भूकम्पपछि गाउँमा रहेको खानेपानीको मुहान सुकेपछि टाढाबाट ल्याएर जोहो गरिरहेका गजुरीको पीडाबासीले घरघरमा खानेपानी पाएका छन् । खानेपानी कै जोहो गर्न घण्टौँ खर्चनु पर्ने स्थानीयहरु गाईवस्तु, सरसफाई तथा खेतीकिसानीका लागिसमेत समस्या भोग्दै आइरहेका थिए । खानेपानीको चरम समस्या भोग्नु परेपछि गजुरी गाउँपालिका वडा नं ५ र ६ स्थित पीडाका स्थानीयहरु विभिन्न संस्थाको सहयोगमा आफै श्रमदानमा जुटेर गाउँका घरघरमा खानेपानी पु¥याएका छन् ।
वर्षौदेखि पानीको हाहाकार रहेको गाउँमा घरघरै धारोमा पानी आएपछि स्थानीय खुसी भएका छन् । धादिङको गजुरी गाउपालिका वडा नम्बर–५ र ६ का गाउँबस्तीमा अहिले घर घरमै धारो झरेको छ । ‘गाउँमा भएको पानीको मुहान पनि सुक्यो, एक, डेढ घण्टा टाढा लिन जादाँ पालो पनि नपाउने, समयपनि धेरै खर्चनुपरेको थियो’, गजुरी गाउँपालिका वडा नं ५ की कल्पना भण्डारीले भनिन्, ‘पानीको समस्या टार्न हामी गाउँबासी श्रमदानमा जुट्यौ र अहिले घरघरमा पानी आएको छ, खुसी छौँ ।’
गाउँदेखि १४ किलोमिटर पर ढुङगेनी र घासीखोलाको दुई वटा मुहानबाट पानी ल्याएर गाउँमा पानी वितरण गरिएको हो । ६ वटा रिजर्व ट्याङकीमा पानी जम्मा गरेर गाउँमा वितरण गरिएको छ । यो आयोजनाबाट गजुरी– ५ र ६ को १ सय ५६ घरधुरीका ९ सय मानिस लाभान्वित बनेका छन् । मुहानदेखि २० किलोमिटर परको दुरीमा रहेको गाउँमा समेत पानी वितरण गरिएको पीडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।
आयोजना दिगो बनाउन स्थानीयले हेरालुको पनि व्यवस्था छ । मिटर हिसाबले मासिक थोरै पैसा उठाएर हेरालुलाई तलबको व्यवस्था गरिएको उपभोक्ता समितिका अध्यक्ष भण्डारीले बताए । ‘सबै घर–घरमा धाराबाटै स्वच्छ खानेपानी पुगेपछि स्थानीयबासीमा खुशी छाएको छ’ अध्यक्ष भण्डारीले भने, ‘गजुरी गाउँपालिका वडा नं ५ र ६ को घर–घरमा खानेपानी व्यवस्थापनपछि स्वास्थ्य तथा सरसफाइमा पनि उल्लेख सुधार आउनुको साथै महिलाहरुको कार्यबोझ समेत घट्ने अपेक्षा छ ।’
आयोजनाबाट बिशेषगरि गजुरी वडा नम्बर ६ को दोभाने, जोगिबिसौना र वडा न ५ को छापगाउ, डाडाटोल, कुर्लेचौर, भत्तेरचौर लगायतका गाउँ लाभान्वित भएका छन् । अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पुर्णिमा कार्यक्रम अन्र्तगत संचालित योजनाबाट १ सय ५४ घर–घरमा धारा र गजुरी पीडा माध्यमिक बिद्यालय बालमैत्री धारा र २ वटा सामुदायिक हलमा गरि १ सय ५७ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ । स्थानीयले पाइपलाइन खन्ने, धारा बनाउन स्थानीय सामग्रीको सहयोग गर्ने लगायतका कामहरु गरेका थिए ।
प्रयास नेपाल, अक्सफाम र गजुरी गाउँपालिकाले निर्माण गरेको पीडा खानेपानी तथा सरसफाई आयोजना स्थानीयलाई हस्तान्तरण गरिएको छ । आयोजनामा प्रयास नेपाल र अक्सफामको १ करोड ३ लाख २१ हजार ६ सय ५५ रुपैया र गजुरी गाउपालिकाको १४ लाख ६५ हजार लागत छ । उपभोक्ताले मात्रै श्रमदान ४८ लाख ७३ हजार १ सय १९ रुपैया गरेका छन् । कुल १ करोड ६६ लाख ५९ हजार ७ सय लागतमा पानी धारो समेत निर्माण गरि पानी बितरण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए ।
बर्सौदेखि काकाकुल गाउको नामले चिनिएको गाउँमा सम्पन खानेपानी आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा संघीयता साम्सद भुमी त्रिपाठी सहित स्थानीय जनप्रतिनिधि र प्रमुख राजनितिक दलका नेताहरु गाउँ पुगेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले आयोजना टिकाउ बनाउन स्थानीयलाई आग्रह गरेका छन् । गाउँपालिकाको अन्य वडाहरुमा पनि एक घर एक धारो अभियान ल्याउन पहल भईरहेकोे अध्यक्ष बस्नेतले बताए ।
गजुरी गाउँपालिकालाई तिर्खा मुक्त बनाउने लक्ष्य अनुरुप खानेपानी जुटाउन लागेको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताए । ‘गजुरी गाउँपालिकाले एक घर एक धारा बनाउने लक्ष्य राखेको थियो, त्यो पूरा गर्दै छौँ,’ अध्यक्ष बस्नेतले भने, ‘कामको गुणस्तरीयता र प्रभावकारीताका लागि बेलाबेलामा अनुगमनको गर्दै आइरहेका छौँ ।’ सबै घर–घरमा धाराबाटै स्वच्छ खानेपानी पुग्ने भएपछि गाउँलेमा खुशीयाली छाएको छ।
प्रकाशित: ४ वैशाख २०७८ १०:५७ शनिबार