१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महामारीसँग बचेर सूचना सम्प्रेषण गर्न आग्रह

कोरोना संक्रमण बढिरहेकोले जोगिएर काम गर्न सञ्चार माध्यम तथा पत्रकारलाई सुझाइएको छ। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको आयोजनामा शनिबार भएको ‘भर्चुअल’ अन्तक्र्रिया कार्यक्रममा विज्ञहरूले महामारीका बेला सूचना र समाचार प्रवाह गर्दा विशेष ध्यान पुर्‍याउनुपर्ने बताएका हुन्।  

यो समयमा आम सर्वसाधारणलाई सूचना प्रवाह गर्ने कार्य झन् महत्वपूर्ण रहेको र सूचना प्रवाह गर्दा धेरै चुनौती थपिएकोले सञ्चारकर्मीले सूचना र स्वास्थ्यमा विषेश ख्याल गर्न उनीहरूको सुझाव छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका डा. विशाल भण्डारीले महामारीको समयमा सञ्चारकर्मी पनि स्वास्थ्यकर्मीजत्तिकै जोखिममा रहेकाले सचेत रहन आग्रह गरे। यो समयमा प्रवाह गरिने सूचनाले आम नागरिकलाई धैर्य र सचेत बनाउन भूमिका खेल्ने उनको भनाइ छ। उनले कोरोना महामारीको बेला सञ्चार क्षेत्र आर्थिक रूपमा पनि ग्रसित हुन थालेको बताए। 

कोरोनाको समयमा मिडिया क्षेत्र र तीनमा कार्यरत पत्रकारहरू समेत प्रभावित हुन सक्ने अवस्था देखिएको उनको भनाइ छ। उनले अमेरिकाका गरिएको सर्वेक्षणमा भ्याक्सिन लगाएका संक्रमितबाट सर्ने सम्भावना कम देखिएको बताए। उनका अनुसार सक्दो छिटो भ्याक्सिन लगाउन सके सबैभन्दा बढी प्रभावकारी त्यही मानिन्छ। उनले समयमै चासो नदिएको र खुल्ला गरिएको नेपालका संक्रमण भयावह हुने अवस्थामा पुगेको बताए। ‘सबैको लार्पबाहीले नेपालका कोरोना छिटो फैलियो, पिसिआर दायरा पनि निकै कम भयो,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड, भ्याक्सिन, पिसिआर र उपचारमा सरकारले बढी चासो दिन आवश्यक छ।’ 

उनले पहिले आफू र आफ्नो परिवारलाई जोगाएर पेसागत जिम्मेवारी निभाउन आग्रह गरे। ‘यो समयमा हामीले दोहोरो रूपमा भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ डा.भण्डारीले भने, ‘त्यसपछि मात्रै समाजलाई सूचना प्रवाह गर्ने हो।’ उनले यो समयमा रिपोर्टिङ गर्दा विषेश ख्याल गर्न आग्रह गर्न गरे। उनले फेस टु फेस अन्तर्वार्ता नगर्न र बिरामीको गोपनीयतालाई ख्याल गर्न अनुरोध गरे।  

उनले पछिल्लो समय नेपालको अवस्था भारतको भन्दा डरलाग्दो रहेको भन्दै चिन्ता व्यक्त गरे। हाल भइरहेको पिसिआर दायरा निकै कम भएकोले यसलाई बढाएर दैनिक ४० हजारदेखि ५० हजार जनाको कोरोना परीक्षण गर्दा प्रभावकारी हुने बताए। सोही अन्तरक्रियामा बोल्दै प्राध्यापक एवं सञ्चार अध्येता रामकृष्ण रेग्मीले कोरोना संक्रमण सँगै मिडियाको क्षेत्र थप धरासायी बनेको बताए। 

उनले सञ्चारकर्मीहरूको पेशागत सुरक्षा समेत नरहने अवस्था निम्तिएकोले सम्बन्धित निकायले ख्याल गर्नुपर्ने उल्लेख गरे। ‘यो बेला सञ्चारकर्मीको दायित्व धेरै छ, तर सञ्चार माध्यम आर्थिक हिसाबमा पनि मारमा परेका छन्,’ उनले भने, ‘तापनि सूचना प्रवाह गर्ने जिम्मेवारपूर्ण काम भइरहेको छ, यो समयमा पहिलो बन्ने होडमा तथ्यमा नचुकौ, कोरोनासम्बन्धिका सूचना सामग्री सम्प्रेषण गर्दा ध्यान दिऔं।’  

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महामारी नियन्त्रणमा राज्यलाई झक्झक्याइरहनुपर्ने पेशागत जिम्मेवारी रहेकोले पत्रकार आफू पनि सुरक्षित रहनुपर्ने बताए। उनले भने, ‘अहिले पत्रकारका मुख्य तीनवटा जिम्मेवारी रहेको छन्, आफू सुरक्षित हुँदै बदनीयत, बेथितिविरुद्ध लड्नुपर्ने र सही सूचना सम्प्रेषण गर्नुपर्ने।’ त्यस्तै, प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले आफू, परिवार र समाजलाई जोगाउँदै संक्रमणको बेलामा आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताए। उनका अनुसार प्रतिष्ठान प्रदेशमा कार्यरत १ सय ७५ भन्दा बढी पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७८ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App