२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

बढ्दो कोरोना संक्रमणः सर्वसाधारणको लापरबाही, स्थानीय तहको उदासिनता

बैतडीमा कोरोना संक्रमण बढ्दै गएको छ । दिनहुँ संक्रमितको संख्या बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना भएको छैन।

स्वास्थ्य मापदण्डको पालना नहुँदा जिल्लामा संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। राजनीतिक दलका कार्यक्रम, विवाह, मेलापर्व तथा विभिन्न धार्मिक कार्य निर्वाध भइरहेका छन्। जनस्तरबाटै भइरहेको लापरबाहीले गाउँगाउँमा संक्रमणको जोखिम बढेको छ।

स्वास्थ्य मापदण्ड नअपनाई सबैतिर लापरबाही गरिँदा गाउँगाउँमा कोरोना संक्रमणको जोखिम बढेको हो । जिल्लाका बजार क्षेत्र सवारी साधनमा चाप उस्तै छ, भिडभाड हुने ठाउँमा समान्य स्वास्थ्य सतर्कता नअपनाउँदा जोखिम बढ्दै गएको छ । मास्क र सेनिटाइजरको प्रयोग तथा हात धुने क्रम पनि न्यून छ।

कोरोना रोकथाममा स्थानीय तह पनि उदासिन देखिएका छन्। जिल्लाकै सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा मात्रै ८० जना संक्रमित छन्। तर स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालन गरिएको छैन।

स्थानीय तहमात्र हैन, जिल्लास्थित कार्यालय र प्रदेश सरकारले पनि जिल्लामा निर्वाध कार्यक्रम गर्दै आएका छन्। सरकारले  संक्रमण नियन्त्रण तथा रोकथामको लागि २५ जनाभन्दा बढी एकै स्थानमा भेला हुन प्रतिबन्ध लगाएको छ।

त्यसविपरित जिल्लामा बैठक, कार्यक्रम हुने गरेका छन्।

यस्ता कार्यक्रममा स्वास्थ्य मापदण्ड पनि पालन हुन सकेको छैन। बिहीबारमात्रै गोठालापानीमा प्रदेश पूर्व मन्त्री एवम् अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य दिर्घ सोडारी, प्रदेश सांसद लगायतको उपस्थितिमा पूर्व बजेट सुझाव कार्यक्रम सम्पन्न भयो सो कार्यक्रममा करिब ४० जना सहभागी थिए।यस्तै शाहीलेकको वीरेन्द्र माविमा जिल्ला जनगणना कार्यालयले जनगणना सुपरिवेक्षकको लागि एक हप्ते तालिम सुरु गरेको छ जसमा ९० जनाभन्दा बढी सहभागी छन्।भिडभाड नगर्ने सरकारी उर्दी नै सरकारी निकायबाट उलङ्घन गरिएको छ। विवाह, मेला र पर्व मनाउने शैली उही रहेको पाटन नगरपालिका–६ का स्थानीय बशन्त बिष्टले बताए। ग्रामीण भेगमा संक्रमण फैलिए नियन्त्रण गर्न कठिनाइ हुने उनको भनाइ छ।

स्थानीय तहहरूले भने सावधानी अपनाइरहेको दाबी गरिरहेका छन् । ‘विवाहलगायत धार्मिक र सामाजिक कार्यमा भीडभाड नगर्न, सामाजिक दूरी कायम गर्न, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न माइकिङ गरिरहेका छौं,’ मेलौली नगरपालिकाका नगरप्रमुख कृष्णसिंह नायकले भने, ‘जोखिम रोक्न संक्रमित क्षेत्र सिल लगायत अन्य पूर्वतयारी पनि तीव्र पारिएको छ ।’

संक्रमित व्यक्ति पनि जथाभावी हिँडिरहेका छन्। कोरोना पोजेटिभ देखिएकालाई घरमै होम क्वारेन्टिनमा बस्न आग्रह गरिए पनि के कसरी बसेका छन् यसबारे सरोकारवाला निकायले चासो दिएको छैन। दैनिकरूपमा कोरोना संक्रमितको संख्या बढिरहेको भए पनि  सुरक्षाको मापदण्ड पालना गरिएको छैन। भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिनसमेत निर्माण गरेका छैनन्। क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधैँ गाउँ जाने तथा समुदायमा घुलमिल हुने गरेका कारण कोरोना संक्रमणदर फैलिँदै गएको स्थानीय बताउँछन्।

दैनिकजसो छिमेकी मुलुक भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयबासी जिल्ला भित्रने क्रम बढिरहेको भए पनि जिल्ला बाहिरबाट आउने व्यक्तिको तथ्यांक लिने, व्यवस्थापन गर्नेलगायत कामको सुरुवातसमेत गरिएको छैन। जिल्ला बाहिर तथा विदेशी मुलुकबाट कति जना आए सो विषयमा अहिलेसम्म कसैले पनि रेकर्ड राखेका छैनन्, उनीहरूको अवस्था के छ, कहाँ बसेका छन् रेकर्ड नहुँदा झनै गारो भएको छ।

केही स्थानीय तहले भारतबाट घर फर्किएकालाई अनिर्वाय होम क्वारेन्टिनमा बस्न आग्रह गरेको भए पनि भारतबाट आएकाहरू गाउँगाउँमा डुल्ने गरेका कारण यहाँका गाउँघरमा कोरोनाको बढी जोखिम रहेको दशरथचन्द नगरपालिका–९ की पशुपती जोशीले बताइन्।

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना संक्रमण रोकथाम तथा उपचारका नाममा बैतडी जिल्लाका १० वटै स्थानीय तहहरूले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्म पाँच महिनाको अवधिमा करिब साढे ११ करोड खर्च गरेका थिए ।

तत्कालीन समयमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेसनलगायत विषयमा रकम खर्च गरेको बताइएको थियो । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गत वर्ष निर्माण गरिएका कुनै पनि संरचना यस वर्ष देखिएका छैनन्।

संक्रमण बढ्यो, उपचार छैन

बैतडीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। कोरोना संक्रमितको संख्या १ सय ५५ जना पुगेको छ। जिल्ला अस्पतालमा कोरोनाको जटिल बिरामी आए रेफर गर्नबाहेक अन्य विकल्प छैन।

आवश्यक जनशक्ति नहुँदा जिल्ला अस्पतालमा भएको भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन।आइसीयु सेवा सञ्चालन नहुँदा गम्भीर प्रकृतिका बिरामी अन्यत्र रेफर गर्नु परेको जिल्ला अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए। जनशक्ति अभावमा  पाँच  महिनादेखि भेन्टिलेटर अस्पतालमै थन्किएको छ। लक्षणसहितका बिरामी बढे जिल्लामै स्वास्थ्य उपचारको सम्भावना नभएको स्वास्थ्यकर्मी बताउँछन्।

लक्षणसहितका संक्रमित बढ्न थालेपछि समस्या हुन थालेको छ। पछिल्लो समय बैतडीमा कडा खालको लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएका हुन्।

अहिले जिल्लाको दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी संक्रमित रहेका छन् । त्यहाँ ८० जना सक्रिय संक्रमति छन् भने पाटन नगरपालिकामा २७, मेलौली नगरपालिकामा १२, दोगडाकेदार गाउँपालिकामा ७, पुर्चौडी नगरपालिकामा २२, पञ्चेश्वर गाउँपालिकामा ४ र सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका १० स्थानीय तहमध्ये डिलासैनी गाउँपालिका बाहेकका सबै स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित: १७ वैशाख २०७८ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App