२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अक्सिजन हैन सिलिण्डर अभाव

कोरोना संक्रमण दर उच्च बन्दै गएपछि बिरामीहरुको स्वास्थ्य उपचारमा प्रभावित बन्दै गईरहेको छ । अस्पतालका बेडहरु भरिभराउ भएका कारण थप बिरामीहरुले अस्पतालमा उपचार सेवा समेत नपाउने स्थिती उत्पन्न भएको छ । यससंगै बिरामीका लागि चाहिने आवश्यक अक्सिजनको अभाव समेत पर्न सक्ने खतरा स्वास्थ्यकर्मीहरुले आँकलन गरिरहेका छन् । 

दिनहुँ हुने अक्सिजनको खपतमा कमी आउन थालेको भन्दै दाङ स्थित कोरोना बिशेष अस्पतालले अक्सिजनको स्टकका लागि सरोकारवाला पक्षसंग बारम्बार अनुरोध गर्दै आएको छ । ‘बिरामीहरुका लागि चाहिने आवश्यक अक्सिनको अभाव हुन थाल्यो,’ अस्पतालका ब्यवस्थापक द्रोण ओली भन्छन् ‘बेड अभावमा छट्पटाईरहेका बिरामीहरु अक्सिजनको अभावमा मर्नुपर्ने अवस्था आउन थालिसक्यो ।’  

तर अक्सिजन आपूर्ति गर्दै आएका सप्लायर्सका अनुसार जिल्लामा अक्सिजन अभाव भने छैन । अभाव अक्सिजनका सिलिण्डरहरुको हो । सिलिण्डर अभावका कारण आवश्यक मात्रामा अक्सिजन आपूर्ति गर्न नसक्दा बिरामीहरुको ज्यान तलमाथि हुने खतरा रहेको सप्लार्यसहरु बताउँछन् । ‘जिल्लामा अक्सिजनको अभाव हैन, अभाव अक्सिजन सिलिण्डरको हो,’ जिल्लामा अक्सिजन आपूर्ति गर्दै आएका प्रयास सप्लायर्सका सञ्चालक भरत पौडेलले भने । 

अक्सिजन सप्लायर्सका अनुसार जिल्लामा अक्सिजन अभाव हुन सक्ने भन्दै ब्यक्तिगत रुपमै अक्सिजन घरघरमा लगिएका छन् । उनिहरुले ति अक्सिजन सिलिण्डरहरु फिर्ता गरेका छैनन् । ‘भोली आवश्यक पर्यो भने चाहिन्छ भनेर अहिले नै अक्सिजन सिलिण्डर घरमा लगेर राखिएका छन्,’ पौडेलले भने ‘घरमा लगिएका अक्सिजन प्रयोगमा आएको पनि छैन, अनि सिलिण्डर खाली नभएका कारण हामीहरुलाई फिर्ता पनि गरिएको छैन, यसैगरि धेरै सिलिण्डरहरु घरमा जाम गरेर राखिएका छन् ।’  

उनका अनुसार घरमा बिरामी रहेको भन्दै केहि धनाढ्य ब्यक्तिहरुले धरौटी राखेर घरघरमा अक्सिजन लगेका छन् । कतिपयको घरमा लगिएको अक्सिजन प्रयोगमै आएको छैन । फलतः अक्सिजन राख्ने सिलिण्डर घरमै जाम भएर बसेका छन् ।  

पौडेलका अनुसार उनको सप्लायर्सका १७ सय अक्सिजन सिलिण्डर हुन् । १७ सय मध्य अहिले जम्मा ३ सय सिलिण्डर मात्रै प्रयोगमा छन् । बाँकी १४ सय जति सिलिण्डर घर तथा अस्पतालहरुमा जाम भएर बसेका छन् । ‘हामीहरु कहाँ भएको १७ सय सिलिण्डर मध्य ३ सय सिलिण्डर मात्रै बजारमा राउण्डमा छ,’ उनले भने ‘झण्डै १४ सय सिलिण्डर घर तथा विभिन्न अस्पतालहरुमा जाम भएर बसेको छ ।’ सप्लायर्सहरुले नेपालगन्जबाट यि खाली सिलिण्डरमा अक्सिजन भरेर दिनहुँ ल्याउने गर्दछन् । 

तर अस्पतालहरुमा अक्सिजनको अभाव देखिँदै जानु र ब्यक्ति विशेषले घरमा अक्सिजन सिलिण्डर लगेर राख्नुले बिरामीहरुलाई समस्या हुने खतरा पौडेलले देखेका छन् । ‘विभिन्न व्यक्तिका घर,अस्पतालहरुमा जाममा रहेका खाली सिलिण्डर उपलब्ध भए हामीहरुले ति सिलिण्डर अक्सिजनका लागि रोटेशन गथ्र्यौँ,’ पौडेलले भने ‘नत्र अहिलेको अवस्थामा अक्सिजन अभाव भन्दा पनि सिलिण्डरको अभावमा बिरामीले दुख पाउने स्थिती बनेको छ ।’  

अक्सिजन सप्लायर्सहरुका अनुसार जिल्लामा अक्सिजन खपत हुने भनेको बिभिन्न अस्पताल, उद्योग तथा ग्यारेजहरुमा हो । अस्पताल, ग्यारेज तथा उद्योगहरुमा समेत सिलिण्डर जाम भएर बसेको भन्दै पौडेलले ति सिलिण्डर फिर्ता भए सहज हुने बताए । उनका अनुसार अक्सिजन राख्ने सिलिण्डर भारत वा चिनबाट आयात हुने गर्दछन् । तत्कालै नयाँ सिलिण्डर खरिदका लागि सम्भव नभएको उनले बताए ।  

उता देउखुरी क्षेत्रमा अक्सिजन वितिरण गर्दै आएको डिएन ग्यााँस विक्री केन्द्रका दुई सय सिलिण्डर बजारमै थन्कीएका छन् । साढे दुई सय सिलिण्डर रोटेशन गरेर अक्सिजन वितरण गर्दै आएको केन्द्रले अहिले ५० वटा सिलिण्डरमा मात्रै अक्सिजन अ‍ोसारपसार गरिरहेको छ । केन्द्रका सञ्चालक दुलम चौधरीका अनुसार अक्सिजनका लागि चाहिने भाँडो ( सिलिण्डर) अभावका कारण देउखुरी क्षेत्रमा पनि अक्सिजनको अभाव हुने खतरा रहेको छ ।

 ‘अभाव अक्सिजनको हैन, अक्सिजन त जति पनि ल्याउन सकिन्छ,’ चौधरीले भने ‘तर अक्सिजन के मा ल्याउने ? अक्सिजन ल्याउने सिलिण्डहरु सबै घरघरमा स्टक राखिएका छन् ।’ उनका अनुसार कतिपय बिरामीहरुले धरौटी राखेर सिलिण्डर लगेका छन् । उनिहरुले अक्सिजनको प्रयोग गरिेकपछि पनि खाली सिलिण्डर फिर्ता ल्याईदिएका छैनन् । यसैगरि कतिपयले अक्सिजनको अभाव हुने भन्दै बिरामीको कारण देखाएर घरमा अक्सिजन स्टक समेत राख्नका लागि पनि लगेका छन् । 

उनिहरुको अक्सिजन प्रयोग नभएका कारण सिलिण्डर पनि घरमै जाम भएर बसेको छ । ‘कतिपयले बिरामीका लागि चाहियो भनेर लगेका छन् तर बिरामीका लागि अक्सिजन प्रयोग भएर सिलिण्डर खाली भैसक्दा पनि सिलिण्डर फिर्ता हुन्न,’ चौधरीले भने ‘कतिपयले त बिरामीका लागि भनेर घरमा स्टक राख्नका लागि पनि लगेका छन् ।’ यसैगरि ग्यारेजहरुमा पनि केहि सिलिण्डर जाम भएर बसेका छन् । वेल्डिङको काममा प्रयोग हुने अक्सिजन यस्ता ग्यारेजहरुले पहिले देखिनै स्टक राखिरहेका हुन्छन् । 

तर अहिलेको यो अवस्थामा ग्यारेजहरुबाट पनि जाम भएका सिलिण्डरहरु फिर्ता भएका छैनन् । ‘ग्यारेजहरुमा पनि सिलिण्डर जाम भएर बसेका छन्,’ चौधरीले भने ‘अहिले बिरामीहरु अक्सिजन अभावमा मर्नु पर्ने अवस्था आउन थालिसकेपछि ग्यारेजहरुलाई पनि सिलिण्डर फिर्ता गर्न भनेका छौँ , सबै भन्दा ठूलो मान्छेको ज्यान बचाउने हो नि ।’

प्रकाशित: १४ वैशाख २०७८ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App