१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुकुम्बासीका घरमा नगरको डोजर, प्रतिकारमा मेयर, उपमेयर र वडाध्यक्षको घर तोडफोड

नगरपालिकाले भत्काएको घरमा कोरा बसेका दिनेश दनुवार ।

कोभिड संक्रमण कम गर्न जारी निषेधाज्ञा उल्लंघन गर्दै उदयपुरको कटारी नगरले डोजर चलाएर घर भत्काएको छ भने प्रतिरोधमा स्थानीयले नाराजुलुस र तोडफोड गरेका छन्। संक्रमण बढ्न नदिन कडाई गर्दै कटारी बजार ‘सिल’ गरिएको भोलिपल्ट बुधबार दिउसो कटारी ४ जहडीस्थित सुकुम्बासी बस्तीमा नगरपालिकाले डोजर लगाएर केही घर भत्काएपछि प्रतिकारमा उत्रिएका स्थानीयले बजारमा जुलुस निकाल्दै नगरप्रमुख र उपप्रमुख तथा वडाध्यक्षको घर तोडफोड गरेका हुन्।

तीव्र गतिमा फैलिदो कोभिडले दिनहुँ मृत्यु हुने क्रम नरोकिएपछि निषेधाज्ञा कडाई गर्दै कटारीलाई मंगलबारदेखि लागू हुनेगरी ११ गतेसम्मलाई सिल गरेको थियो। तर, सुकुम्बासी बस्तीमा स्थानीय सन्तबहादुर सुनुवारको १ तले पक्की घर र कोभिडकै कारण मृत्यु भएका मानबहादुर दनुवारको दुःख (कोरा) बारिरहेको परिवारको छाप्रो घर डोजर लगाएर भत्काएपछि आक्रोसित बस्तीवासी आन्दोलित भएका हुन्। निषेधाज्ञा अवधि, त्यसमाथि किरीया बसेको घरमा डोजर लगाउनु अत्यन्त अमानवीय र संवेदनहीन घट्ना भएको भन्दै बजारबासीले नगरपालिकाप्रति रोष प्रकट गरेका छन्।  

नगरपालिकाले डोजर लगाएको विरोधमा आक्रोसित स्थानीयको जमातले बिभिन्न नारा लगाउँदै बजार परिक्रमा गरी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, वडाध्यक्ष कृष्णराज दनुवार र नगर ओभरसियर ओम मिश्रको घरमा तोडफोड गरेको स्थानीयले बताएका छन्। तोडफोडबाट मेयर श्रेष्ठको घरको झ्यालका सिसा फुटेका छन् भने उनी सवार नगरपालिकाको जीपमा क्षति पुगेको छ। त्यस्तै उपमेयर राउत र वडाध्यक्ष दनुवारको घरमा पनि क्षति पुगेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्।  

स्थानीयले २–३ दशकदेखि बसोबास गर्दै आएको सो सुकुम्बासी बस्ती भएको भन्दै छाड्न नमानिरहेको तर, नगरपालिकाले छाड्न दबाब दिदै पटक पटक पत्रकाचार गरिसकेको जनाएको छ। नगरपालिकाले सो जमिनमा बसपार्क निर्माण गर्ने योजनासमेत अघि सारेको जनाइएको छ। बस्तीवासीले भने सो ठाउँ छाड्न नसक्ने भन्दै छाड्नुपरे अर्को ठाउँमा जमिन व्यवस्था गर्न माग गर्दै आएको भूमि अधिकार मञ्च कटारीले जनाएको छ।  

नगरपालिकाले भने उक्त जमिन ऐलानी भएकाले सुरक्षा गर्न कर्तव्य ठानेर डोजर लगाएको दावी गरेको छ। मेयर श्रेष्ठले निषेधाज्ञाकै बेला धमाधम आरसिसी बिल्डिङ बनाउन थालेपछि भत्काउन बाध्य भएको बताए। ऐलानी जमिन सुरक्षा गर्नु नगरपालिकाको कर्तव्य भएको र प्रशासन तथा अख्तियारबाट पनि निर्देशन आएकाले भत्काइएको उनको दावी छ। ‘सुकुम्बासीलाई जमिन व्यवस्थापन गर्ने जिम्मा पनि नगरपालिकाको हो, हामी त्यस्ता सुकुम्बासी भए जमिन दिन्छौं’ मेयर श्रेष्ठले भने, ‘तर, सुकुम्बासी हुँ भन्ने अनि आरसिसी विल्डिङ बनाउने हुन्छ ? सुकुम्बासीको नाममा उनीहरु हुकुम्बासी हुन्।’  

प्रतिपक्षीको निन्दा

नेपाली कांग्रेस उदयपुरले विज्ञप्ती प्रकाशित गरी नगरपालिकाको यस्तो काय घोर निन्दनीय भएको भन्दै भत्सर्ना गरेको छ। सभापति बिदुर बस्नेतद्वारा जारी विज्ञप्तीमा निषेधाज्ञाको अवधि त्यसमाथि कोभिडले अभिभावक गुमाएर कोरा बसिरहेको घरमा डोजर चलाएर घर भत्काउनुजस्तो अमानवीय र असम्बेनदसिल कार्य गर्ने घट्नाको जतिसुकै निन्दा गरे पनि कमै हुने उल्लेख छ।  

कोभिडका कारण मास्क लगाएर घरभित्र बस्नुपरेको बेला कोरा बसिरहेका सुकुम्बासीलाई जबरजस्ती घरबाट निकालेर डोजर लगाएर घर भत्काउने नगरपालिकाका मेयरले कोभिड नियन्त्रणको जिम्मा लिनुपर्ने माग काँग्रेसले गरेको छ। भत्काउनै पर्ने भए महामारीपछि सर्वदलीय छलफल गरेर भत्काउँदा हुनेमा निषेधाज्ञाकै बेला गरेको यो निर्णय अत्यन्त दुःखदायी र भत्सर्नायोग्य भएको विज्ञप्तीमा उल्लेख छ।  

नेकपा माओवादी केन्द्रले पनि नगरपालिकाको यस्तो कार्य निन्दनीय भएको जनाएको छ। पार्टीका नेता केपी बरालले सरकारी जग्गाजमिनको सुरक्षा गर्नु नगरपालिकाको कर्तव्य भए पनि कोभिड कहरमा डोजर लगाएर सुकुम्बासीका घर भत्काउनु निन्दनीय भएको बताए। कांग्रेस र माओवादी दुवैले पीडितहरुलाई उचित क्षतिपूर्ति दिन आग्रह गर्दै समस्या समाधानका लागि सर्वदलीय छलफल गरेर निकास निकाल्न नगरपालिकालाई सुझाएका छन्।  

निषेधाज्ञाकै बेला तोडफोड र नाराजुलुस भएपछि सदरमुकामबाट थप सुरक्षाफौज कटारी पठाइएको छ भने दुईजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले मेयर, उपमेयरको घर तोडफोड गरेको उजुरी आएपछि संलग्न दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको दाहालले बताए।

प्रकाशित: ६ जेष्ठ २०७८ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App