१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाको उच्च जोखिममा डोल्पा: रोकथाम र नियन्त्रणमा नगरको ४० लाख

जोखिम न्यूनीकरणमा राजनीतिक दलको ऐक्यबद्धता

कोरोना जोखिम न्यूनीकरणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन्। पछिल्लो समय हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमणको दर बढ्दै गएको र समयमा यसको रोकथाम तथा नियन्त्रणमा ध्यान नपुर्‍याए कोरोनाले उच्च रुप लिने बताउँदै यसको रोकथाम र नियन्त्रणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन्। 

नेपाली काँग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति ख डोल्पाले प्रदेश ख भित्रका स्थानीय तहहरुमा महामारी कोरोना रोकथाम नियन्त्रण र सरकारी प्रयास लगायत समसामयिक राजनीतिक परिबेशका बारेमा गरिएको सर्वदलीय सर्वपक्षीय छलफलमा विभिन्न राजनीतिक दलहरुले कोरोना महामारी रोकथाम तथा नियन्त्रण र न्यूनीकरणमा साझा कार्यक्रम लिएर एकसाथ बढ्ने ऐक्यबद्धता जनाएका छन्। सडक यातायातबाट डोल्पा प्रवेशको मुलद्वार मानिएको त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ्ग नाकामा लकडाउनको अवधिमा पनि प्रवेश खुकुलो भएको छ। जाजरकोट, रुकुम, जुम्ला र सल्यानबाट डोल्पा भित्रिने मानिसहरु रातीको समय चोरबाटोबाट भित्रिरहेकोले पछिल्लो समय डोल्पामा कोरोनाको संक्रमण दर बढ्दै गएको बैठकमा सहभागीहरुले बताएका छन्।

यसैगरि त्रिपुरासुन्दरी नगरपालिकाले आफ्नो सीमानाका र बजार क्षेत्रमा लकडाउनलाई कडाई नगरेको निर्वाधरुपमा सामाजिक दूरी समेत कायम नहुने गरि सवारीसाधनहरु संचालनमा रहेकोले पनि कोरोनाले प्रशय पाईरहेको बताइएको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण र न्यूनीकरणको लागि जनचेतनामुलक प्रचारप्रसार, प्रत्येक वडामा वडास्तरीय कोभिड १९ प्रतिरोधक युनिट गठन र स्थानीय जडिबुटी तथा अर्गानिक खानपानमा जोड दिन सर्वसाधारणमा आह्वान, सीमानाकाबाट अनावश्यक आवतजावतमा रोक, त्रिपुरासुन्दरी नगरपालिकामा प्रवेश गर्ने प्रत्येक नागरिकले खदाङ्गमा अनिवार्य एन्टिजेन परीक्षण वा पिसिआर परीक्षण गराउनु पर्ने र परीक्षणको दायरालाई स्थानीय तहले बढाउनु पर्ने तथा अनावश्यक सवारीसाधान संचालनमा रोक लगाउनु पर्नेमा जोड दिइएको छ।

यसैगरि सीमानाकामा कडाई गर्नु पर्ने गत वर्षको जस्तो कोरोनाको नाममा अनावश्यक नगरको बजेट फजुल खर्चमा प्रयोग नहोस भन्नको लागि सर्वदलीय सर्वपक्षीय अनुगमन संयन्त्र गठन गरिनु पर्ने अक्सिजन लगायतका स्वास्थ्य सामाग्री समयमा नै खरिद तथा मौज्दात राख्न नगरपालिकालाई अनुरोध गर्ने लगायतका निर्णय बैठकले गरेको नेपाली काँग्रेस प्रदेश ख सभापनि जयनन्द उपाध्यायले जानकारी दिए।

नेकपा एमालेका तुलाचन्द्र बुढाले यतिबेला डोल्पाका प्रत्येक गाउँबस्तीका घरघरमा विरामीहरु थला परेको खवर आइरहेकाले छिटोभन्दा छिटो प्रत्येक वडामा परीक्षणको दायरा बढाउनु पर्ने बताए। यस्तै, उनले यदि समयमा नै परीक्षणको दायरा नबढाई लापरबाही गरिएमा सिंगो डोल्पा सहरी क्षेत्रभन्दा पनि बढी कोरोना जोखिममा हुने बताए। यसैगरि कोरोना महामारीमा लकडाउनको बहानामा दैनिक उपभोग्य बस्तुहरुको बजारमा कृत्रिम अभाव हुन थालेको र मूल्य पनि आकासिएकाले स्थानीय सरकार र प्रशासनले प्रभावकारी बजार अनुगमन गरि नियन्त्रण गर्नु पर्नेमा जोड दिइएको नेकपा माओवादीकी नेतृ कालि चलाउनेले बताईन्।

दोस्रो कोरोना लहरमा हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमितको संख्या एक सय चार जना रहेको र दैनिक जसो संक्रमणको दर २ देखि ४ जनासम्म रहेको जिल्ला अस्पताल सेवा कार्यालयका कोरोना सूचना अधिकृत टेकबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुने संख्या ४ पुगेको छ।

कोरोना रोकथाम र नियन्त्रणमा ४० लाख

त्रिपुरासुन्दरी नगरपालिकाले कोरोना रोकथाम न्यूनीकरण र नियन्त्रणको लागि ४० लाख बजेट विनियोजन गरेको छ। नगरकार्यपालिकाको आज बसेको पालिका बैठकले त्रिपुरासुन्दरी नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि यसको रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री खरिद तथा चेतनामुलक कार्यक्रम संचालन र र क्वारेन्टिनमा बसेका संक्रमितको ब्यवस्थापनमा खर्च गर्ने गरि बजेट विनियोजन गरिएको नगरले जनाएको छ। यसैगरि नगरभित्रका स्थानीय नागरिकहरुको स्वास्थ्य परीक्षण निःशुल्क गरिने र नगर बाहिरका नागरिकहरुको एन्टिजेन तथा पिसिआर परीक्षण गर्दा प्रतिब्यक्तिबाट १५ सय रुपैयाँ शुल्क लिइने र त्रिपुरासुन्दरी नगरपालिकाका ११ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरि नागरिकको एन्टिजेन तथा पिसिआर परीक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरीले जानकारी दिए।

उनका अनुसार बाहिरी जिल्लाबाट त्रिपुरासुन्दरी नगरपालिका भई भित्रिने प्रत्येक नागरिकले पिसिआर वा एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट साथमा ल्याउनु पर्ने नल्याउनेको हकमा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ्ग र त्रिपुराकोट बजारमा परीक्षण गरिने छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App