दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जान थालेपछि स्थानीय प्रशासनले एक सातादेखि सुर्खेतमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा खटिएका छन् । फ्रन्टलाइनरनै संक्रमित हुन थालेपछि थप संकट आइलागेको छ । सुरक्षाकर्मीहरु दैनिक १४ देखि १६ घण्टासम्म सीमादेखि शहरमा चोकचोकमा ड्युटीमा खटिन्छन् । उनीहरुका लागि सुरक्षाका सामान्य साधन पनि पाउन मुस्किल छ ।
फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोवल बढाइराख्न सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवीलाल रिजाल आफै नाकादेखि सडकमा खटिन्छन् । फ्रन्टलाइनमा खटिएकाहरुका गुनासा सुन्छन् । समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गर्छन् । सुरक्षाका सामाग्रीहरु बाँड्छन् ।
‘कर्तव्य निर्वाहकै क्रममा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरु संक्रमित हुनेक्रम बढेको छ, अहिलेकै अवस्था रहे आधारभूत शान्ति सुरक्षा दिन पनि मुस्किल हुन्छ,’ प्रजिअ रिजालले भने, ‘सुरक्षाकर्मीको मनोवल उच्च बनाइराख्न र उनीहरुका समस्या र गुनासा सुन्न नाकादेखि शहरमा चोकचोक पुगेर भेट्ने गरेको छु ।’ ड्युटीमा रहेका सुरक्षाकर्मीलाई माक्स, स्यानिटाइजर, ग्लोब्स, साबुन वितरण गर्छन् । सुरक्षाका आधारभूत कुराहरुको पालना गर्न सिकाउँछन् । ड्युटी स्थान नजिकैका घरधनीसँग शौचालय, पानीलगायतको व्यवस्था गरिदिन आग्रह गर्छन् ।
सुर्खेतमा नेपाल प्रहरीको पाँच सयको हाराहारीमा जनशक्ति छ । निषेधाज्ञाका कारण थप ड्युटी खटाउनुपर्ने भएकाले एक जना सुरक्षाकर्मीले दिनमा दुई पटक गरेर १४ देखि १६ घण्टासम्म ड्युटी गर्नुपर्छ । ड्युटीमा खटिएका सुरक्षाकर्मीले खाजा र पानी पाउँदैनन् । ‘निषेधाज्ञा पालना गराउन चर्को गर्मीमा सडकमा खटिएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक छ,’ प्रजिअ रिजालले भने ।
उनले कर्णाली प्रदेश गर्ने मुख्य नाका बबईमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी थप्नुपर्ने आवश्यकता देखिएको बताए । ‘एक जना स्वास्थ्यकर्मी र १० जना सुरक्षाकर्मीले पूरै नाका धान्नुपर्ने अवस्था छ,’ बबई पुगेर फर्केपछि प्रजिअ रिजालले भने, ‘भारतलगायत अन्य प्रदेशबाट आउने नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्ने र संकास्पद विरामीहरुलाई त्यहीँबाट अस्पतालसम्म पु¥याउने व्यवस्था मिलाउनका लागि सरोकारवाला निकायहरुसँग समन्वय गरिरहेको छु ।’
उनले प्रहरी र स्वास्थ्यकर्मीहरुलाई आफू पनि सुरक्षित भएर काम गर्न सुझाव दिए । ‘ महामारीमा सबै बाँच्नुपर्छ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गर्नुहोला,’ उनले भने, ‘केही समस्या परेमा खबर गर्नुहोला, हामी आवश्यक समन्वय र सहयोग गछौं ।’
प्रजिअ रिजालले पूर्वी सुर्खेतमा भेरीगंगा र गुर्भाकोट नगरपालिकामा कोभिड अस्पताल र आईसोलेशन वार्ड तत्काल सञ्चालनमा ल्याउन जनप्रतिनिधिलाई आग्रह गरे । ‘नाकाबाट भित्रिने संकास्पद विरामीहरुलाई भेरीगंगा र गुर्भाकोटमै राख्न सकेको खण्डमा प्रदेश अस्पतालमा विरामीहरुको चाप पनि कम हुन्छ, यसले उपचारमा पनि सहजता आउँछ,’ उनले भने, ‘प्रशासनकातर्फबाट मैले गर्नु, तपाईहरु कोभिड अस्पताल र आइसोलेसन वार्ड सञ्चालनमा लाग्नुहोस् ।’
प्रकाशित: १८ वैशाख २०७८ ०८:०३ शनिबार