१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सुदूरपश्चिममा कोराेना संक्रमणकाे अवस्था भयावहः १० दिनमा १ सय १६ को मृत्यु

सुदूरपश्चिममा कोराेना भाइरसकाे नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। सुदूरपश्चिममा संक्रमणले मृत्यु दर बढ्दै गएको छ। यहाँ कोराेना संक्रमणले पछिल्लो १० दिनमा १ सय १६ जनाको ज्यान गएको छ।  

स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख १६ गते १० जना, वैशाख १७ गते ८ जना, वैशाख १८ गते १० जना, वैशाख १९ गते १२ जना, वैशाख २० गते १४ जना, वैशाख २१  गते ८ जना, वैशाख २२ गते ११ जना, वैशाख २३ गते १७ जना, वैशाख २४ गते १३ जना र वैशाख २५ गते १५ जना गरेर १० दिनमै १ सय १८ जनाको ज्यान गएको छ। यस्तै सुदूरपश्चिममा ६ हजार ५ सय ७९ सक्रिय संक्रमित रहेका छन्।

कोरोनाको दोश्रो लहरको संक्रमणले वैशाखको दोश्रो सातादेखि मृत्यु हुने क्रम बढेको हो। गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको र २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको सुदूरपश्चिममा पहिलो लहरको कोराेनाले ५७ जनाको मात्र मृत्यु भएको स्वास्थ्य निर्देशनालायका हेमराज जोशीले बताएका छन्। वैशाखको ४ गते पहिलो र वैशाखको ९ गते दोश्रो संक्रमितको मृत्यु भएको सुदूरपश्चिममा वैशाख १५ गतेसम्म कोराेनाको संक्रमणले १५ जनाको मात्र मृत्यु भएकोमा वैशाख १६ गते यता संक्रमणले मृत्यु दर बढेको उनले बताए। सुदूरपश्चिममा सवैभन्दा बढी मृत्यु हुने र सक्रिय संक्रमित रहेको कैलाली जिल्ला हो।  

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमणले यहाँका सरकारी तथा निजी अस्पताल भरिभराउ भएका छन्। संक्रमितलाई बेड पाउन नै मुस्किल छ भने अस्पतालमा भर्ना भएका संक्रमित पनि अक्सिजन नपाएर ज्यान गुमाईरहेका छन्। अक्सिजनको अभावले हाहाकार मच्चिएकाे छ।

अस्पतालहरुमा श्वास फेर्न गाह्रो हुने, नियोमिनया हुने भएर अक्सिजनको सर्पोट चाहिने जटिल प्रकृती बिरामीको संख्या बढेको चिकित्सकले बताएका छन्। सुदूरपश्चिमका सेती प्रादेशिक अस्पतालमा संक्रमितको चाप अनुसार अक्सिजन नभएर अवस्था भयावह हुने खतरा बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.हेमराज पोण्डेयले बताए। खाली सिलिण्डर समेत अभाव भएकाले पोखरा, चितवन लगायत अन्यत्रबाट भरेर पनि ल्याउन सकिने अवस्था नभएर संक्रमितको चाप अनुसार अक्सिजन पूर्ती गर्न गाह्रो भएको उनी बताउँछन्। 

‘४ सय खाली सिलिण्डर मात्र भएमा पोखरा, चितवनबाट अक्सिजन ल्याएर अक्सिजनको अहिले उत्पन्न समस्या समाधान गर्न सकिन्थ्यो’, उनले भने। यसैगरि महाकाली प्रादेशिक अस्पतालमा पनि अक्सिजनको अभाव छ। सुदूरपश्चिमका पहाडी अक्सिजनको अझ बढी समस्या छ।  

प्रकाशित: २६ वैशाख २०७८ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App