६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

फुङ्लिङमा जेठ ३ सम्म बढ्यो निषेधाज्ञा

ताप्लेजुङको फुङ्लिङमा निषेधाज्ञाको अवधि जेठ ३ गते मध्यरातिसम्मलाई बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा जारी गर्दै जेठ २७ गते मध्यरातिबाट आउँदो जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार गत जेठ २० गते जारी भएको निषेधाज्ञा आदेश जेठ २७ गते मध्यरातमा सकिने भएकोले थप ७ दिनका लागि यसअधि निषेधाज्ञा जारी भएको क्षेत्र र प्रकृतिकै अधिनमा रही जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको अवधि बढाइएको छ।

निषेधाज्ञाको अवधिमा सार्वजनिक एवम् निजी सवारी साधन र टेम्पो समेतले सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भएको छ। बिवाह, ब्रतवन्धजस्ता कार्यमा सहभागी भइ अन्यत्र जिल्ला जानु÷फर्कनु पर्ने भएमा सवारी साधनमा बढीमा ४ जना सम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।

यसैबीच आइतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अवधिमा खाद्यान्न, तरकारीसहितका अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजे देखि ८ बजे सम्मको अवधि निर्धारण गरेको छ।

सो अवधिमा उपभोक्ता तथा बिक्रेताले स्वास्थ्य सुरक्षाका सबै मापदण्डअपनाएर खरिद बिक्री गर्न पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। बैठकले प्रत्येक स्थानीय तहलाइ कम्तिमा २–२ सय थान एन्टीजेन किट खरदि गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ।

जिल्ला अस्पताल ताप्लेजुङमा पीसीआर ल्याब सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचना निर्माणको प्रकृया थालिने र यस कार्यमा जिल्ला भरका सबै स्थानीय तहको सहयोग आवश्यक भएकोले सहयोग माग गर्ने निर्णयसमेत भएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए।

निषेधाज्ञा अवधिभर सदरमुकाम क्षेत्रमा रहेका बित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने र बैंकहरुको हकमा एक चौथाइ कर्मचारीको उपस्थितिमा मात्र सेवा सञ्चालन गर्न पाइने भएको छ। औषधि र स्वास्थ्य सामग्री बाहेकका पसल अन्य व्यवसाय निषेधाज्ञा अवधिभर बन्द गर्ने तथा शिक्षण संस्थासमेत अर्को सूचना जारी नभइञ्जेल सम्मका लागि सञ्चालन नगर्ने÷नगराउने निर्णय भएको प्रजिअ पाण्डेले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०७८ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App