प्रहरीले उदयपुरको बेलकाबाट अवैध काठसहित बोलेरो जीप नियन्त्रणमा लिएको छ । सुनसरीको सीमास्थल बेलका नगरपालिका ८ चतारा कोठुस्थित चेकपोष्टले जाँच गर्दा बेलका मुकाम रामपुरतर्फ ल्याउँदै गरेको अवैध काठसहित मे १ ज १५२८ नं. को बोलेरो बिहीबार राति प्रहरी चौकी कोठुले नियन्त्रणमा लिएको हो ।
नियमित चेकजाँचको क्रममा प्रहरीले बोलेरोमा ५५ क्युविक फिट परिमाणको १ सय ७० थान करम जातको चिरान काठ फेला पारेको छ । काठ र बोलेरो दुवै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार उक्त काठ बेलका ३ का सोमबहादुर तामाङले ल्याउँदै गरेको खुलेको छ ।
बरामद काठ र बोलेरो इप्रका रामपुर ठोक्शीलामा ल्याई आवश्यक अनुसन्धानपछि थप कारबाहीका लागि रामपुरस्थित सबडिभिजन वन कार्यालय रामपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित: १७ वैशाख २०७८ १३:५५ शुक्रबार