा मात्र दिनमा २० जनाको हाराहारीमा कोरोनाका बिरामी आउने गरेकोमा अहिले ५–७ जना मात्र आउने गरेका छन । ‘बिरामीको अवस्था त पहिलेजस्तै क्रिटिकल छ । तर, संख्या भने केही घटेकै हो,’ फोकल पर्सन डा बरालले भने । अहिले यो अस्पतालमा कोरोनाका ५५ जना बिरामी भर्ना भएर उपचार गराईरहेका छन । केहीदिन अघिसम्म ७० जना बिरामी उपचाररत थिए ।
‘एकमहिना बढि समयकोको निषेधाज्ञाले बल्ल कोरोना संक्रमणको चेन ब्रेक भएको अनुमान छ,’ उनले भने, ‘एकैदिनमा चेन ब्रेक हुने होईन । कम्तिमा एकमहिना संक्रमण बढ्न नदिएको खण्डमा चेन ब्रेक हु्ने हो । अहिले घट्दो बिरामीको संख्याले पनि चेन ब्रेक भएको अनुमान छ ।’
कोरोनाका धेरै बिरामीको उपचार गरिरहेको गण्डकी मेडिकल कलेज (जिएमसी) की मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घले पनि सहरमा निषेधाज्ञाले गर्दा हिडडुल रोकिँदा केहीहदसम्म संक्रमणको चेन ब्रेक भएको अनुमान गर्न सकिने बताउँछिन । ‘जिएमसीमा आउने अधिकांश बिरामी गाउँका छन । गाउँका बिरामी पनि जटिल अवस्थाका छन,’ उनले भनिन, ‘बरु सहरका बिरामीको स्वास्थ्य अवस्था उत्तिसारो जटिल छैन । तर, गाउँबाट आउनेको अवस्था डरलाग्दो छ ।’ उनका अनुसार मृत्युदर पनि अहिले ग्रामिण भेगबाट आएका बिरामीको बढि छ । सहरका बिरामी अलिकति अप्ठेरो महसुस हुनासाथ अस्पताल आउने भएकोले पनि कम जोखिममा रहेको उनले बताईन ।
‘गाउँमा न प्रहरी छ, न त स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना नै हुन्छ । सबैतिर खुलमखुला छ, त्यसले गर्दा पनि गाउँमा अझै जोखिम बढेको हो,’ उनले भनिन, ‘गाउँमा कोरोनाको चेन ब्रेक गराउन निकै नै मेहनत आवश्यक पर्छ । निषेधाज्ञाले सहरमा काम गरेको हो, गाउँमा गरेन ।’ गाउँमा कसैले कसैलाई अवरोध पनि गर्दैन । ग्रामिण क्षेत्रका बासिन्दा मास्क पनि लगाउँदैनन । गाउँका मान्छेको सामुहिक बस्ती हुँदा आउजाउ पनि बाक्लै रहेको उनले बताईन । ‘अझै पनि हेलचेक्रयाँइ गर्ने हो भने गाउँमा अझै बढ्ने सम्भावना छ । सहरमा आउजाउ र हिडडुल पनि रोकिएको छ,
गाउँमा चेन ब्रेक गराउन स्थानीय तहले बढि ध्यान दिनुपर्ने उनले बताईन । कम्तिमा गाउँका मान्छेलाई सजग गराउँदै संचारमाध्यमबाट सुचना र जानकारी दिनुपर्ने उनले बताईन । ‘गाउँमा अझै पनि रेडियो सुन्ने चलन छ । गाउँगाउँमा संक्रमणको जोखिम र जोगिने उपायबारे जानकारी दिनुपर्ने हुन्छ,’ उनले भनिन, ‘स्थानीय तहले अब सचेत गराउनै पर्छ । गाउँलेलाई शिक्षित गराउनुपर्छ । गाउँमा डरत्रास भएको भए चेन ब्रेक हुन्थ्यो । गाउँमा फुक्काफाल हुँदा चेन ब्रेक हुन सकेन ।’
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोदबिन्दु शर्मा सहरमा सचेतनासँगै हिडडुलमा कडिकडाउँ हुँदा हुँदा संक्रमणको चेन ब्र्रेक भएको अनुभूति भएपनि गाउँमा अझै पनि भूसको आगो झै फैलिइरहेको बताउँछन । ‘गाउँमा संक्रमित लुकेर बसेका छन । घरबाट बाहिर पनि निस्कन सकेका छैनन । तर, सहरमा हिडडुलमा पनि कडाई छ,’ शर्माले भने, ‘गाउँमा सचेतना अपनाउनै सकिएन ।’ गाउँका बासिन्दा सिजनल रोग भन्दै घरभित्र बस्दा पनि समस्या निम्तिएको उनले बताए । ‘सहरमा त हिडडुल पनि कठिन छ । मापदण्ढ पालनामा कडाई हुँदा चेन ब्रेक गर्न केही सहज भएको हो,’ उनले भने, ‘तर, गाउँमा आफन्त भन्दै भेटघाट चलाउँदा जोखिम बढिरहेको छ । गाउँको संक्रमण चेनब्रेक गर्न गाह्रो भएको हो ।’
प्रकाशित: २५ जेष्ठ २०७८ १२:१८ मंगलबार