१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोभिडविरुद्ध घरदैलो अभियान चलाउँदा वडाध्यक्ष र सदस्य नै संक्रमित

वडाध्यक्ष मानबहादुर राई र कार्यपालिका सदस्य गोमा ढुंगाना कार्की । तस्बिरः महेश्वर

'त्रिनपा १६ वडा कार्यालयको वडावासीसमक्ष ३ प्रतिबद्धताः  

१) फोन स्वीचअफ गरिन्न,  

२) कोरोना युद्ध मैदानबाट भागिन्न,  

३) स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञा पालना नगर्नेलाई छाडिन्न’ 

जेठ ९ गते आफ्नो फेसबुक टाईमलाईनमा माथिको उद्धरण पोष्ट गरेका त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राई अहिले आफै संक्रमित भएका छन्। देशव्यापी जारी कोभिड महामारी आफ्नो वडामा पनि बढ्दै गएपछि जनताको घरघर पुगेर स्वास्थ्य जाँच, उद्वार र उपचार कार्य अभियान चलाउँदै गरेका वडाध्यक्ष राई ३ दिनअघि संक्रमित पुष्टि भएपछि होमआईसोलेसनमा बसेका छन्।  

नेपालमा कोभिडकाे नयाँ भेरियन्ट सुरु भएदेखि नै सदरमुकाम त्रियुगामा संक्रमित देखिन थालेका थिए। बिकट र पहाडी भेग भए पनि १६ नंं. वडामा पनि संक्रमित भटाभट देखिन थालेपछि वडाध्यक्ष राई स्वास्थ्यकर्मी टोली र वडा सदस्यसहित गाउँगाउँ पुगेर कोभिड बचाऊ अभियान थालेका थिए। तर, सातादिन पुग्दै स्वयं राई संक्रमित भए भने उनीसँगै नगर कार्यपालिका सदस्यसमेत रहेकी वडा सदस्य गोमा ढुंगाना कार्की पनि संक्रमित भएपछि वडावासीको स्वास्थ्य सुरक्षा अभियान रोकिन पुगेको छ।  

त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अवधनारायण चौधरीका अनुसार वडाध्यक्ष राई र सदस्य कार्की हाल घरमै आईसोलेसनमा रहेका छन्। चौधरीका अनुसार वडाध्यक्ष राईमा संक्रमण भएको भाईरसको ‘सिटी भ्यालु (साईकल थ्रेसहोल्ड भ्यालु)’ १६ रहेको छ जो जोखिमयुक्त होईन तर, निकै गाह्रो पार्ने क्षमता हो। उनीहरुको स्वास्थ्य स्थिति सामान्य सुधारोन्मुख देखिएको चौधरीले बताएका छन्। 

संक्रमण पुष्टिपछि घरमै आईसोलेसनमा रहेका राईले आफूलाई २–३ दिन गाह्रो भएको र अहिले केही सुधार भएको बताए। अहिले ज्वरो आउने, हातखुट्टा र टाउको दुख्ने समस्या भएकाले आयुर्बेदिक र मेडिकल औषधि नियमित र घरायसी स्वास्थ्योपचार गरिरहेको उनले बताए। उनले श्रीमतीलाई पनि संक्रमण पुष्टि भएकाले घरमै उपचार भईरहेको बताएका छन्। वडाध्यक्ष राईका ७७ वर्षीय पिता जसबहादुर राईलाई पनि सातादिनअघि संक्रमण पुष्टि भएको थियो। उनको गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसनमा उपचार भईरहेको र स्वास्थ्यमा सुधार आईरहेको बताए।

वैशाख दोस्रो साता वडा नं. १६ कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि शंका लागेर स्वास्थ्य चेकजाँच गर्दा एकैदिन १० जनामा संक्रमण देखिएको थियो। एउटै टोलमा १० जनामा संक्रमण देखिएपछि वडाध्यक्ष राई स्वास्थ्यकर्मीको टोली लिएर गाउँगाउँ पुग्दै कोभिडविरुद्ध सुरक्षा अभियान थालेका थिए। नगरपालिका र वडा आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोलीसँगै हिँडेका राई र कार्कीको टोलीले बेलदोभान, जाँते, सिद्रे, सुकौरा, चिलाउनेलगायत बस्तीका घरघर पुगेर स्वास्थ्य जाँच गराउदै कडाखाले बिरामीलाई अस्पताल भर्ना र सामान्य लक्षणकालाई होमआईसोलेसनमा राखेर औषधि तथा पोषिलो खानेकुरा वितरण गर्दै हिँडेका थिए। यही क्रममा दुवैजना संक्रमित हुन पुगेका हुन्।  

स्वास्थ्य शाखा चौधरीका अनुसार त्रियुगाका १६ वटै वडामा कोभिड संक्रमित देखिएका छन्। जसमध्ये सबैभन्दा बढी राईकै वडा १६ नं. मा संक्रमित संख्या ९४ जना पुगेका छन्। संक्रमितमध्ये ४१ महिला र ५३ पुरुष रहेको र धेरैजसोको होमआईसोलेसनमा र केहीको बिभिन्न अस्पतालमा उपचार भईरहेको चौधरीले बताए। दोस्रो ठूलो संक्रमित संख्या ११ नं. वडामा ३७ महिलासहित ७४ जना रहेका छन्। ११ नंं सदरमुकाम गाईघाट बजार समेटिएको वडा हो। त्यसैगरी वडा नं. १० मा ३१ महिलासहित ५१ जना, ४  नं. मा १४ महिलासहित २८, वडा नं. ७ मा ६ महिलासहित २६ र वडा नंं १२ मा ७ महिलासहित २० जना छन् भने बाँकी वडामा १० भन्दा कम छन्। सबभन्दा कम संक्रमित वडा नं. ८ मा २ महिलासहित ४ जना रहेको चौधरीले बताए।    

संक्रमण घट्दै, निको हुने बढ्दै  

यसैबीच उदयपुरमा कोभिड संक्रमितको संख्या घट्न थालेको छ। स्वास्थ्य कार्यालय उदयपुरका अुनसार शनिबार जिल्लामा २ महिलासहित ४ जनामा मात्र संक्रमण देखिएको छ। निको हुनेको संख्या ६ महिलासहित १३ जना रहेको छ। अघिल्लो दिनसम्म ३ सय ६४ महिलासहित ८ सय १६ जना सक्रिय संक्रमित हुँदा निको हुनेको संख्या ९० महिलासहित २ सय ८ जना थिए।

प्रकाशित: १६ जेष्ठ २०७८ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App