coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी

दुई साताभन्दा लामो निषेधाज्ञाका कारण किसानले लगाएको बेमौसमी तरकारी बिक्री नहुँदा किसानको मिहिनेत खेतबारीमै कुहिन थालेको छ। मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाका कारण किसानले लगाएको तरकारी बिक्री नहुँदा समस्या भएको छ।  

यहाँको सुनकोसी गाउँपालिका ७ नागीमा युवाहरुले व्यावसायिक रुपमा लगाएको बेमौसमी काउली बिक्री नहुँदा युवा किसान चिन्तित बनेका छन्। बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी देखेर विगत तीन बर्षदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानलाई कोरोना भाइरसका कारण मर्का परेको किसान बताउँछन्। ‘हामीले लगाएको काउली बिक्री नभएर खेतमै कुहिने अवस्था आएको छ’, सुनकोसी गाँउपालिका ७ का किसान नवीन कार्कीले नागरिकसँग भने, ‘दैनिक चारसय केजीमाथि काउली तयार भएको छ तर बिक्री गर्ने ठाँउ छैन।’

उनले कोरोना भाइरसका कारण सदरमुकाम सिन्धुलीमाढीमा समेत बिक्री नभएको बताए। युवाहरुले व्यक्तिगत र सामुहिक तरकारी खेती गर्दै आएका छन्। ‘हामीले १५ रोपनी जग्गामा काउलीमात्रै लगाएका छौं, तयार भएको काउली बिक्री भएन भने गाइभैसीलाई खुवाउनुबाहेक अर्को उपाय छैन।’  

विगतका वर्षमा व्यावसायिक खेती गर्ने किसानलाई भेट्न खेतबारीमै पुग्ने व्यापारीलाई यस वर्ष किसानले आफै भेट्न खोज्दासमेत तरकारी बिक्री हुने अवस्था छैन। ‘दैनिक सयौं किलो उत्पादन भएको छ, व्यापारी थोरै लिने भन्छन्, उनीहरुकहाँ पुर्‍यादिएपछि मनोमानी भाउ गर्छन्’ उनले भने।

तयार भएको काउलीलाई दुई दिनभित्र बिक्री गर्न नसके बिग्रने अर्का किसान रामकृष्ण भट्टराई बताउँछन्। ‘काउली बिक्री हुने समयमा निषेधाज्ञा भएकाले हाम्रो मिहिनेत त्यसै खेर गयो’, उनले भने, ‘यसवर्षको तरकारी खेतबारीमै कुहिने भयो।’ खेतबारीमा काउली, बन्दा तयारी अवस्थामा रहेको उनले जनाए।

विपी राजमार्गको निर्माणसँगै गाँउगाँउमा सडकको पहुँच पुगेपछि सिन्धुलीका विकट ग्रामीण क्षेत्रका किसान पछिल्ला केहि वर्षदेखि व्यावसायिक तरकारी खेतीमा जुटेका छन्। विगतका वर्षमा किसानको खेतबारीमै पुगेर राम्रो मूल्य दिने व्यापारी यस वर्ष किसानको उत्पादन लिन नगएकाले किसानको उत्पादन बारीमै कुहिने भएको छ।  

‘राजमार्गका होटलहरु सबै बन्द भएकाले पनि हाम्रो उत्पादन बिक्री भएन’, किसान भट्टराईले भने, ‘गाडीमा डुलाएर बिक्री गर्दा पनि सबै बिक्री हुने सम्भावना छैन, काठमाडाँै लगायत ठूला शहरमा लैजान सकिने अवस्था छैन।’  

किसानहरुले गत वर्ष पनि तरकारीको राम्रो मूल्य नपाएको गुनासो गरे। ‘गत वर्ष गाँउपालिकाले गाडी उपलब्ध गराएर सघाएको थियो’, उनले भने, ‘यसवर्ष गाँउपालिकाको गाडी कोभिड १९ मा प्रयोग भएको भन्ने जानकारी आएको छ, त्यसैले कतै लान सकिएन, तरकारी खेतमै कुहिँदै छ।’

सिन्धुली सदरमुकामस्थित तरकारी बजारमा समेत तरकारी किन्ने उपभोक्ता कमी भएपछि तरकारी आयात घटेको छ। तरकारी बजारमै तरकारीको आयात घटेसँगै किसानको उत्पादन खेतबारीमै कुहिन थालेको हो। 

प्रकाशित: १३ जेष्ठ २०७८ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App