८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सुदूरपश्चिममा कोराेना संक्रमण तीव्रः आईसियु र भेन्टिलेटर खाली छैनन्

सुदूरपश्चिममा कोराेनाको संक्रमण तीव्र रुपमा बढ्दै गएर अस्पताल भरिभराउ भएका छन् । जटिल प्रकृतीका लक्षण भएका संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा आईसियु र भेन्टिेलेटरको अभाव शुरु भएको छ । सुदूरपश्चिमका अस्पतालमा रहेका सिमित आईसियु र भेन्टिलेटेर बिरामीले भरिएका छन् । आईसियु र भेन्टिलेटेर खाली नपाएर गंभिर अवस्थामा रहेका संक्रमितहरुले ज्यान गुमाउनु पर्ने अवस्था भएको छ । अक्सिजनको कमि देखिएर भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने टीकापुरका एक पुरुषले अस्पतालमा भेन्टिलेटर नपाएर मंगलवार ज्यान गुमाए ।

‘धेरै प्रयास गर्दा पनि कुनै अस्पतालमा पनि भेन्टिलेटर खाली भेट्टिएनन् । भेन्टिलेटर नपाउदाँ दाजुलाई बचाउन सकिएन ज्यान गयो ’मृतकका भाईले सुनाए ।  

यसैगरि भारतबाट फर्केका बैतडीको दशरथचन्द नगरपालिका–९ का ३५ वर्षीय एक पुरुष श्वास फेर्न समस्या भएपछि गत आईतवार बैतडी जिल्ला अस्पताल भर्ना भए । जिल्ला अस्पतालमा अक्सिजन सहित उपचार नहुदाँ उनलाई डडेल्धुरा रेफर गरियो र डडेल्धुरा अस्पतालमा उनको मृत्यु भयो । अक्सिजनको मात्रा अत्यधिक कम भएकै कारण मृतक संक्रमितलाई डडेल्धुरा रेफर गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.बसन्तराज जोशीले बताए । सुदूरपश्चिममा डडेल्धुरा वाहेक अन्य ६ पहाडी जिल्लामा अक्सिजन सहित उपचार गर्नुपर्ने संक्रमितको उपचार संभव छैन ।  यि पहाडी जिल्लाका अस्पतालमा आईसियु सेवा संचालन छैन भने ५ महिना अघि नै पहाडी जिल्लामा जडान भएका भेन्टिलटेर जनशक्तीको अभावमा थन्किएका छन । सेती प्रादेशिक अस्पतालमा र महाकाली प्रादेशिक अस्पतालमा रहेका  सिमित आईसियु र भेन्टिेलेर संक्रमितको चाप बढेसँगै खाली भेट्टाउन नै मुस्किल छ ।  

सुदूरपश्चिम प्रदेशको सवैभन्दा ठूलो मानिएको सेती प्रादेशिक अस्पतालमा १० भेन्टिेलेर मध्य कोराना संक्रमितका लागी ५ भेन्टिलेटर छुट्याइएको छ । ती ५ मध्य २ भेन्टिलेटर बिग्रेको र ३ भेन्टिलेटरमा संक्रमित रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन् । यसैगरि १२ वटा आईसियु पुरै भरिएको उनले बताए । ३५ अन्य संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । सेती प्रादेशिक अस्पतालमा ५५ शैया रहेकोमा सवै शैया भरिएका छन् । शैया नपुगेर संक्रमण देखिएका अस्पतालका ५ श्वास्थ्यकर्मीलाई अन्यत्रै उपचारका लागी शैया व्यवस्था गरिएको उनको भनाई छ ।

यसैगरि महाकाली प्रादेशिक अस्पतालमा ६ आईसियु र ६ भेन्टिलेटर पुरै भरिएको अस्पातल व्यवस्थापक दिपेन्द्र सिंह रावलले बताएका छन । महाकाली प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव रहेको उनले बताए ।‘ गंभिर प्रकृतीका संक्रमित उपचारका लागी आईरहेका छन, उनीहरुको उपचारका लागी अक्सिजन चाहिन्छ’उनले भने,‘अक्सिजनको अभाव भैरहेको छ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी कोरानाको संक्रमण तीव्र रुपमा बढेर स्थिती भयावह बनिसकेको बताउँछन् । ‘अहिले कोराेनाको संक्रमण सर्ने क्रम र मृत्युदर पनि बढी छ’उनले भने,‘अस्पतालमा सोचेको भन्दा बढी र गम्भीर संक्रमित आईरहेका छन् ।’ पहिलेको भन्दा दोश्रो लहरको कोरानाका संक्रमित गंभिर अवस्थामा अस्पताल आउने गरेको उनले बताए ।‘ गम्भीर संक्रमितहरुको संख्या बढेकाले अस्पतालमा आईसियु,भेन्टिलेटर र शैया भरिएर संक्रमितलाई उपचार गर्न समस्या हुन थालेको छ’उनले भने । अक्सिजनको पनि अभाव हुन थालेको उनले बताए । साधनश्रोत, अक्सिजन, आईसियु, भेन्टिलेटर र जनशक्तीको अभावले स्थिती नियन्त्रण भन्दा वाहिर गएर भयाभह अवस्था हुन लागेको उनी बताउँछन् । ‘जनशक्ती, भेन्टिलेटेर, अक्सिजन, आईसोलेसन सवै कुराको अभाव हुँदै गएको छ’उनी भन्छन,‘यहि स्थितीमा कोरोना संक्रमण बढ्दै गएमा मृत्यु वाहेक अरु उपाय छैन ।’

सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्रालयका नरेन्द्र सिंह कार्कीले कोरोना संक्रमणको अहिलको अवस्था असमान्य रहेकोले क्षमता अभाव भएको बताए ।  ‘अहिलेको असमान्य अवस्था हो, हामी क्षमता विस्तार गर्नमा लागीरहेका छौं’उनले भने । अक्जिनको अभाव भन्दा पनि सिलिण्डरको अभाव रहेकाले सिलिण्डर ल्याउने तयारी गरिएको उनले बताए । यसैगरि निजी अस्पतालहरु सँग छलफल गरेर ५० शैया, अत्तरिया सामुदायिक अस्पतालमा ४० शैया, गेटा मेडिकल अस्पतालमा ५० शैया र सेती अस्पतालमा पनि ३० शैया थप्ने वारेमा तयारी भैरहेको उनले बताए । भारतबाट फर्कनेहरुको एन्टिजन जाँच गर्न किट अभाव भएकोमा किट खरिद गर्न टेण्डर प्रक्रिया शुरु भएको उनको भनाई छ । धनगढीमा एक सय र महेन्द्रनगरमा एक सयको आईसोलेसन कक्ष वाहेक अन्यत्र आईसोलेसन बनाइएको छैन । आईसोलेसन नहुँदा भारतबाट फर्केका सिधै घर घर गैरहेका छन् । व्यक्ती स्वयंले सावधानी अपनाउनु पर्ने  कार्की बताउँछन् ।  

सेती प्रादेशिक अस्पतालका कोराेना उपचार बिभाग प्रमुख डा. शेरबहादुर कमरले कोराेना संक्रमण भएका जटिल केसहरु एक्कासी बढेको बताएका छन । ‘निमोनिया देखिने,श्वास फेर्न गाह्रो हुने, अक्सिजन कम हुने लगायतका लक्षण भएका अस्पतालमै राखेर उपचार गराउनु पर्ने जटिल संक्रमितहरुको संख्या बढी देखिएको छ’उनले भने । उपकरण, जनशक्ति र अस्पतालमा बेड, आईसियु , भेन्टिलेटको अभावले धेरै समस्या भएको उनी बताउँछन् । पहिलेको भन्दा शक्तीशाली नयाँ भेरियन्टको कोराना भएको लक्षण वाट थाह भएको उनले बताए । परिक्षण नभएकाले कुन कुन भेरियन्टको कोरानाको संक्रमण याहाँ रहेको छ भन्ने कुरा भने खुल्न नसकेको उनी बताउँछन् । 

अहिले शुरुवाती अवस्थामै संक्रमितले बेड नपाउने, अक्सिजन नपाउने अवस्था आएकोमा चिन्ता गर्दै उनी संक्रमण बढेपछि कल्पनागरे भन्दा जटिल अवस्था हुने संकेत देखिएको बताउँछन् । ‘अहिले शुरुवातमै यस्तो समस्या देखिदैछ, पिगमा पुग्नु बाँकी छ, दुई चार महिना हताहती हुने संख्या धेरै हुृन सक्छ’उनले भने ।  अस्पताल छेउछाउमा ठुल्ठूला टेण्ड राखेर भएपनि बेड र अक्सिजनको व्यवस्था गरेर संक्रमितहरुले उपचार नपाएर मुर्नुपर्ने अवस्था हुन नदिन अहिलेदेखि तयारी थाल्नुपर्ने उनको सुझाव छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा ११ सय ७६ सक्रिय संक्रमित रहेका छन । सवैभन्दा कैलालीमा ६ सय ४६ सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा कैलालीमा ६, कंचनपुरमा ३, अछाम र बझाङमा १, १ गरि ११ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।

प्रकाशित: १६ वैशाख २०७८ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App