५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मिर्गौला बिरामीलाई युकेबाट साढे ७ लाख सहयोग

दुवै मिर्गौला फेल भएर उपचाररत उदयपुर गाइघाट घर भएकी ३५ वर्षीया मनिषा राईलाई युकेमा रहेका नेपालीहरुले करिब साढे ७ लाख आर्थिक सहयोग गरेका छन्।  

हाल धरान १६ मा डेरा लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेकी राईलाई इन्द्रेणी पोखरी सेरोफेरो समाज युकेले ७ लाख ४८ हजार ७ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो। बिरामी राईका श्रीमान् अभिषेकको पुर्ख्यौली घर खोटाङको इन्द्रेणी पोखरी बलडाँडा हो। सोही ठाउँबाट युके पुगेका नेपालीहरुले मनिषालाई सहयोग पठाएको हो।  

उक्त रकम आइतबार उनको डेरामा पुगेर चण्डीराज राई र पुर्णदेवी राईले हस्तान्तरण गरे। चण्डीराज र पुर्णदेवीका आफन्त रहेकी मनिषालाई उपचारमा आर्थिक अभाव भएपछि उनीहरुले युकेमा सहयोग जुटाउन पहल गरेका थिए। उनका अनुसार बेलायतबाट सहयोग जुटाउन अशोक राई, चित्रा राई र मिलन राईले समन्वय गरेका थिए।  

पुर्ख्यौली थलो खोटाङबाट उदयपुर बसाई झरेका अभिषेक विगत एक वर्षदेखि भने धरान १६ मा डेरा गरि बस्दै आएका छन्। गत वर्ष मनिषाको दुवै मिर्गौला खराब भइसकेको थाह पाएपछि उपचारको लागि दुवै धरानमा छन्। मनिषाको हप्तामा २ पटक वीपी प्रतिष्ठानमा डाइलासिस गराइरहनु परेको अभिषेकले बताए। ‘अहिलेसम्म उपचारमा ८, १० लाख सकियो, सिमपानी र गाइघाटको खेतबारी पनि बचिसक्यौं,’उनले भने,‘साउदीमा कमाएको पनि उपचारमै सकियो।’

श्रीमतीको उपचार र रेखदेखमा धरान बसेदेखि उनी पनि बेरोजगार नै छन्। आर्थिक अभावले सताइरहेको बेला आफन्तजनमार्फत युकेबाट सहयोग आएपछि धेरै राहत मिलेको अभिषेकले बताए। मनिषाको मिर्गौला प्रत्यारोपण गर्न चाहे पनि मिल्ने दाता नभेटिएको र आर्थिक अभावले समस्या भएको अभिषेकले बताए।

प्रकाशित: ९ जेष्ठ २०७८ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App