२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

निर्मला पन्त प्रकरण: अर्याल प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग सोधपुछ

६ वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टा खामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनासँग सम्बन्धित विषयमा अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अर्याललाई नियन्त्रणमा लिएको हो । 

केही दिन अघि अर्यालले प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिँदै अर्यालले निर्मलाको घटनाको प्रत्यक्षदर्शी रहेको बताएका थिए । सरकारले सुरक्षा दिए आफू दोषीको नाम भन्नसक्ने बयान दिएका थिए । 

त्यसपछि सिआइबीले मंगलबार उनलाई सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो । बुधवार सिआइबीले उनलाई फेरी नियन्त्रणमा लिएको छ । अर्यालसँगै उनी पत्नीलाई समेत नियन्त्रणमा लिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) होबिन्द्र बोगटीले जानकारी दिए । अर्यालसँगै पत्रकार धमलालाई पनि सिआइबीमा बोलाएर सोधपुछ भइरहेको उनले बताए । 

अर्यालले टेलिभिजन अन्तर्वार्तामा बताएको कुरा अनर्गल र झुटा रहेको सिआइबीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) दीपक थापाले बताए । ‘अर्यालले बोलेका सबै कुरा भ्रम हुन् । त्यसमा कतै सत्यता देखिँदैन,’ उनले भने । 

निर्मला हत्याकाण्ड नेपाल प्रहरीका लागि निकै ठुलो धब्बा रहेको पनि एआइजी थापाले बताए । ‘यो निकै तितो घटना हो । यसमा हाम्रा १६५ अनुसन्धान टोलीले अहिलेसम्म कुनै विषय सुल्झाउन सकिएको छैन । अहिले १६६ औंले काम गरिरहेको छ,’ उनले भने, ‘यस्तोमा सबैलाई जिस्काउने गरी अनर्गल प्रचार गर्न त पाइएन नि ।’ 

प्रकाशित: २८ कार्तिक २०८१ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App