coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालगन्जका युवा काफ्लेलाई ‘कन्जरभेसन अवार्ड’

नेपालगन्जका युवा हेमन्तराज काफ्लेलाई ‘अब्राहम कन्जरभेसन अवार्ड–२०२१’ बाट सम्मान गरेको छ। नेपालगन्ज उपमहानगरपालिका १९ निवासी काफ्लेलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)नेपालले वातावरण संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै बुधबार भर्चुअल प्रविधीमार्फत् नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरेको हो।  

डब्लुडब्लुएफ नेपालले हरेक वर्ष वन्यजन्तु तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेबापत व्यक्ति तथा संस्थालाई यस्तो अवार्ड प्रदान गर्दै आएको छ। वातावरण संरक्षणमा रुची राख्ने गरेका काफ्लेले कसैको जन्मदिन, बैबाहिक वर्षगाँठ, ब्रतबन्ध, विभिन्न चाडपर्वका अवसरमा निम, जामुन, सितलचिनी, कोईरालो, अगस्त, कागतीलगायत प्रजातीका बिरुवा उपहार स्वरुप दिँदै आएका छन्।  

नेपालगन्ज आएका मुलुकका विशिष्ट व्यक्तिलाई समेत उनले उपहार स्वरुप बिरुवा वितरण गर्दै आएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्व राजा ज्ञानेन्द्र शाह, मन्त्री, पुर्वमन्त्री, सांसद, कलाकार, चिकित्सक, कर्मचारी, पत्रकार, राजनीतिक नेता लगायतलाई विरुवा दिएका छन्।  

वातावरण संरक्षणमा सबैको सहभागिता र सकारात्मक सोच पैदा होस्् भन्ने उद्देश्यले नेपालगन्जमा विगत ११ बर्षदेखि उपहारस्वरुप बिरुवा दिँदै आएको काफ्लेले बताए।

कन्जरभेसन अवार्ड प्राप्त गरिसकेपछि आफूलाई वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने थप उर्जा जागेको उनले बताए। ‘मैले यति ठुलो अवार्ड पाउँला भनेर हरित अभियान थालेको होइन, तर मेरो मूल्यांकन गरेर अवार्ड प्रदान गर्नुभयो, यसले संरक्षणको क्षेत्रमा काम गर्ने थप हौसला मिलेको छ,’ काफ्लेले नागरिकसँग भने।

शिक्षण पेशामा आवद्ध रहेका काफ्लेले पछिल्लो समयमा आफ्नै नर्सरीबाट बिरुवा उत्पादन गरिरहेका छन्। आफ्नो अभियानमार्फत् नेपालगन्जलगायत विभिन्न जिल्लामा ६० हजार बिरुवा रोपिएको उनको दाबी छ।

प्रकाशित: ५ जेष्ठ २०७८ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App