६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा नयाँ वर्षमा तागे संक्रान्ति

फाइल तस्बिर

जुम्लामा नयाँ वर्षलाई तागे संक्रान्तिका रूपमा मनाउने गरिएको छ। देशभर विभिन्न तरिकाले नयाँ वर्ष मनाइरहँदा जुम्लामा भने तागे संक्रान्तिका रूपमा मनाउने गरिएको हो। वैशाख १ को दिन विवाहित महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै तागा लगाउने चलन छ। नयाँ वर्षको सुरुआतका दिन महिलाले लगाएको तागा आगामी कात्तिक महिनाको ६ गते विधिपूर्वक पूजाआजा गरी विसर्जन गर्ने चलन रहेको संस्कृतिसम्बन्धी जानकार पूर्णसिंह कठायतले जानकारी दिए।  

ब्राह्मणले विधिपूर्वक पूजाआजा गरेर नौवटा गाठो पारेर बनाएको तागा विवाहित महिलाले लगाउने प्रचलन छ। नयाँ वर्षलाई बाहुनक्षत्री महिलाले पतिव्रताको रूपमा मनाउने गर्दछन्। पतिले आफ्नी पत्नीको चोलीमा आफैंले हातले बनाएका नौवटा गाँठो भएको पहेलो रङको तागा बनाएर पूजापाठ गरी चोलीमा झुन्ड्याइने गरिन्छ।

नयाँ वर्षको दिन झुन्ड्याइएको तागाको डोरी विधिपूर्वक पूजापाठ गरी कात्तिक ६ गते नदीमा बगाउने गर्दछन्। वर्षभरि पतिको दीर्घायुको कामना गर्दै महिलाले नयाँ वर्षलाई तागे वर्षका रूपमा मनाउँदै आएको स्थानीय जानकारहरू बताउँछन्। तागालाई गाँठो, गोली गाँठो, सिधा गाँठो गरी सातवटा गाँठा र विभिन्न सातवटा रङबाट रंग्याइन्छ। यो तागे संक्रान्तिमा मग्नी भएको युवतीकोे घरमा युवाकोे घरबाट युवतीलार्ई कोसेली र तागा लैजाने गरिन्छ। 

नयाँ वर्षको दिन तागा युवतीकोे घरमा नलगे मग्नी टुट्ने विश्वास छ। अन्य पर्वमा महिला आफ्नो माइतीघरमा जान्छन् भने नयाँ वर्षको अवसरमा मनाइने तागे पर्वमा माइतीघर गएका महिला पनि पहिला घरमा आएर तागा लगाउने गर्छन्। यसैदिन घरमा चामलको पुवालगायत विभिन्न परिकार बनाउने गरिन्छ भने जुम्ली कालिमार्सी धानको बिउको बेर्नाबाट दुई हातले २० पटक पानी बेर्ना बाहिर फालिन्छ। यसलाई बिसे पानी फाल्ने दिनका रूपमा समेत चिनिन्छ।

पछिल्लो चरणमा तागा लगाउने प्रचलन केही लोप हुँदै गए पनि अधिकतर स्थानमा यो प्रचलन कायमै छ। यो प्रचलनलाई कायम राख्न नयाँ वर्षले सद्बुद्धि दिऊन् भन्ने कामना सर्वत्र गरिएको पाइन्छ। नयाँ वर्षको अवसरमा हुने तागे संक्रान्तिका अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने, नयाँ नयाँ परिकार सबै परिवार बसेर खाने र नयाँ वर्षमा सबै काम फलिफाप होऊन् भन्ने कामना गरिँदै आएको छ।  

प्रकाशित: २ वैशाख २०७८ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App