७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

संक्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिकालाई शिल

कोभिड–१९ संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई शिल गरिएको छ। आइतबार बिहान हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छापडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीमा गरिएको एन्टीजेन परीक्षणका क्रममा ८ जनालाई कोरोना संक्रमण पुष्टी भएपछि नगरपालिकालाई सिल गरिएको हो। 

संक्रमित भेटिए लगत्तै अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिकाभित्रका भित्र पर्ने राजमार्ग तथा सडकमा आवत–जावत बन्द गरिएको छ। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि मध्यपहाडी लोकमार्ग अन्तरगत नगरपालिकाभित्र पर्ने जयरामदेखि बिजुलेसम्मको आसपासका बजार तथा पसल बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। मध्यपहाडी लोकमार्ग अन्तरगतका जयराम, कदुवा, च्यास्मीटार, बोझे, बडहरे, दुर्छिम, हलेसी, अखौैले र बिजुले बजार बन्द गरिएको हो।  

यस्तै, दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत सोही नगरपालिकाभित्र पर्ने रेग्मीटारदेखि राजापानीसम्मको खण्ड पनि बन्द गरिएको मेयर राईले बताए। औषधि, इन्धन जस्ता अत्यावश्यक सामग्री बोकेका बाहेक अन्य सवारी साधनको आवत–जावतमा पूर्णरुपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। भिडभाड भएर गरिने धार्मिक, साँस्कृतिक एवं राजनीतिक कार्यक्रममा पनि बन्देज लगाइएको छ।  

वडाध्यक्ष, सञ्चारकर्मी र कर्मचारी पनि संक्रमित  

दुर्छिम र हलेसीमा गरिएको एन्टीजेन परीक्षणका क्रममा जनप्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी र स्थानीयलाई कोरोना संक्रमण पुष्टी भएको छ। १२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ वर्षका वडाध्यक्ष, ३२ वर्षका वडा सदस्य, २८ वर्षीय सञ्चारकर्मी, २७ वर्षीय इन्जिनियर लगायतलाई कोरोना संक्रमण पुष्टी भएको हो। यस्तै, ५० वर्षका पुरुष, ४४ वर्षका पुरुष, ३८ वर्षका एक पुरुष र ४१ वर्षका एक महिलालाई कोरोना संक्रमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए। अहिले पनि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा संक्रमणको आशंका गरिएका र सामान्य लक्षण देखिएका व्यक्तीको एन्टीजेन परीक्षण भइरहेको छ। अखौैलेपछि हलेसी तुवाचुङ नगरपालिका–१२ राजापानीमा समेत एन्टीजेन परीक्षणको तयारी गरिएको नगरपालिकाले जनाएको छ।  

संक्रमणबाट बच्न मेयरको यस्तो सुझाव...

एन्टीजेन परीक्षण गरिएकामध्ये धेरैजसोमा कोरोना संक्रमण पुष्टी भएपछि हलेसी तुवाचुङ नगरपालिकाले ‘आफ्नो सुरक्षामा आफै सतर्क’ रहन आग्रह गरेको छ। कोरोनाको प्रभावकारी औषधि पत्ता लाग्न नसकेको अवस्थामा मेयर राईले ‘अरुसँग दुरी कायम’ गरेर महामारीबाट बच्न नगरबासीलाई सुझाव दिएका छन्। ‘यो महामारीमा आफै सुरक्षित रहनुभन्दा अर्को विकल्प देखिएको छैन। अहिलेसम्म मेडिकल साइन्सले भरपर्दो औषधि पत्ता लगाउन नसकेको अवस्थामा बाँच्ने उपाय भनेको सबैबाट आफै जोगिने हो,’ मेयर राईले भने, ‘सवैले महासंकटको सामना गरिहेका छौँ। यो संकटसँग जुधेर बाच्ने एउटै विकल्प भनेको सामाजिक कार्यमा संलग्न नभइ दुरी कायम गर्ने अनि आवश्यक स्वास्थ्य प्रोटोकलको पालना गर्नु नै हो। त्यो प्रोटोकल पालनाका लागि नगरवासीलाई मेरो विनम्र अनुरोध छ।’

प्रकाशित: २६ वैशाख २०७८ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App