२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चुरे दोहनले रित्तिँदै पानीको भण्डार

सिरहाको धनगढिमाई नगरपालिकाका बासिन्दाद्वारा मोटर जडित इनारमा पानी तान्न बिछ्याइएको पाइप। तस्बिर: मिथिलेश/नागरिक

फागुन दोस्रो साता जनकपुरधामको जानकी मन्दिर प्रांगणमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए, ‘चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ। चुरे विनासका कारण जनकपुरमा अहिले ४ सय फिटमुनि पनि पानी भेटिन्न।’ डा. यादवले सुनाएको दुःख जनकपुरको मात्र नभई सम्पूर्ण मधेसको हो। यस क्षेत्रका अधिकांश जिल्लाका गाउँबस्ती काकाकुल बनेका छन्। इनारहरू सुक्न थालेका छन्। गहिरो गरी गाडिएका चापाकल (ट्युबवेल) बाटसमेत पानी आउन छाडेको छ। खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन्।

पानीको मूल सुक्दै जान थालेकाले धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ नवटोली बस्तीलाई खानेपानी समस्याले चर्को रूपमा गाँजेको छ। चारनाथ खोला र कमला नदी उत्तरवर्ती चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता काकाकुल बन्दै गएको नवटोली निवासी कमल महतोले बताए। ‘कलको ह्यान्डल घन्टौं थिच्दा पनि बाल्टिन भरिँदैन,’ उनले सुनाए। महतोको घरसामुन्ने खानेपानी कार्यालयले बनाइदिएको इनार छ, तर दुई वर्ष भयो पानी पलाउन छाडेको छ।

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरका जनता पनि खानेपानीको चरम अभाव खेप्न बाध्य छन्। ‘दुई वर्षअघिसम्म जसोतसो चापाकलले पानी फालेको थियो,’ स्थानीय गीता जोशी भन्छिन्, ‘पोहोरबाट त चुहिनै छाड्यो।’ यतिखेर गीताको परिवारलाई राजमार्गभन्दा दक्षिणतिर घर भएकी सुनिता भट्टराईकहाँबाट पानी ल्याएर प्यास मेटाउनुको विकल्प छैन। सिरहा गोलबजार नगरपालिकाका जनता पनि काकाकुल बन्न पुगेका छन्। चुरेनजिकैको यो नगरपालिकाका अधिकांश वडाका बासिन्दा पानीको चर्को अभाव बेहोर्न बाध्य छन्। पानीको मुहान तलतल गएपछि नगरवासीलाई खानेपानीको समस्या झन्झन् चुलिँदै गएको स्थानीय रामस्वरूप महतो बताउँछन्।

चुरे फेदीमा अवस्थित धनगढीमाई नगरपालिकामा पनि खानेपानीको चर्को संकट छ। बस्तीको दक्षिण, पूर्व र उत्तर तीनैतिर जथाभाबी खानीजन्य पदार्थ उत्खनन, उत्तरको चुरेमा वन फँडानी र ढुंगा उत्खननका कारण खानेपानीका स्रोतका रूपमा रहेका बस्तीबस्तीका इनार सुकेका छन्। इनारमा पानी सुक्दा महुलिया, मुसहर्निया, महुवाडाँडा, टेनाटोल, खुट्टी, मड्यान, सर्रेलगायत टोलवासी पिरोलिएका छन्। महुलीका बासिन्दा छिमेकी कसहाको इनारमा मोटर जडान गरेर पानीको जोहो गर्छन्। त्यो इनारमा पनि पानीको सतह घटिसकेकाले पानी नपरे खानेपानी समस्या बढ्ने भन्दै स्थानीय पिरोलिएका हुन्।

‘छिमेकी गाउँ कसहाबाट मोटर जडान गरेर पानी ल्याएका छौं,’ महुलियाका विश्वनाथ यादव भन्छन्, ‘कसहा र महुलियाका बासिन्दाले दुई दर्जनभन्दा बढी मोटर जडान गरेर हाललाई पानीको आवश्यकता पूर्ति गरे पनि बेलैमा वर्षा भएन भने त्यो इनारसमेत सुक्ने सम्भावना छ।’ पिउने पानी नै नभएपछि कसरी बाँच्नु भन्दै पिरोलिएकी महुलिया निवासी शर्मिला यादवले नागरिकसँग भनिन्, ‘खानेपानीको अभावले साह्रै दुःख भोग्नुपरेको छ।’ महुलिया बस्तीमा मात्र ५५ घरधुरी यादव, २ महतो, २ राम र १ सोनार गरी ६० घरधुरीको बसोबास छ।

महुलिया मात्र होइन, सिरहामा चुरेसँग जोडिएका उत्तरी क्षेत्रका तीन दर्जनभन्दा बढी बस्तीका बासिन्दा बर्सेनि खानेपानीको चर्को समस्यामा परेका छन्। वर्षायामबाहेक उत्तरवर्ती क्षेत्रका बासिन्दाले चार महिनाजति खानेपानीको चरम समस्यासँग जुध्नुपर्ने अवस्था छ। त्यहाँका बासिन्दाले वर्षायाममा समेत खोलाको धमिलो पानीमा भर पर्नुपर्छ।

फागुनको सुरुआतदेखि नै इनार, ट्युबवेललगायत खानेपानीका स्रोत सुक्न थालेपछि खोला र खोल्सीको पानीले तिर्खा मेट्न बाध्य भएको स्थानीयको भनाइ छ। लहान नगरपालिकामा पनि पानीको सतह तलतल गएको छ। नगरका बासिन्दा गहिरो खाल्डोमुनि मोटर लगाएर पानीको जोहो गर्न बाध्य छन्। नगरको उत्तरवर्ती बरदमार, गोविन्दपुरलगायत क्षेत्रका बासिन्दालाई पनि प्यास मेट्न सकस छ। खानेपानीको समस्या उत्तरवर्ती क्षेत्रबाट फैलिँदै बिस्तारै दक्षिणवर्ती क्षेत्रमा समेत सुरु भइसकेको छ। पाँच वर्षअघिसम्म लहानमा ट्युबवेल जडान गर्दा ४० फिट गहिराइमा भेटिने पानीको सतह पाउन अहिले १ फिटभन्दा तल जानुपर्छ। यो अवस्था बर्सेनि बढ्दै गए पानीको समस्या भोग्नुपर्ने अवस्था आउने स्थानीयको भनाइ छ।

भूमिगत खानेपानीको तह तल धकेलिँदा चुरेक्षेत्र र चुरे दक्षिण क्षेत्रमा पानीको अभाव चुलिएको चुरे जलाधार संरक्षण समितिका महासचिव देवकुमार मोक्तानले बताए। चुरेमा अनियन्त्रित दोहन यसैगरी भइरहे यहाँका बासिन्दा अन्यत्र बसाइँ सर्नुपर्ने अवस्था आउने उनको भनाइ छ। यहाँका बासिन्दालाई खानेपानीको समस्या समाधान गर्न चुरे र नदी संरक्षणप्रति गम्भीर बन्नैपर्ने उनले भने। ‘गर्मी सहनै नसक्नेगरी बढेको छ। तिर्खा मेट्न पानीको अभाव वर्षैपिच्छे बढ्दै छ। चुरे संरक्षण र नदीमा संरक्षणमुखी कार्य गर्न सकिए मधेसमा पानीका लागि मानिस आकुलव्याकुल हुनबाट जोगिने मोक्तानले बतए। पानी संकटबाट पार पाउन चुरे र नदीको संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ।

२०७१ साल असार २ गते सरकारले नै चुरे क्षेत्रलाई वातावरणीय दृष्टिकोणले ‘संवेदनशील क्षेत्र’ भनेर घोषणा गरेको थियो। त्यही दिन सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति पनि बनायो। चुरे भावर भनेको तराईका लागि पानीको भन्डार हो। यो अहिले उसै पनि रित्तिँदैछ। ‘चुरे, भावर भनेको त मधेसका लागि पानी जम्मा भएको प्राकृतिक भाँडो नै हो’ चुरे विज्ञ डा. विजय सिंह दनुवार भन्छन् ‘उसै पनि मधेस मरुभूमिकरण भइरहेको छ। मधेसका कतिपय जिल्लामा सिंचाइँको अभाव छ। अब अलिअलि बचेको पनि सकिदिने नियतसाथ सरकारले ढुँगा, गिट्टी, बालुवा निकासी गर्ने योजना ल्याएको छ।’ उनका अनुसार यसले वातावरणीय विनाश त निश्चित छँदैछ, मधेसमा खाद्य मात्र होइन जल संकट पनि निम्तिन्छ।

प्रकाशित: १९ जेष्ठ २०७८ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App