५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भैरहवा मेडिकल कलेजमा पनि अक्सिजन छैन

कोभिड–१९ का बिरामीको उपचार गराईरहेको भैरहवा मेडिकल कलेजमा अक्सिजन अभाव भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) भैरहवाले बिरामीको चाँप बढेसंगै अक्सिजन व्यवस्थापनमा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कलेजले विज्ञप्ती जारी गर्दै अक्सिजनको सहज आपूर्तिका लागि सरकारलाइ आग्रह गरेको छ ।  

सामान्य अवस्थामा दैनिक १ सय २५ सिलिन्डर अक्सिजन खपत भइरहेकोमा हाल कोभिड र नन कोभिड दुवै बिरामीका लागि दैनिक ५ सय सिलिण्डर खपत भइरहेको अस्पतालले जनाएको छ । त्यससगै कोरोना संक्रमितको संख्या बढेसंगै अस्पतालले थप ६० बेडको एचडियु बेड थप गरेको र अन्य बिरामीको सख्या समेत बढिरहेकाले अक्सिजनको खपत पनि बढेको विज्ञप्तीमा जनाइएको छ ।

अक्सिजनको अभावका कारण भएका एचडियु बेडमा कोभिडका बिरामीलाइ भर्ना लिन नसकेको भन्दै कलेजले दैनिक ८ सय सिलिण्डर अक्सिजन आपूर्तिका लागि सहयोग र समन्वय  गरिदिन तीनतहकै सरकार र प्रशासनसँग अपिल गरेको हो । तत्कालै अक्सिजन आपूर्तिको व्यवस्थापन नभए थप बिरामी भर्ना लिन नसक्ने अवस्था आउने भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।  

पछिल्लो समय अस्पतालले कोभिड १९ का बिरामीलाइ लक्षित गरेर १ सय बेड आइसीयु र एचडियुु  संचालन गरेको छ । उनका अनुसार ती बेडमा उपचारत बिरामीका लागि अक्सिजन अत्यावश्यक भइरहेको छ । त्यस बाहेक अस्पतालमा अन्य गम्भिर प्रकृतिका बिरामीहरुको समेत चाँप उत्तिकै भएकाले अक्सिजनको खपत बढेको गुरुङले बताए । पछिल्लो समय अनपेक्षित रुपमा भइरहेको लोडसेडिङ र निषेधाज्ञाका कारण अक्सिजन उत्पादनमा कमि आएको भन्ने अक्सिजन उत्पादक कम्पनीहरुबाट जानकारी आएकाले त्यता तर्फ पनि ध्यान दिन सरकारलाइ आग्रह गरिएको छ । 

प्रकाशित: २३ वैशाख २०७८ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App