१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन बुँदे सहमतिपछि बन्द सिद्धिचरण लोकमार्ग खुल्यो

सहमतिपछि सडक खुलेको जानकारी दिइदै आयोजक। तस्बिरः महेश्वर

जिर्ण सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले ४ दिनदेखि अवरुद्ध गरेको सिद्धिचरण लोकमार्ग आज विहानदेखि सुचारु भएको छ। स्थानीय सडक स्तरोन्नति संघर्स समितिले सोमवारदेखि अवरुद्ध गरेको सडक सरोकारवाला निकाय र असन्तुष्ट समूहबीच बुधबार साँझ भएको ३ बुँदे सहमतिपछि सुचारु भएको हो।

संघर्ष समितिले सडक अवरुद्ध गरेका कारण सिरहाको मिर्चैयादेखि ओखलढुंगा जोड्ने लोकमार्गको कटारी–घुर्मी ४६ किलोमिटर खण्डमा यातायात आवागमन ठप्प भएको थियो। जिर्ण सडक कालोपत्रेसहितको स्तरोन्नति गर्नुपर्ने, त्यसका लागि बजेट सुनिश्चित गर्नुपर्ने, बिग्रेका बेला तत्काल मर्मत गर्न स्काभेटर, जेसिबीजस्ता उपकरण तैनाथ राख्नु पर्ने र धुलो मार्न पानी छ्याप्ने ट्यांकी राख्नु पर्ने माग राखेर संघर्ष समितिले सडक अवरुद्ध गरेको थियो।

अवरुद्ध सडक सुचारु गर्न इलाका प्रशासन कार्यालय कटारी, इलाका प्रहरी कटारी, कटारी नगरपालिका र संघर्ष समितिबीच बुधबार साँझ सहमति भएपछि सडक सुचारु भएको कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। उनका अनुसार कटारी–घुर्मी सडक खण्ड स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय लहानबाट १५ करोड सडक मर्मतमा खर्च गर्ने, त्यसका लागि छुट्टै सडक डिभिजन कार्यालय स्थापना गर्ने र ७ दिनभित्र बजेट सुनिश्चित गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रतिनिधिमण्डल जाने सहमति भएको छ।

३ बुँदे सहमतिमा उल्लेख नभए पनि उपभोक्ताको माग अनुसार बैकल्पिक मार्ग खोल्न डिपिआर सुरु गर्ने, ३ दिनभित्र मर्मत कार्य थाल्ने, १ अर्ब रकमको बहुवर्षे योजनाका लागि बजेट तय गर्ने सहमति पनि भएको छ। आफ्ना माग लगभग पुरा हुने बचनबद्धता आएपछि सडक खोल्न उपभोक्ता सहमत भएको संघर्ष समिति संयोजक बुढाथोकीले बताए।

कटारी नगरपालिका १४ को घुर्मी बजारमा सम्पन्न छलफलमा डिभिजन सडक कार्यालय लहानका प्रमुख (डिई) रविन्द्रलाल दास, मेयर श्रेष्ठ, उपमेयर भिमकुमारी राउत, संविधानसभा सदस्य भेषकुमारी राउत, संघर्ष समिति संयोजक तथा कटारी वडा नम्बर ११ का अध्यक्ष दिपक बुढाथोकीलगायत सहभागी थिए।

प्रकाशित: ९ वैशाख २०७८ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App