२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

'ट्याक्सी नगुड्दा जीवन रोकिन्छ'

ट्याक्सी चालक बाेहरा अङ्कल ।

निषेधाज्ञाले सडक सुनसान छ । कलंकी चोकको नजिकै रहेको कालिका पेट्रोलपम्प अगाडि बोहरा अङ्कल ट्याक्सी रोकेर सुस्ताउँदै छन् । तर  मलिन अनुहारमा उनलाई देख्दा उनी निकै थाकेका जस्तो भान हुन्छ । यहि फुर्सदमा उनले आफ्नो कथा सुनाए ।  

उनको स्थायी घर रामेछाप हो । २०६७ सालमा एस.एल.सी सकेर उनी काठमाडौँ आए । राजधानीमा उनको आफ्नै दुःख र संघर्ष सुरु भयो ।  

विभिन्न कामहरु गर्दै उनले पत्रकारितामा एम.ए.काे पढाइ सके । उनी भन्छन्, ‘काम कहिल्यै पनि ठूलो सानो हुँदैन भन्ने मेरो धारणा थियो । त्यसकारण मैले एम.ए सकेर पनि ट्याक्सी ड्राइभर पेशा अँगाले ।’

आजभन्दा तीन वर्ष अगाडि अर्थात् २०७४ सालमा उनले ट्याक्सी पेशा सुरु गरे । उनी ट्याक्सी चालकमा मात्रै सीमित रहेनन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी तथा व्यवसायिक चालक सेवा समाजको निर्वाचित सहसचिव पदमा समेत रहेर काम गर्न थाले ।

कोरोनाको नियन्त्रणको उत्तम उपाय लकडाउन मात्रै होइन । सरकारले अन्य विकल्पको खोजी गरेर मजदुरहरुलाई गरिखाने व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ । तर उनलाई ठूलो विश्वास छ । एकदिन अवस्थामा निकै सहज हुन्छ । जिन्दगी फेरि पुरानै लयमा फर्कन्छ ।    

उनले काठमाडौँका गल्ती र सडकमा पसिना बगाए । आफ्नै मेहनतले कमाएको पैसा र लोन लिएर तीन वटा ट्याक्सी किने । जीन्दगी सहज बन्दै थियो । तर अचानक नेपालमा पनि कोरोना भाइरसको प्रवेश भयो । कोरोनाले उनको जिन्दगी नै तहसनहस बनाइदियो ।  

उनी भन्छन्, ‘आम्दानी राम्रै भइरहेको थियो । कोभिडको पहिलो लहरमा त खास डर लागेको थिएन । सामान्य जीविका चलाउने खर्च कमाएँ । यसपालिको अवस्था अलि फरक छ । बैंकको किस्ता तिर्ने, कोठा भाडा तिर्ने र आफू कसरी बाँच्ने भन्ने समस्यामा अल्झिएको छु । कसैसँग मागेर जिन्दगी चलाउन सक्ने अवस्था छैन । न बैंकसँग भाग्न सक्छु न साथीभाइसँग । २०६७ सालमा एस.एल.सी सकेर काठमाडौँ छिर्दा जस्तो अवस्था थियो अहिले त्यस्तै अवस्थामा छु । त्यही चप्पल खोजेर गाउँ फर्केनु पर्ने मेरो अवस्था छ ।’

नेपालमा कोरोनाको प्रवेश भएसँगै आफूलाई २ करोडभन्दा माथि घाटा लागेको बताउँछन् । यस्तै अवस्था हो भने उनीसँग जिन्दगीमा तीन वटा मात्र विकल्प छ । एउटा लकडाउन खुलेपछि खाडी मुलुक छिर्ने । अर्को २०६७ को जस्तै शुन्य अवस्थामा गाउँ फर्कने अथवा आत्महत्या गर्ने । कोरोना भाइरसको कारण उनी नमज्जासँग समस्याको झिरमा उनिएका छन् ।  

उनी भावुक हुँदै बताउँछन्, ‘हाम्रो समस्या कसैले पनि बुझेनन् । अहिले न किस्ता तिर्न सक्छु न कोठाभाडा । न सहजसँग हिँडडुल गर्न नै सकिन्छ ।'

'सरकारलाई चुनौती दिएर हिँडन सक्ने अवस्था पनि छैन । एकातिर कोरोनाको डर छ अर्कोतिर फस्टेसन होला भन्ने चिन्ता । तर नबोली बसेर पनि के गर्ने ?' उनी प्रश्न गर्छन् ।  

आफू कमाइ नहुँदा र पहिलो लकडाउनमा बैंकले बारम्बार यातना दिँदा उनी आत्महत्याको नजिक पुगेको बताउँछन् ।  

कोरोनाको नियन्त्रणको उत्तम उपाय लकडाउन मात्रै होइन । सरकारले अन्य विकल्पको खोजी गरेर मजदुरहरुलाई गरिखाने व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ । तर उनलाई ठूलो विश्वास छ । एकदिन अवस्थामा निकै सहज हुन्छ । जिन्दगी फेरि पुरानै लयमा फर्कन्छ ।  

उनी त प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै चिन्ता र समस्या हजारौँ ट्याक्सी चालकको रहेको छ । न उनीहरुको पीडा मिडियामा आउँछ न सरकारले राहत दिन्छ । पीडा र वेदनालाई मनमा राखेर दिनभरि कोठामा समय विताउनुपर्ने उनीहरुको बाध्यता छ ।  

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका कुमार थापाले २०६५ सालमा एस.एल.सी सके । त्यतिबेला गाउँमा विदेश जानेको लहर नै चलेको थियो । छरछिमेक र परिवारका सबैले उनलाई विदेश जान प्रोत्साहन गर्थे । तर उनको नेपालमा नै केही गर्ने इच्छा थियो । एस.एल.सी सक्ने वित्तिकै सहचालक भएर काम गरे । गाडी सिके । र केही वर्ष हेलम्बु यातायताको गाडी चलाए । साहुको काम गर्न उनलाई चित बुझेन । अलिअलि आफूले कमाएको पैसा जोगाए बैँकबाट लोन लिएर । नयाँ एउटा ट्याक्सी किनेर काठमाडौँ छिरे ।  

विवाह गर दुईवटा बालबच्चा भयो । उनले त्यही कमाईबाट आफ्नै दैनिकी चलाउँथे । उनले काठमाडौँको फराकिलो सहरमा ७ वर्ष ट्याक्सी चलाए । कमाएको बचत गरेर लोन तिरे । उनी भन्छन्, 'अलिअलि कमाउने मेलो सुरु भएको थियो । अवस्था यस्तो भैदियो । यो देशमा गरिबको लागि कुनै पनि सरकार नै रहेनछ । सरकार भएको किन रुँदै बस्नुपथ्र्यो । हामी जस्ता मजदुरले कसरी घर चलाउने कसरी दैनिकी चलाउने ? के खाने, कसरी बाँच्ने ? यहाँ त रोगभन्दा ठूलो भोक भएको छ ।'  

'लकडाउन भए पनि पेटले लकडाउन भयो भन्दैन ? छोराछोरीको स्कुलले फी लिन छोडेको छैन । हाम्रो कमाइ मात्रै छैन । खर्च त पहिलाको भन्दा पनि डबल छ कसरी धान्नू ?,' उनी फेरि दुःख बिसाउँछन् ।

साँच्चै यो देशमा गरिखाने मजदुर वर्गका लागि निकै गाह्रो अवस्थाको सिर्जना भएको छ । चाहेको बेलामा आफूले कमाउन नसक्दा उनीहरु दैनिक घर चलाउन समेत कठिन अवस्था रहेको उनीहरु बताउँछन् ।  

सधैँ सत्तामा रहेर कुर्सीका लागि मात्रै मरिहत्ते गर्ने नेता र जनप्रतिनिधिहरुले तल्ला वर्गका मजदुरका पीडा कहिले बुझ्ने ?

प्रकाशित: १० जेष्ठ २०७८ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App