६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरका प्रजिअ आफैले खोजे यात्रुको पास

नयाँ भेरियन्टको कोरोना संक्रमण बढ्दो छ । यही संक्रमणको शृङ्खला तोड्नका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी छ।

उपत्यकाअन्तर्गत भक्तपुरमा पनि जारी निषेधाज्ञा खासै प्रभावकारी हुन नसकेको गुनासो आइरहेको छ। निषेधाज्ञालाई कडाइका साथ पालना गराउनका लागि सुरक्षा निकाय, स्थानीय तह, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लागिररहेका छन्, तर पनि नागरिकहरुमा बढ्दो ‘लापरबाही’, अत्यावश्यक रुपमा जानुपर्ने व्यक्तिहरुको ‘बाध्यता’जस्ता कारण पनि ‘निषेधाज्ञा निषेधाज्ञा’जस्तो नभएको गुनासो आएपछि सोमबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई आफै अनुगमनमा निस्किए। उनलाई साथ दिन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसँग थिए।

टोलीले सोमबार काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगा र भक्तपुर प्रवेश गर्ने पश्चिम नाका मनोहराको अनुगमन गरे।

निषेधाज्ञामा सवारी आवागमनलाई थप कडाई गर्न र काठमाडौं उपत्यका भित्रिने सवारी साधन र सर्वसाधारणको आवागमनका विषयबारे  बुझ्न साँगा र मनोहरा पुगेर उनले साँगामा एक सवारी चालकसँग आफैंले सवारी पास देखाउन अनुरोध गरे। चालकले पनि अनुरोध मानेर पास देखाए।

‘म्याद सकिएको सवारी पास बोकेर र कामको प्रकृति, प्रयोजन नखुलेको, जारी मिति भएको तर म्याद कहिलेसम्म हो भन्ने स्पष्ट नभएको पास लिएर समेत सर्वसाधरण आवतजावत गरेको पाइएको छ, यही कारण पास नहेरी हुन्न, पासमै कडाइ गर्नुपर्छ।’ उनले भने।

भक्तपुर भित्रिने सवारी साधनको अवस्था बुझ्न अनुगमन गर्नु जरुरी देखिएको बताउँदै प्रजिअ भट्टराईले भने, ‘उपत्यकामा अनाधिकृतरुपमा र पास विना नै प्रवेश गरेको छ कि छैन? भनेर अनुगमन गरेका थियौं, अनुगमनको क्रममा सुरक्षाकर्मीहरुले राम्रो भूमिका निर्वाह गरिरहन भएको छ।’

प्रजिअ भट्टराईले सुरक्षाकर्मीहरुको हौसला र मनोबलमात्र नबढेको बताइ अटेरी गर्ने, लापरबाही गर्ने सर्वसाधारणहरुलाई सम्झाउनका लागि फलदायी भएको बताए। ‘स्थानीय जनतालाई यो महामारीमा अनावश्यक रुपमा हिँड्डुल नगर्न सम्झाई बुझाई गर्न पनि अनुगमन गरिएको हो।

अनुगमनका क्रममा बिरामीहरु औषधी उपचार गर्न, विद्यार्थीहरु आफ्नो गृहनगर जान र केही पास बेगरका पनि आउने गरेको पाइएको बताउँदै प्रजिअ भट्टराईले विनाकाम हिँड्ने, प्रहरीलाई जिस्काउने हिसाबले आउनेलाई ठाउँको ठाउँ कारबाही गर्न समेत निर्देशन दिएको जानकारी दिए।

‘साँगा नाकाबाट उपत्यका प्रवेश गर्न खोज्ने त्यस्ता व्यक्ति र सवारीसाधनलाई जहाँबाट आएको उतै फर्काउन समेत भनेका छौं, जिल्लाभित्र अनधिकृतरुपमा आवतजावत गर्नेलाई चेकपोष्टमा होल्डमा राख्ने भनेका छौं।’ प्रजिअ भट्टराईले भने।

अनुगमनमा भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापा, सशस्त्र प्रहरी बल दुवाकोटका डिएसपी लिला कार्की र राष्ट्रिय अनुसन्धान विभाग भक्तपुर जिल्ला प्रमुख विकास पाण्डे र सञ्चारकर्मीलगायतको सहभागितामा थियो।

प्रकाशित: २८ वैशाख २०७८ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App