२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध तस्करीको प्रमुख र्‍याकेटर २१ वर्षमा पक्राउ

लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय नेपाली गिरोहका मुख्य अभियुक्त ‘काइँली’ भनिने गोपी तामाङलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई काठमाडौंको कपनबाट उनलाई पक्राउ गरेको हो।  

पाकिस्तानबाट लागुऔषधको अन्र्तराष्ट्रिय र्‍याकेट सञ्चालन गर्ने गोपी एकाध वर्षअघि नै नेपाल आएको खुलेको छ। तान्जिनियाका नागरिकसँग बिहे गरेर पाकिस्तान बस्दै आएकी उनलाई ब्युरोको टोलीले वैशाख २ गते नै पक्राउ गरेको थियो। लागुऔषधको अन्तराष्ट्रिय र्‍याकेट सञ्चालन गरेको आरोपमा नेपाल प्रहरीले विगत २१ वर्षदेखि खोज्दै आएको थियो। इन्टरपोलमा गोपी तामाङको नाममा रेड नोटिस जारी गरेको नेपाल प्रहरीले उनलाई फेला पार्ने बेलासम्म परिचय मात्रै बदलेकी थिइन् उनले नागरिकता नै देवीमाया तामाङको नाममा बनाइसकेपछि उनलाई फेला पार्न हम्मे परेको थियो। धादिङ सत्यदेवी–२ की ५९ वर्षीय गोपीलाई लागुऔषध तस्करीको बजारमा ‘काइँली’, ‘माया’, ‘फूलमाया’, ‘देवीमाया’ले चिन्ने गरिन्थ्यो।

पछिल्लोपटक उनले आफ्नो नागरिकता नै देवीमाया बनाइसकेकी थिइन्। सन १९९९ देखिनै लागुऔषध तस्करीमा लागेकी गोपी तामाङलाई ब्युरोको टोलीले कपनस्थित सामान्य डेरामा बस्दै आएकी थिइन्। ‘सामान्य अवस्थामै फेला पारेका थियौं, सायद तान्जिनियन नागरिकसँग छोडपत्र गरेर आएकी हुनुपर्छ उनी एक वर्ष भन्दाअघि नेपाल आएको हामीले आशंका गरेका छौं,’ ब्युरोका प्रवक्ता एसपी ऋषिराम कँडेलले भने। ब्युरोका अनुसार ०६५ चैत ३० र २०६९ भदौ ४ गतेको लागुऔषध मुद्दाकी उनी फरार अभियुक्त हुन्। अहिले उनलाई पुरोनो मुद्दामा सजायका लागि जेल चलान गरिएको छ। ‘लामो समयदेखि ‘काइँली’ गिरोहले नेपाल हुँदै लागुऔषध तस्करीको अन्तराष्ट्रिय र्‍याकेट चलाउँदै आएको थियो उनी प्रहरीको खोजी सुचीमा थिइन नेपाल आएको खुलेपछि पक्राउ गर्न सफल भयौं,’ प्रवक्ता कँडेलले भने।  

मुसा नाम गरेका तान्जानियन नागरिकसँग विवाह गरेकी उनले नेपाल छाडेकै २० वर्षभन्दा बढी समय भएको थियो। नेपाल छाडेर पाकिस्तानको लाहोरमा बसेकी गोपीले नेपाल, भारत, थाइल्याण्ड, इन्डोनेसियामा आफ्नो सञ्जाल चलाउँथिन्। प्रहरी काइँली भनेर खोजी गरिरहँदा २०६५ सालमा उनको वास्तविक परिचय गोपी भन्ने खुलेको थियो। प्रहरीले आफ्नो वास्तविक नामको नागरिकता बरामद गरेको थाह पाएपछि उनले आफूलाई देवीमाया, कालीमाया, माया, फूलमाया जस्ता नाममा चिनाउन थालेकी थिइन्। थाइल्यान्ड, सिंगापुर, इन्डोनेसियामा पक्राउ पर्ने नेपालीले प्रायः उनको नाम लिने गरेको भएपनि उनी पक्राउ परेकी थिइनन्।

गत महिना दुई महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई गएकी धादिङ खनियाबास–१ की ४९ वर्षीया दावा लामा तामाङ प्रहरीले सूक्ष्म निगरानीमा राखेको भए पनि उनकै माध्यमबाट गोपी पक्राउ पर्छिन भन्ने सोचेका थिएनन। जब दावा लामा नेपाल आइन् त्यसपछि उनलाई प्रहरीले पक्राउ ग¥यो। पक्राउ परेपछि उनको मोबाइलबाट होनिमाया तामाङ नाममा रहेको नम्बरमा धेरैपटक सम्पर्क भएको देखिएपछि मोटी दिदी खोज्दा उनी फेला परेकी हुन्। गोपी तामांगको अनुसन्धानमा संलग्न रहेका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार दुबईमा केही दिन बसेकी उनको नेपालमा लगातार फोन सम्पर्क भएको देखिएको थियो।

दुबईबाटै दावा त्यसलगत्तै उनी पाकिस्तान गएको देखियो र केही दिन पाकिस्तानमै बसेकी थिइन्। प्रहरी निरीक्षक निरौलाका अनुसार उनी फेरि दुबई गइन् र दुबईबाट उनी सिधै नेपाल आएकी थिइन्। नेपाल आएपछि शंकास्पद गतिविधिमा देखिएकी उनलाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउपछि उनको पेटबाट ९३ वटा लागुऔषधले भरिएका क्याप्सुल दिशा गराएर निकालियो। त्यसमा ९ सय ग्राम बराबरको खैरो हिरोइन भेटिएको थियो। हाल यसको मूल्य बजार करिब एक करोड रहेको प्रहरीको दाबी छ।  

२०६५ सालमै काइली नेपाल आएको हल्ला चलेपछि प्रहरीले उनको बालाजुस्थित घरमा छापा मारेको थियो तर त्यतिबेला उनलाई फेला पार्न सकेन। उनलाई फेला नपारे पनि उनको समूहको दावा लामा, नरेश तामाङ, डोलकुमारी तामाङ, अनिता गुरुङ, मुङसाङ तामाङ, तिलमाया तामाङ सहित तीन जना तान्जानियन नागरिक पक्राउ परेका गरेको थियो। त्यो बेला एक सय ५४ ग्राम सेतो हेरोइन फेला परेको गोपीविरुद्ध अभियोगसहित अदालतमा मुद्दा चलाइएको थियो। काठमाडौँ जिल्ला अदालतले दुईजनाको मुद्दा मुल्तबीमा राख्दै अन्यलाई ५ वर्ष कैद र १० हजार जरिबाना गरेको थियो। हाल गोपी मुद्दा हेरिरहेका प्रहरी निरीक्षक निरौलाका अनुसार २०६५ देखि २०६७ सम्ममा ब्युरोले गोपी समूहको ४ समूह पक्राउ गरेको थियो। २०६९ भदौ ५ मा सामाखुसीबाट १ सय १२ ग्राम सेतो हेराइनसहित बुद्धिकुमार गुरुङ पक्राउ परेका थिए। हाल उनी जेलमै रहेका छन्। उनलाई अदालतले १७ वर्षको जेल सजाय तोकेको छ। गुरुङलाई पाकिस्तान बोलाउने र हेरोइन क्याप्सुल निलेर नेपाल पठाउने काम पनि गोपीले नै गरेकी थिइन्।

प्रकाशित: २० वैशाख २०७८ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App