१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिकित्सक भन्छन्ः बिरामी बेलैमा आए भुइँमा राखेर भएपनि उपचार गर्छाै

ढिला गरि अस्पताल आउँदा ज्यान जान्छ

कोरोना संंक्रमितको उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बनाइएको आइसोलेसन वार्ड । तस्बिरः उमेश पुन/नागरिक

पोखरा महानगरपालिका–१९ का ५४ वर्षिय पुरुषको शनिबार बेलुकी साढे ७ बजे यहाँको गण्डकी मेडिकल कलेजमा ज्यान गयो । शनिबार मात्रै ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएकै दिन ती पुरुषको ज्यान गएको हो ।

उनी मात्र नभई पोखरामा पछिल्लो दुईदिनमा कोरोनाका आठजनाको संक्रमितको मृत्यु भयो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तीमध्ये सातजना संक्रमित पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा थिए । एकजना संक्रमितले भने होम आइसोलेसनमा ज्यान गुमाएका छन् । मृत्यु हुनेमा चारजना पुरुष र चारमहिला रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ । 

निर्देशनालयका अनुसार ज्यान गुमाएका अरु व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको अवधि खासै धेरै छैन । तर, उनीहरुले ज्यान भने कोरोनाकै कारण गएको छ । चिकित्सकहरुका अनुसार बिरामीहरु सकेसम्म अस्पताल जानै नपरे हुन्थ्यो भन्ने चाहन्छन् । अस्पतालसम्म पुग्न ढिलाई गर्दै घरमै बसेर आफुखुसी औषधि खाईरहेका हुन्छन् । अन्तिम अवस्था आइपरेपछि मात्र बल्ल अस्ताल पुग्ने चलन छ । अन्तिम अवस्थामा अस्पताल पुग्दा बिरामीलाई बचाउन कठिन हुने गरेको चिकित्कसकको भनाई छ ।

शारिरिक अवस्था कमजोर भएर अस्पताल पुगेका कतिपय व्यक्तिमा त कोरोना नै पुष्टि भएको हुँदैन, तर, अवस्था भने नाजुक भईसकेको हुन्छ । कठिन अवस्थामा अस्पताल पुगेका बिरामीलाई बचाउन धौधौ हुने गरेको चिकित्सक बताउँछन । ‘जति बिरामीले ज्यान गुमाएका छन्, उनीहरुमध्ये अधिकांश बेलैमा अस्पताल नआएर हो,’ फिजिसियन डा. सरोज पोखरेलले भने, ‘बिरामीले कोरोनालाई सामान्य रुघाखोकी भनेर घरमै बस्दा कडाखालको निमोनिया बनाउने गरेको छ । जसका कारण ज्यान जाने गरेको छ ।’ पोखरेलका अनुसार रुघाखोकी भनेर लामो समयदेखि घरमै बसेका बिरामीलाई निमोनियाले गलाईसक्दा बल्ल अस्पताल आउने गरेका छन् । त्यसले गर्दा ती बिरामीलाई बचाउन कठिन हुने गरेको उनले बताए ।  

‘अस्पताल आएका बिरामीलाई हामीले बचाउनका लागि केही न केही उपाय लगाउँछौ,’ पोखरेलले भने, ‘तर अस्पताल नै नआएपछि हाम्रो पनि केही लाग्दैन । स्वास्थ्यमा समस्या आउनासाथ चिकित्सकको परामर्श लिने हो भने खासै समस्या हुँदैन ।’ घरमा बसेका बिरामी अन्तिम अवस्था भएसम्म अस्पताल नआउँदा मृत्युदर बढेको उनले बताए । ‘अलिकति समस्या भयो भने पनि घरमै बस्दा निको होला भनेर अस्पताल आउँदैनन, त्यसले गर्दा पनि समस्या भएको हो,’ उनले भने ।  रुघाखोकी भनेर घरमै बस्दा पनि बढी समस्या निम्तिने गरेको पोखरेलले बताए ।

गण्डकी मेडिकल कलेज (सिजएमसी) की मेडिकल सुपरिन्टेन्डेन्ट डा टुमाया घले पनि अन्तिम अवस्थामा अस्पताल आउँदा बिरामीले ज्यान फाल्ने गरेको बताउँछिन् । ‘अस्पताल आएको एक–डेढघण्टामै बिरामीको ज्यान जाने गरेको छ । यो हुनुमा अस्पताल आउनको ढिलाईले हो,’ घलेले भनिन, ‘बेलैमा अस्पताल आउने हो भने बचाउन सकिन्छ । तर, सिकिस्त भईसकेका बिरामीका सामु चिकित्सकको पनि केही लाग्दैन ।’ शरिरमा अप्ठेरो हुनासाथ अस्पताल आउने हो भने बचाउन कुनै कठिनाई नभएको उनले बताईन ।  

घलेका अनुसार कोरोनाका संक्रमित बिरामी पछिल्लो समय अन्तिम अवस्थामा मात्र अस्पताल आउँछन् । अस्पताल आइसक्दा उनीहरुको अक्सिजन लेभल निकै घटेको हुन्छ भने उनीहरुमा कडा निमोनिया देखिइसकेको हुन्छ । ‘बिरामीको ८० प्रतिशत फोक्सोले त कामै गर्न छाडेको हुन्छ । त्यो अवस्थामा मात्र बिरामी बल्ल अस्पताल आउँछन,’ घलेले भनिन, ‘बेलैमा आउने हो भने बचाउन खासै गाह्रो हुँदैन ।’ उनका अनुसार हतारमा अस्पताल आउने बिरामीमध्ये अधिकांश निमोनियाले ग्रस्त भएका हुन्छन् ।  

संक्रमण पुष्टि भएपनि अधिकांश बिरामी घरैमा बस्दा समस्या भएको उनले बताईन । ‘घरमै बसेका सबैलाई अक्सिजनको तह मापनको यकिन तरिका पनि थाहा हुँदैन । जथाभावि मापन गर्दा रिजल्ट गलत पनि आउनसक्छ,’ घलेले भनिन, ‘त्यसले झुक्याउन पनि सक्छ । त्यही भएर बैलैमा अस्पताल आउनुपर्छ भन्ने हो ।’ ‘होम आइसोलेसनमा बस्दा फरक पर्दैन । तर, स्वास्थ्यमा केही जटिलता देखियो भने तुरुन्तै अस्पताल आउनुपर्छ । हामीले बेड नपुगे भुँइमा बिछ्यौना बिछयाएर भएपनि उपचार गर्छाै,’ घलेले भनिन, ‘स्वास्थ्यमा अप्ठेरो हुनासाथ अस्पताल आउँदा ज्यान जोगिन्छ । हामी पनि बिरामी बचाउन केही न केही उपाय त अपनाउँछौ नै । घरमै बसेर निको हुँदैन ।’ उनका अनुसार जिएमसीमा ज्यान गुमाएका अधिकांश संक्रमित अन्तिम अवस्थामा मात्र अस्पताल आएका थिए ।  

गण्डकी प्रदेशका स्वास्थ्य  निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार पछिल्लो दुईदिनमा ज्यान गुमाउनेमध्येमा पोखरा महानगरपालिका–१६ का ७७ वर्षिय पुरुष हुन् । उनको शनिबार दिउँसो होम आइसोलेसनमै मृत्यु भएको छ । उनमा गत विहीबार मात्र कोरोना पुष्टि भएको थियो । पोखरा–२६ की ५८ वर्षिया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । त्यस्तै पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षिया महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको थियो । त्यस्तै दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षिय पुरुषको पनि गण्डकी मेडिकल कलेजमै मृत्यु भएको थियो ।  पोखरा–१६ का ७३ वर्षिया महिलाको मेडिप्लस अस्पतालमा मृत्यु भएको निर्देशनालयले बताएको छ ।  

पोखरा–१० की महिलाको पनि मेडिप्लस अस्पतालमै मृत्यु भएको थियो । पोखरा–१९ का ५४ वर्षिय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्य भएको निर्देशनालयको भनाई छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का७५ वर्षिय पुरुषको आइतबार बिहान साढे १० बजे मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।  

गण्डकी प्रदेशमा अहिलेसम्म २३१ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले बताएको छ । प्रदेशमा अहिले सबैभन्दा बढी संक्रमित कास्कीमा छन् । कास्कीमा मात्र ११ सय बढी संक्रमित रहेको निर्देशनालयले बताएको छ । प्रदेशका ११ मध्ये दुईवटा हिमाली जिल्ला मनाङ र मुस्ताङमा मात्र अहिले संक्रमित शुन्य छन् । अरु सबै जिल्लामा संक्रमित बढिरहेका छन् । 

प्रकाशित: १९ वैशाख २०७८ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App