२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सदरमुकाममा उच्च सावधानी गाउँमा चरम लापरबाही

जुम्लाका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन। घरबाहिर निस्कदा मास्कको प्रयोग हुँदैन। घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिँदैन। खेतिकिसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको हुँदैन।

जताततै भिडभाड र लापारबाही बढिरहेको छ। स्थानीय सन्देशकुमार खत्री गाउँमा चरम लापरबाही बढेको बताउँछन्। उनले भने, ‘एक साताअघि सम्म घरघरमा ज्वरोको बिरामी थिए। अहिले सबै निको भइसके। उनीहरूले निकै खेलाँची गरिरहेका छन्।’

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। गाउँमा न निषेधाज्ञाको पालना गरिएको छ, न त निषेधाज्ञाबारेमा जानकारी नै। उनले भने, ‘गाउँगाउँमा विकासे काम भइरहेका छन्। एक गाउँदेखि अर्को गाउँमा गएर खेतिकिसानीको काम भइरहेका छन्। गाउँमा जमघट हुने, भिडभाड गर्नेदेखि मन्दिरमा देवताको पूजा गर्ने र सामूहिक रूपमा छलफल भइरहेका छन्।’  

उनले भने, ‘गाउँतिर कोरोनाका हटस्पट सुर्खेत नेपालगन्जदेखि आउने व्यक्ति निर्वाध रूपमा गाउँ प्रवेश गरिरहेका छन्। होम आइसोलेसनका नाममा घरमा बसिरहेका छन्। स्थानीय तहले बनाएका आइसोलेसनमा बस्न मानिरहेका छैनन्।’ गाउँमा कोरोना संक्रमण बढिरहेको छ। स्थानीय तहका आइसोलेसन प्रयोगविहीन छन्। चिकित्सकसहितको कोभिड अस्पताल हरेक स्थानीय तहमा सञ्चालनमा छन्।  

जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पिसिआर परीक्षण गर्न जाँदा कोरोना जचाउँन मान्दैनन्। कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडिबुटी खोज्न जंगलतिर जाने गरेको स्थानीय बताउँछन्।  

‘गाउँमा रोपाइँ चलेको छ। चोपाइ भइरहेको छ। गोडमेल भइरहेको छ। सरकारी विकास भइरहेको छ। न निषेधाज्ञा पालना गरिएको छ, नत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नै,’ सन्देशले भने, ‘गाउँमा केवल लापरबाही बढिरहेको छ। कोरोनाको उच्च जोखिममा गाउँ नै छ।’

कोरोना संक्रमण भएर बिरामी भएको अवस्थामा नजिकै स्वास्थ्य संस्था हुँदैनन्। स्वास्थ्य संस्था भए पनि औषधि उपचार हुने अवस्था छैन। बिरामी भए सिंधै बजार ल्याउनुको विकल्प छैन। तर गाउँमा एम्बुलेन्स पुग्ने बाटो छैन। जता पनि लापरबाही छ।’

स्थानीयले गाउँका जनप्रतिनिधिलाई टेर्दैनन्। स्थानीय सरकारले सचेत गरेको बेला वास्ता गर्दैनन्। प्रहरी नपुग्दासम्म ग्रामीण क्षेत्रका बजार पनि खुलै हुन्छन्। प्रहरी पुगेर बन्द गर्न सिठी बजाएपछि मात्र बजार बन्द हुन्छन्। ग्रामीण बजारमा स्वास्थ्य सुरक्षाको कुनै पनि पालना हुँदैन।  

सदरमुकाम खलंगा आसपासमा भने निकै कडा छ। स्थानीयले प्रशासनले तोकेको समयमा बाहेक अरू बेला बजार खुल्न पाउँदैनन्। स्वास्थ्यकर्मी र कर्मचारीबाहेक अन्यले आवतजावत गर्न पाउँदैनन्। चोकचौकमा प्रहरी परिचालन गरिएको छ।’

स्थानीय वीरबहादुर थापाले भने, ‘बजारमा निकै कडा छ। तर गाँउमा निकै लापरबाही। गाउँ सहरमा एकनासको निषेधाज्ञा भएको खन्डमा मात्र कोरोना संक्रमण रोक्न सकिएला। जिल्ला प्रशासन कार्यालय जुम्लाले लगातार तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ।  

औषधि पसलबाहेक सबै सेवा ठप्प गर्न आदेश दिएको छ। सदरमुकाम खलंगामा निषेधाज्ञाको पालना राम्रै भएको छ। तर गाउँमा बेहाल नै छ।  

जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार हालसम्म जुम्लामा ४ सय ९६ जना संक्रमित छन्। २५७ जना निको भएर घर फर्किएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जनाको उपचार भइराखेको छ। जुम्ला बाहिरका तीनजना र जुम्लाका दुईजना गरेर पाँच जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App