६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सेती बाढीः नौ वर्ष अघिको त्यो कहालीलाग्दो क्षति

सेती नदीमा आएको बाढीले बगाएको सार्दीखोला बजार। फाइल तस्बिरः सन्तोष/नागरिक

गत माघ अन्तिम साता भारतको उत्तराखण्डको हिमाली क्षेत्रमा भीषण हिमपहिरो आयो। त्यही हिमपहिरोले बाढी निम्त्याउँदा ठूलो मानवीय र भौतिक क्षति भोग्नुपर्‍यो। भारतको त्यो हिमपहिरो र बाढी नेपालमा नौ वर्ष अघि सेती नदीमा आएको बेमौसमी बाढीको प्रकृतिसँग मिल्दो थियो।  

२०६९ वैशाख २३ गते सेती नदीमा आएको बेमौसमी भीषण बाढीले त्यो बेला ठूलो मानवीय क्षति पुर्‍याएको थियो। उक्त बाढीमा परि २८ जनाले तत्कालै ज्यान गुमाएको र ३० जना बेपत्ता भएका थिए। ती बाहेक खारपानीका ८ वटा घर त निसानै नरहने गरि बगेका थिए।

बेमौसमी बाढीमा परेर सार्दीखोलास्थित भुज्रुङखोलामा वनभोजको रमाईलो गर्दै तातोपानीमा डुबुल्की मार्न गएका विद्यार्थी, घुम्न गएका विदेशी पर्यटक, स्थानीयवासीदेखि किनमेलका लागि बजार झरेका गाउँले र व्यापार गर्न बसेका व्यापारी बगेका थिए। नदीमा ढुंगा, गिट्टी, बालुवा चाल्दै गरेका मजदुर पनि त्यसकै चपेटामा परेका थिए।

नौ वर्ष अघिको त्यो घटना पोखरेली नागरिक र भूगर्भविदका लागि ताजै रहेपनि अरुतिर भने बिर्सिइएको छ। किनभने अहिले कोरोना भाइरसको महामारी चलिरहँदा त्यो प्राकृतिक प्रकोप र त्यसले निम्त्याएको क्षतितर्फ कसैको ध्यान पुगेको छैन। तर, विज्ञहरु भने त्यो बेमौसमी बाढीलाई यत्तिकै भुल्न नहुने बताउँछन्। बेमौसमी त्यो बाढीपछि हिमाली क्षेत्रबाट उत्पत्ति भएर बगेका नदीनालामा कुनै पनि बेला हिमपहिरो आउनसक्ने र त्यसले क्षति पुर्‍याउन सक्ने भन्दै सचेतना अपनाउनुपर्ने विषय निकै नै चर्केको थियो। त्यसका लागि नदी क्षेत्रमा अग्रिम सूचना दिनेगरि प्रणाली राख्ने चर्चा पनि चलेकै हो। तर, ती सबै काम अहिले सबैतिर बिर्सिइएको विज्ञको भनाई छ।  

हिमाली क्षेत्रमा दुई दशक बढी समयदेखि अनुसन्धान गरिरहेका श्रीकमल द्विवेदी भन्छन्, ‘सेतीको त्यो बाढीको घटना धेरैले भुलेका छन्। गत माघमा भारतमा यस्तै बाढी आउँदा केही चाँसो बढेको थियो। तर, सबैको ध्यान केन्द्रित हुन सकेको छैन।’ द्विवेदीका अनुसार अन्नपुर्ण चौथो शिखरभन्दा डेढ किलोमिटर दक्षिण करिब ६ हजार ८ सय मिटरमा अवस्थित धारको ३२ हजार वर्ग मिटर चट्टान र बरफसहितको भाग झरेर सेतीमा त्यो बेला अकल्पनीय बाढी आएको थियो। हिउँको ठूलो खण्ड पग्लेर लेदो बनेको र पछि भेलबाढीको रुपमा विकसित हुँदा तल्लो क्षेत्रमा क्षति पुर्‍याएको उनले बताए।

‘यही प्रकृतिले बाढीले गत माघमा भारतमा पनि क्षति पुर्‍यायो। त्यसैले अब सचेत हुन जरुरी छ,’ उनले भने, ‘बस्तीको सिरान क्षेत्रमा हिउँको ठूलो खण्ड भएकोले त्यसको तल्लो तटीय क्षेत्रका बस्तीमा अग्रिम सूचना दिनेगरि प्रणाली विकसित गर्ने हो भने यस्ता घटना हुँदा क्षति कम गर्न सकिन्छ।’ आगामी दिनमा यस्तै घटना भएमा क्षति कति हुनसक्छ भनेर आँकलन गर्नुपर्ने उनले बताए। ‘यस्तो प्रकृतिको बाढी कहिले आउँछ भनेर थाहा छैन। तर, यस्ता सम्भावित घटनालाई भने बिर्सनु हुँदैन,’ द्विवेदीले भने।  

उनका अनुसार उच्च जोखिम भएको तल्लो तटीय क्षेत्रमा बस्ति विकास गर्न हुँदेन। जोखिम क्षेत्र पहिचान गर्नुपर्छ। ती क्षेत्रमा खेतीपाती गर्न सकिन्छ, तर, बस्ती नै बस्न नदिने हो भने यस्ता घटनाबाट मानवीय क्षति कम गर्न सकिन्छ। ‘यस्ता घटना प्राथमिकता त परेको छैन नै केहीलाई वास्ता पनि छैन,’ उनले भने। सेतीमा जस्तै बाढी २००३ मा मादी नदीमा पनि आएको थियो। कालिगण्डकी, मादी, मस्र्याङदीका जलाधार क्षेत्रमा यस्तो जोखिम रहेको उनले बताए।

‘अहिले त अध्ययन पनि हुन छाड्यो, यो बारेमा चाँसो नै छैन। जलवायु परिवर्तनले सिरान क्षेत्रमा जमेर बसेको हिउँ पग्लिने क्रम बढेको छ। अहिले त्यसले समस्या ल्याउने जोखिम  निकै नै नजिक छ,’ उनले भने, ‘तर यसलाई प्राथमिकतामा पारिएको छैन। घट्ना घट्यो, उद्वार गर्‍यो, अनि बिर्सियो।’  

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयका सचिव डा. महेश्वर ढकालका अनुसार गतवर्ष इसिमोड र यूएनडिपीले नेपालभरका हिमतालको अध्ययन गरेका थिए। उनका अनुसार गण्डकी प्रदेशमा यस्ता जोखिमपूर्ण आठवटा ताल रहेका छन्। ‘हामीले अध्ययन भएका ती ताल विस्फोट भएमा हुने क्षति कत्तिको हो भने विश्लेषण गरेका छैनौ। तर, सम्भावित क्षतिको आँकलनको आधारमा तल्लो क्षेत्रमा अग्रिम सूचना दिने प्रणालि विकास गर्नुपर्छ,’ ढकालले भने, ‘वर्षायाममा समेत बाढी आउँदा नदी किनारका बस्तीलाई जोखिम पुग्ने हुुँदा ती क्षेत्रमा पनि अग्रिम सूचना दिने प्रणालि विकास गर्नुपर्छ। माथिल्लो क्षेत्रमा भएको घटनाले तल्लो तटमा क्षति गर्न सक्छ। यस्ता घटना बिर्सन दिनु हुँदैन।’  

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल पनि ठूलो मानवीय क्षति पुगेको सेती बाढीलाई कहिल्यै बिर्सन नहुने बताउँछन्। ‘ठूलो मानवीय क्षति भएको त्यो घटनाबारे  चाँसो लिइएन। तर यसलाई बिर्सनु हुँदैन,’ पोखरेल भन्छन्, ‘भारतको उत्तराखण्डमा यस्तै प्रकृतिको घटना भएकोले हामी पनि सचेत हुनुपर्छ।’ कमजोर भूवनोट र जलवायु परिवर्तनको असरको हिस्सेदारका कारण यस्ता घटना निम्तिएको उनले बताए। ‘यस्ता जोखिमको आँकलन गर्न जरुरी छ। पहिले नै जोखिम पहिचान गर्न सकियो भने क्षति कम हुनसक्छ,’ पोखरेले भने, ‘अहिलेसम्म ठूला ताल मात्र जोखिम निम्त्याउने कारक हुन् भनेका छौ। सबैको ध्यान तालमा पुगेको छ। तर, भारतको यो घटनाले हिमाली क्षेत्रमा ध्यान दिनुपर्ने गरि ब्यूँताएको छ।’  

प्राधिकरणले अरु सहयोगी संस्थासँग मिलेर जोखिम पहिचान गर्ने काम सुरु गरेको उनले बताए। ‘उच्च जोखिममा रहेका क्षेत्र पहिचान गरेर अघि बढ्नुपर्छ। माथिल्लो तटमा समस्या छ भन्ने थाहा छ,’ उनले भने, ‘त्यसैले तल्लो तटमा अग्रिम सूचना दिने प्रणालि पनि राख्नुपर्छ। धेरैतिर राखिएको पनि छ।’ फेरि यस्तै घटना घटेमा के कति क्षति हुन सक्छ भनेर अध्ययन गर्न ढिलाइ गर्न नहुने उनले बताए।

प्रकाशित: २३ वैशाख २०७८ १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App