१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सार्वजनिक यातायातमा कोचाकोच, छैन सुरक्षा मापदण्ड

तस्विर:नागरिक

यतिबेला विश्वमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ। छिमेकी देश भारतमा दिनप्रतिदिन कोरोना बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। कोरोना सक्रमित संख्या बढ्दै जाँदा पनि यसमा सरकार र अन्य सर्वसाधरण जनताले खास ध्यान दिएको देखिँदैन। सोमबार मात्रै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ। देशका अधिकांश विद्यालय बन्द पनि भैसकेका छन्। विद्यार्थीहरू घरघरबाट अनलाइन कक्षामार्फत पढ्न थालिसकेका छन्।  

सरकारले कोरोना संक्रमण भएका विद्यालय बन्द गर्ने निर्णय गरे पनि सार्वजनिक यात्रामा भने त्यति ध्यान दिएको देखिँदैन। दिनहुँ जसो सार्वजनिक यातायातमा निकै भीडभाड देख्न सकिन्छ। सिटभन्दा दोब्बर यात्रु राखेर सार्वजनिक यातयात चलिरहेका छन्। उनीहरूले न माक्स लगाउँछन् न सामाजिक दूरी त परैको कुरा।  

काठमाडौं उपत्यकाको मुख्य बजारहरू न्युरोड, महाबौद्ध, भोटाहिटी, कालिमाटी, बल्खु, कलङ्की लगायतका क्षेत्रहरूमा पनि मानिसहरूको निकै भीडभाड रहेको छ। त्यसैगरी नयाँ, बसपार्क, रत्नपार्क लगायतका क्षेत्रबाट उपत्यका र उपत्यका बाहिर जाने गाडीहरू पनि सुरक्षा मापदण्डबिना नै हुँइकिइरहेका छन्।  

कोरोनाको दोस्रो लहरको प्रभावले विश्वका अधिकांश देशमा लकडाउन भइसकेको छ। छिमेकी मुलक भारतका कतिपय स्थानमा लकडाउन भएको छ। यस समयमा नेपालमा खुलेआम सुरक्षा मापदण्डको बेवास्ता गर्दै सर्वसाधरण हिँड्नाले आगामी दिनमा विकराल अवस्थाको सिर्जना हुने अनुमान सजिलै लगाउन सकिन्छ।

सबैभन्दा बढी सार्वजनिक यातायात सञ्चालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पूरा नगरी सवारी साधन चलाउँदा कोरोना संक्रमण जोखिम बढ्ने देखिन्छ। मापदण्ड पालना नगरी लामो र छोटो दूरीका यातायातले धेरै यात्रु बोक्ने र चर्को भाडा असुल्ने गरेको गरेको समेत यात्रुको गुनासो रहेको छ।  

सार्वजनिक यातयातका एक जना सहचालकले सरकारले यातायातसम्बन्धी निर्देशिका नल्याउँदा आफूहरुले सुरक्षा मापदण्डबिना नै यातायात चलाइरहेको बताए। उनले भने, सरकारले हामीलाई त्यति धेरै ध्यान दिएको छैन। हामी पनि जोखिममा छौँ। अहिलेको यस्तो समयमा मान्छेहरू गाडीमा कोचिएरै भए पनि यात्रा गर्नुहुन्छ। हामीले नचढ्नुस् भन्न मिल्दैन।

सरकारको गैरजिम्मेवारी पूर्ण कामका कारणले उनीजस्तै लाखौँ सहचालक र सार्वजनिक यतायात मारमा परेका छन्। सार्वजनिक यातायातमा यात्रा गरिरहेका यात्रुले भने–सरकारले लकडाउन गर्नुपर्यो। हैन भने हामीले आफ्नो दैनिकी चलाउनकै लागि भए पनि जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ।  

कोरोना भाइरसको कारणले देशको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पारेको छ। व्यापार व्यवसाय गरेर खाने मजदुरहरू मारमा परेका छन्। काम नगरौँ भने दैनिकी चलाउन समस्या छ। काम गरौँ भने कोरोनाको त्रास व्यापक रूपमा फैलिएको छ। नयाँ बसपार्क फुटपाथमा व्यवसाय गर्दै आएका राम शाहले भने। उनले थपे, आफ्नो जीविकोपार्जनको लागि यही एउटा व्यवसाय छ। सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि अनलाइन कक्षाको पैसा दिनैपर्छ। यो सरकारले पनि हामी मजदुरलाई नै मारमा पार्दछ। 

कोरोना महामारीले विकाराल रूप लिँदा पनि सरकारले आम जनतालाई मारमा पारेको छ। सरकारले यस बारेमा कहिले सोच्ने? गरिब जनतालाई कहिले सुखको सास फेर्ने वातावरण बनाउँदछ र?

प्रकाशित: ६ वैशाख २०७८ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App