२१ मंसिर २०७८ मंगलबार
समाज

बुद्धहरू र बौद्ध धर्म–दर्शन

संस्कृति

केहीअघि लुम्बिनी र कपिलवस्तुमा पुगेको थिएँ, एउटा टेलिभिजन कार्यक्रमका लागि स्थलगत अन्तर्वार्ता दिन। सामान्यतः यी ठाउँ गौतम बुद्ध (इ.पू. ५६३–४८३) सँग सम्बन्धित मानिन्छन्। यी बुद्धबाहेक अन्य दुई क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धसँग पनि सम्बन्धित छन्। तीन बुद्धको जन्म तथा विचरण स्थल भनेर चिनाउनु पनि टेलिभिजन कार्यक्रमको उद्देश्य थियो। त्यस कार्यक्रम प्रसारणपछि ‘कपिलवस्तु अन्य दुई बुद्धसँग पनि सम्बन्धित भनेर कराउन्जेल गौतम बुद्धको नाम ओझेलमा पर्ने त होइन ?’ भनेर आएको एउटा टिप्पणी, चिन्ता वा प्रश्नले आश्चर्यचकितसँगै गम्भीर बनायो।  

बुद्ध र बौद्ध धर्म दर्शनका बारेमा केही जानकारी नभएको व्यक्तिबाट यो टिप्पणी आएको भए त्यसलाई स्वाभाविक मान्न सकिन्थ्यो। बौद्ध समाजमै जन्मिहुर्की बुद्ध र बौद्ध धर्मकै विषयवस्तुमा जीवन बिताएका ती व्यक्तिबाट यस्तो प्रश्न आउनुको अर्थ हो, बौद्ध समाजमै पनि बौद्ध शिक्षाको अभाग खड्किरहेको छ।  

लुम्बिनी नामको अत्यन्तै सुन्दर वनमा इ.पू. ५६३ को वैशाख पूर्णिमाका दिन माता मायादेवीको कोखबाट एक बोधिसत्वको जन्म भएको थियो। भविष्यमा ‘सम्यक्सम्बुद्ध’ हुन्छु भनेर अधिष्ठानसहित विभिन्न पारमि तथा उपपारमिहरू पूरा गर्ने सत्व (प्राणी)लाई बोधिसत्व भनिन्छ। जन्म र मृत्युको दुश्चक्रबाट मुक्ति पाउने हैसियत राखेर पनि त्यसलाई स्थगन गरी सम्पूर्ण जीवप्रति अपार करुणा राखेर अरूको पनि दुःख अन्त्य गर्न सकुँ र सम्यक्सम्बुद्ध नै हुन्छु भनेर चित्त उत्पाद गरी त्यति बेलाका साक्षात् सम्यक्सम्बुद्ध समक्ष बुद्धयाचना (अभिष्ठान) गर्ने काम हुन्छ। ती बुद्धले पनि ‘तिमी बुद्ध हुन्छौ’ भनेर भविष्यव्याकरण (पछिको कुरा बताएको) गरेको अवस्थामा ती प्रतिज्ञावान् बोधिसत्व कहिन्छन्। बुद्ध हुने इच्छा मात्रै गरेर हुन्न, त्यसका लागि निश्चित अभ्यास पनि गर्नुपर्छ। यो अभ्यासको सोझो अर्थ हो, जगत्मा भएका सम्पूर्ण जीवप्रति मैत्री तथा करुणाको भाव राखी उनीहरूको भलाइमा दत्तचित्त हुने। साथै ध्यान गरेर ज्ञान पनि प्राप्त गर्नु पर्छ। यिनै अभ्यासका क्रममा विभिन्न पारमि र उपपारमि पूरा हुने हो। यो अभ्यास एउटै जीवनमा पूर्ण हुने होइन। 

यसका लागि अनेकौँ जन्मजन्मान्तर तय गर्नुपर्छ। दिपङ्कर बुद्धका बेलामा सुमेध नामका ऋषिले यस्तो अधिष्ठान गरेका थिए भने उनै सुमेध ऋषिले ती अभ्यास गरेर अन्ततः गौतम बुद्धका रूपमा आएका थिए। सुमेधदेखि गौतम बुद्धसम्मको यात्रा कति लामो छ भन्ने प्रसङ्गमा चार असंख्य कल्प भनिन्छ। एक अंकको पछाडि साठीवटा शून्य राख्दा बन्ने संख्या नै एक कल्प रहेको मानिन्छ। यस्ता अनेकौँ कल्पको उल्लेख हुने बौद्ध साहित्यअनुसार आजसम्म पृथ्वीजस्तो जगत्हरूको उत्पत्ति र विनाश असंख्यपटक भइसकेको छ। झट्ट सुन्दा यस्तो कुरामा मन नलाग्न सक्छ, तर बौद्ध धर्मदर्शनको मूल कुरा नै अनित्यतामा छ र अनित्यतामा नै उत्पत्ति र विनाशको कुरा निहित हुन्छ।  

गौतम बुद्ध आफू पूर्वजन्ममा सुमेध नामको ऋषि भइरहँदा भेटेका बुद्धको नाम दिपङ्कर हो भने त्यसपछि असंख्य जन्मको बीचमा अन्य कौण्डण्य बुद्ध, मङ्गल बुद्ध, सुमन बुद्ध हुँदै काश्यप बुद्धसम्मको दर्शन पाए। अर्थात्, उनले चौबीसजना सम्यक्सम्बुद्धको दर्शन गरेका थिए। यसबाट स्पष्ट भयो, बुद्ध भनेको कुनै व्यक्ति विशेषको नाम होइन। जसले बुद्धत्व प्राप्त गर्छन्, उनलाई बुद्ध भनिने हो। र, जसरी गौतम बुद्धभन्दाअघि अनेकौँ ज्ञात–अज्ञात बुद्ध थिए, त्यसरी नै भविष्यमा पनि अनेकौँ बुद्ध हुन्छन्।  

एक बुद्ध र अर्को बुद्धबीच फरक हुँदैन। उनीहरूको पृष्ठभूमि र समय फरक होला, अभ्यासको तौरतरिका पनि फरक होला, विभिन्न घटनावलीमा फरक होला, तर ती जम्मै यात्रा पार गरेर जब बुद्धत्व प्राप्त गर्छन्, तब सबैको स्थिति एउटै वा समान स्तरको हुन्छ। सबै बुद्धले दिने उपदेश एउटै हुन्छ। गौतम बुद्धकै सन्दर्भमा कुरा गर्ने हो भने उनले बुद्धत्व प्राप्त गरेदेखि महापरिनिर्वाण नहुन्जेलसम्म अर्थात् ४५ वर्षसम्म अनेकौँ वर्ग र समुदायमा उपदेश दिए। ती उपदेश व्यक्ति, समय र परिस्थिति अनुसार बेग्लाबेग्लै ढंगले दिएको पाइन्छ, तर सबैको सार एउटै रहेको पाइन्छ। अन्य बुद्धको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।  

माथि उल्लिखित बुद्धहरूको प्रसङ्ग मानव बुद्धका हुन्। बज्रयानी बौद्ध धर्मले यसदेखि बाहेक पञ्चध्यानी बुद्धको अवधारणाको पनि विकास गरेको छ। पञ्चध्यानी बुद्ध भनेका वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ अमोघसिद्धि हुन्। यी बुद्धका मूर्ति तथा चित्रकला महायानी–बज्रयानी बौद्ध समाजमा सहज रूपमा देख्न पाइन्छ। उदाहरणका लागि काठमाडौं उपत्यकामा रहेका असंख्य मात्रामा रहेका ठूलासाना चैत्यको चार दिशामा प्रतिष्ठापित गरेको पाइन्छ। चैत्यहरूमा वैरोचन बुद्धलाई देखाइँदैन, भावमा नै बुझ्नुपर्ने हुन्छ, तर देखाउनैपर्ने अवस्थामा अक्षोभ्य (पूर्व) र रत्नसम्भव (दक्षिण)को भने बीचमा राखिन्छ, उदाहरण स्वयम्भू महाचैत्यमा देख्न पाइन्छ। यी पाँचै बुद्धले पञ्चस्कन्धका विभिन्न स्कन्धको प्रतिनिधित्व गरेका त हुन्छन्, तर स्तरका मामिलामा एउटै हुन्छन्। र, बौद्ध दर्शनलाई आत्मसात गरेका ध्यानी साधकले दृश्यमान गरेका यी पञ्चबुद्धको स्तर र गौतम बुद्धलगायत अन्य मानव बुद्धको स्तर पनि एउटै हुन्छ।  

बुद्धको उपदेशमा आधारित दर्शन नै बौद्ध धर्म हो। ‘बौद्ध धर्म भन्नु हुँदैन, बौद्ध दर्शन भन्नुपर्छ’ भन्ने मान्यता वा आग्रह पनि पाइन्छन्।  यसो भन्नेहरूका अनुसार ‘गौतम बुद्ध’ नामका एक व्यक्ति अरूजस्तै एक दार्शनिक हुन् तर अनुयायीले ती दार्शनिकलाई देवता बनाउनुका साथै उनका दर्शनलाई धर्म बनाइदिए।  

अन्य समाजमा ‘देवता’ भन्ने कुरा ठूलै होला र त्यसैको प्रभावमा गैरबौद्धहरू बुद्धलाई पनि देवता बुझ्छन्, वा देवता बनाएको भनेर बौद्ध जगत्को निन्दा वा आलोचना गर्छन्। तर बौद्ध समाजका लागि देवताको अस्तित्व स्वीकार्य भए पनि गौण पक्ष हो। देवता शाश्वत होइनन्। मान्छे नै राम्रो काम गरेर पुण्य सञ्चय गरी देवलोकमा जन्म लिन जाने र देवता बन्ने हो भन्ने मान्यता बौद्ध जगत्को छ। पुण्य क्षीण हुँदै अन्ततः देवलोकबाट पतन भई अन्य लोकमा जन्म लिन जाने हुन्छन्। यसलाई अझ स्पष्ट पार्न हामी मानिस नै विगतका जन्ममा कैयौँपल्ट देवता भइसकेका हुन्छौँ र अझै कतिपल्ट पुनः देवता नै बन्न जान्छौँ। देवता सर्वोच्च होइनन्, अर्थात् तिनीहरू पनि दुःखबाट मुक्त भइनसकेका मान्छेजस्तै सत्व हुन्। यही भएर उनीहरू बुद्धको उपदेश सुन्छन् र धर्मलाभी हुन्छन्। यस अवस्थामा देवताभन्दा बुद्ध उच्च हुन् र बुद्धलाई देवताको ठाउँ दिने कुरै हुँदैन।  

जहाँसम्म बौद्ध धर्म हो वा दर्शन भन्ने प्रश्न छ, यसका लागि बौद्ध दृष्टिकोणबाटै जवाफ खोज्नुपर्ने हुन्छ। अन्य शब्दकोश पल्टाएर बौद्ध धर्म वा दर्शन भनेर पर्गेल्नु अन्यत्र नै भड्केर बस्नुबाहेक अरू हुँदैन जस्तो लाग्छ। गौतम बुद्धका संकलित उपदेश प्रचलित ‘धर्म’ र ‘दर्शन’को सीमित अर्थभित्र अट्ने देखिन्न। धर्म वा दर्शन शब्दको विकल्पमा ‘शिक्षा’ पनि प्रयोग गर्न सकिन्छ। जेजस्तो भए पनि बुद्धका उपदेश सुन्न, पढ्ने र थाहा पाउने तर व्यवहारमा नउतार्ने हो भने त्यो फगत ‘जड’ हुन्छ। त्यसको कुनै औचित्य छैन। यसलाई सम्भवतः दर्शन भन्न सकिन्छ। 

यस अर्थमा गौतम बुद्धलाई दार्शनिक भन्न मिल्दैन। उपदेशका क्रममा बुद्धले बरोबर ‘धम्म’ वा ‘धर्म’ शब्दको प्रयोग गरेको पाइन्छ। दर्शनलाई व्यवहारमा उतार्ने क्रममा यो मानिसको ‘जीवन दर्शन’ हुन्छ र यस क्रममा अनेक कुराको पनि विकास हुनाका साथै ‘जीवन्त दर्शन’ स्वतः धर्म हुन जान्छ। ‘बौद्ध धर्म भन्नु हुँदैन, बौद्ध दर्शन भन्नुपर्छ’ भन्नुको तात्पर्य यसलाई व्यवहारमा नउतारी आफ्नो बुझाइअनुसारको दर्शनमै सीमित गर्ने र छलफल वा वाणी विलासको विषयवस्तु मात्रै बनाउने मनसाय बुझिन्छ। यो मनसायबाट न बुद्धलाई बझ्न मद्दत गर्छ, न उनको उपदेशबाट लाभान्वित नै हुन सकिन्छ। किनभने बुद्धका उपदेशमा धर्म र दर्शन अन्योन्याश्रित छन्।  

कपिलवस्तुलाई क्रकुच्छन्द र कनकमुनि बुद्धसँग पनि सम्बन्धित क्षेत्र भनी प्रचार गर्दा गौतम बुद्ध ओझेलमा पर्ने चिन्तालाई ऐतिहासिक वा पुरातात्विक दृष्टिले पर्गेल्ने प्रयास पनि गरौँ। म बौद्ध धर्म–दर्शनका साथै पुरातत्वको अध्येता पनि हुँ, अभ्यासी पनि हुँ। सो स्थलमा अग्रज पुरातत्वविद्सँग भेट भएको थियो। पुरातत्वविद्का नाताले क्रकुच्छन्द र कनकमुनिका सन्दर्भमा केही बोल्न असमर्थ भएको उनको अभिव्यक्तिलाई पुरातत्वविद्कै नाताले म सम्मान गर्छु तर यसलाई धर्मदर्शनकै दृष्टिकोणबाट पनि हेर्नु नितान्त जरुरी ठान्छु। वर्तमान निग्लिहवालाई कनकमुनि बुद्ध र गोटिहवालाई क्रकुच्छन्द बुद्धसँग सम्बन्धित गरेर बुझ्ने पुरातात्विक आधार भनेको अशोक स्तम्भमा रहेको अभिलेख र चिनियाँ यात्रीद्वय फाहियान (पाँचौँ शदी) र ह्वेनसाङ (सातौँ शदी) को यात्रा वर्णन हो। आफूभन्दा अघिका अर्थात् अतीत बुद्धका सम्बन्धमा स्वयं गौतम बुद्धले बताएको कुरा ‘बुद्धवंश’, ‘अविदूरेनिदान’, ‘जातक कथा’लगायत बौद्ध साहित्यमा उल्लेख छ। पुरातात्विक प्रमाणले इ.पू. २४९ अघिको समाजले अतीत बुद्धहरूमध्ये दुई जनाको जन्मस्थल यहाँ पर्दछ भन्ने मान्यता राखेको स्पष्ट भयो। योभन्दा पुरानो प्रमाण पाइएको छैन। 

सो अभिलेख प्राप्त नभएको अवस्थामा पनि बौद्ध धर्म–दर्शनलाई यी दुई अतीत बुद्धका सम्बन्धमा केही फरक पर्दैन। बौद्ध काल गणनाअनुसार नै पनि त्यस्ता प्रमाण पाउन मुस्किल हुन्छन्। एक बुद्धको धर्म रहुन्जेलसम्मको समयलाई ‘बुद्ध शासन’ भनिन्छ र उक्त शासन उही बुद्धको नाममा हुन्छ। एक बुद्धको शासनपछि अर्को बुद्धको शासन सुरु हुन्छ। शासनको अन्त्य हुने क्रममा ती बुद्धसँग सम्बन्धित भौतिक कुराका साथै उपदेश लुप्त हुने गर्छ। यसले अतीत बुद्धहरूको कुरा झुटा भन्ने अंकित गर्दैन। खोजबिन गर्नु आवश्यकता पनि देख्दैन तर थाहा पाएको अवस्थामा आस्था प्रकट गरी श्रद्धा व्यक्त गर्नमा पछि पनि पर्दैनन्।  

बौद्धहरूले अतीत र भविष्यका बुद्धप्रति श्रद्धा राख्ने भए पनि उपदेशलाई पछ्याउने तथा मान्ने वर्तमान बुद्धलाई हो। यही भएर बौद्धहरू बुद्ध पूजा गर्दा अतीतका बुद्ध, वर्तमान बुद्ध र भविष्यका बुद्धहरूलाई वन्दना गर्छन्। वर्तमान बुद्धको तात्पर्य गौतम बुद्ध हो। अतीत बुद्धको संस्मरण जति गरे पनि वर्तमान बुद्ध ओझेलमा पर्दैन।

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App