६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रौतहटमा भयावह बन्दै कोरोनाः एकै परिवारका तीन संक्रमितमध्ये दुईको मृत्यु

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म २१ पुगेको छ। सोमबार थप चार जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृतकको संख्या निकै बढेको हो।

कोरोना संक्रमणबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ। एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएकोमा केही दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको हो। एकै परिवारका दुईको मृत्यु भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ।  

रौतहटको गढीमाई नगरपालिका ३ की ५३ वर्षीया मीरा कर्णको सोमबार मृत्यु भएको हो। मीराको देवर ५० वर्षका विनोद कर्णको कोरोना संक्रमणको कारण नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा यसै साता मृत्यु भएको थियो। मृतक महिलाका श्रीमान् पनि कोरोना संक्रमित छन्। श्रीमानको अवस्था सामान्य रहेको परिवारजनले जनाएका छन्।  

सोमबार महिलाको मृत्यु भएसँगै गढीमाई नगरपालिकामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। हरेक दिन संक्रमितको संख्या बढिरहेको सन्दर्भमा नगरपालिकालाई शील गर्नुपर्ने माग स्थानीयले गर्न थालेका छन्। स्थानीयबाट नगरपालिका बाहिरबाट आवतजावत पूर्णरुपमा निषेध गरी एक गाउँदेखि अर्को गाउँको आवागमन पनि रोक्नु पर्ने माग आउन थालेको गढीमाई नपा २ का कामेश्वर सहनीले जानकारी गराएका छन्।  

रौतहटमा सोमबार थप २८ मा कोरोना संक्रमण देखिएको छ। यससँगै जिल्लामा संक्रमितको संख्या ४४५ पुगेको छ। संक्रमितमध्ये ४७ जना निको भइसकेका छन् भने संक्रमितमध्ये जिल्लामै मृत्यु हुनेको संख्या ११ पुगेको छ। जिल्लाबाहिर दश जना संक्रमितको मृत्यु भएको हो। अहिले जिल्लामा ३८७ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

१८ पालिका रहेको रौतहटमा सबैभन्दा बढी सदरमुकाम गौर नगरपालिकामा ८८ जना संक्रमित छन् भने सबैभन्दा कम वृन्दावन नगरपालिकामा एक जना मात्र संक्रमित रहेका छन्।

प्रकाशित: २७ वैशाख २०७८ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App