coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महामारीमा प्रचारमुखी स्थानीय सरकार

फाइल तस्बिर

रुपन्देहीमा कोरोना संक्रमणले भयावह रुप लिएको छ। यहाँका कोभिड अस्पतलाहरु संक्रमितले भरीभराउ छन्। अस्पतालहरुमा बेड र अक्सिजन अभाव हुँदा गम्भिर अवस्थाका बिरामीहरुले उपचार पाइरहेका छैनन्। संक्रमितहरु दिनभर अस्पतलाको सडक पेटीमा भर्ना हुने पालो कुरेर बसीरहेका छन्। अस्पताल पुगेका बिरामीले आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर्दै मृत्युवरण गरीरहेका छन्। बेड र अक्सिजन अभाव हुँदा संंक्रमणबाट मृत्यु हुनेको संख्या बढीरहेको चिकित्सकहरु बताउँछन्। पर्याप्त उपकरण, जनशक्तिसहितको आइसीयु, भेन्टिलेटर या एचडियु  बेड अभावमा सडक पेटीमा बिरमी छटपटाइ रहँदा यहाँका स्थानीय तहहरु भने क्षणीक प्रशंसा र प्रचारमा आउने होडमा छन्।  

बुटवल उपमहानगरपालिकाकले अक्सिजन बैंक स्थापना गरेर प्रचारमा आउने काम गर्‍यो। जसबाट आइसोलेसनमा बसेका केही संक्रमितले अक्सिजन पाएका छन्। तर त्यो भन्दा धेरै पहँुचका आधारमा घरघरमा अक्सिजन पुर्‍याउँदा स्वास्थ्य संस्थाहरुमा अक्सिजनको चरम अभाव भएको स्वयं स्वास्थ्यकर्मीहरु बताउँछन्। लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले पहुँचका आधारमा घरघरमा अक्सिजन बाँडिदा अस्पतालहरुले अक्सिजन अभाव झेलिरहेको बताए। स्वास्थ्यकर्मीको निगरानी बिनै अक्सिजन बाँडिदा त्यसको गलत तरिकाले प्रयोग हुन सक्ने र होम आइसोलेसनका संंक्रमितको ज्यानै जोखिममा पर्न सक्ने प्रति पनि उनले चिन्ता व्यक्त गरे।  

बुटवलले अक्सिजन बैंक स्थापना गरेर चर्चामा आएपछि तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जागेश्वरी चौधरीले पनि आफूहरु चढ्ने सरकारी गाडीमा कोरोनाका बिरामी बोक्न दिने घोषणा गरे। जुन खबरलाईं लिएर तिनीहरुका कार्यकर्ताले केही समय सामाजिक सञ्जालमा वाहवाही पनि गरे। तर संक्रमितले उपचारका लागि अस्पतालमा बेडै नपाएर छटपटाइरहेका बेला मेयरका गाडीले बिरामी बोकेर कहाँ लैजाने भन्ने सम्बन्धमा ती प्रमुख, उपप्रमुख गम्भिर देखिँदैनन्।

संक्रमित ओसारपोसारका लागि त नगरपालिकाले लाखौं बजेट खर्च गरेर एम्बुलेन्स सेवा संचालन गरेको छ। नगरका केही स्थानीय व्यक्तिहरुले समेत आफ्ना निजी गाडी संक्रमितलाई अस्पताल लैजान ल्याउन सहयोग गरीरहेका छन्।  

तर संक्रमण पुष्टि भएर गम्भिर स्वास्थ्य समस्या देखिएका नगरवासीले अक्सिजनसहितको उपचार या आइसीयु बेडका लागि बुटवल भैरहवामा बेड नपाएर काठमाडौ चितवन धाउनु परीरहेको छ। कतिले समयमै उपचार नपाएर मृत्युवरण गरीरहेका छन्। बिरामीका आफन्त कुरुवाले संक्रमितको स्याहार गर्न छोडेर अक्सिजन खोज्न उद्योगको गेटमा दिनभर लााइन लाग्न बाध्य छन्।

नगरको अहिलेको मुख्य समस्या सवारी साधन नभइ एचडियु तथा आइसीयुसहितको कोभिड अस्पताल भएको बताउँछन् तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारी। अक्सिजन नपाएर संंक्रमितहरु छटपटाइ रहेका बेला स्थानीय सरकारले अक्सिजन व्यवस्थापनमा सहजीकरण गर्नु पर्ने खाँचो रहेको भण्डारीले बताए। नगरपालिकाले पोहोर पहिलो लहरकै बेला तिलोत्तमामा आइसीयुसहितको अस्पताल बनाउने भनेर प्रचारबाजी गरेको थियो। तर त्यो अहिले सम्म घोषणामै सीमित छ।  

रुपन्देहीमा अहिले पनि ज्वरो, रुघाखोकी जस्ता स्वास्थ्य समस्या देखिएका बिरामीले समयमै स्वाब टेष्ट गर्न पाएका छैनन्। परिवारकै सदस्यलाई कोरोना संक्रमण देखिएपछि क्लोज कन्ट्रयाक्टमा पर्नेहरुले समेत चाहेर पनि परीक्षण गर्न पाएका छैनन्। किनकी यहाँ किटको अभाव छ।

चिसित्सकहरुले महामारीसंग लड्न अब अस्तपालको मात्रै भर पर्न नहुने र यसको चेनब्रेक गर्नु पर्नेमा सुरुदेखि नै जोड दिइरहेका छन्। परीक्षणको दायरा बढाएर गत वर्ष जस्तै संक्रमितहरुलाई आइसोलेट नगरिए स्थिती अझ खराब हुन सक्ने चेतावनी स्वास्थ्य अधिकारीहरुले दिइरहेका छन्।  

लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टर सुदर्शन थापाले कोभिड १९ बाट हुने मृत्युदर घटाउन र तेश्रो लहर आउन नदिन संक्रमितको उपचार र जिवन रक्षाका लागि पर्याप्त उपकरण, जनशक्तिसहितको अस्पताल विस्तार गर्नुपर्ने र आइसोलेसन, क्वारेन्टिन व्यवस्थित गरी कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक बनाउनु पर्नेमा जोड दिए। तर यहाँका अब्बल भनिएका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर जस्ता नगरपालिकाहरुले नै अहिले सम्म त्यता तिर ध्यान दिएका छैनन्। देवदह नगरपालिकाले भने आफ्ना नागरिकको निःशुल्क स्वाब टेष्टको व्यवस्था गरेको छ। तर त्यहाँ पनि किट अभावमा परीक्षणको दायरा बढ्न सकेको छैन। 

प्रकाशित: २ जेष्ठ २०७८ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App