८ वैशाख २०८१ शनिबार
समाज

सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न उपभोक्ताको ज्ञापनपत्र

ज्ञापनपत्र बुझाउँदै संघर्ष समिति। तस्विरः महेश्वर/नागरिक

सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको स्तरोन्नति माग गर्दै स्थानीय उपभोक्ता संघर्ष समितिले डिभिजन सडक कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा सीमास्थल घुर्मीसम्मको सडक खण्ड तत्काल स्तरोन्नति गर्न माग गर्दै यसअघि नै गठित संघर्ष समितिले सोमबार डिभिजन कार्यालय लाहानलाई ज्ञापनपत्र बुझाएको हो।  

उक्त खण्डको सडक जिर्ण भएकाले बारम्बार दुर्घटना हुँदा पनि दीगो मर्मतसम्भार नगर्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई वर्षौंदेखि समस्या भोग्नुपरेको समितिको ठहर छ। पटकपटक स्तरोन्नतिको माग स्थानीयले गरे पनि सम्बन्धित पक्षले कुनै चासो नदिएपछि बाध्य भएर संघर्ष समिति गठन गरेर अघि सर्नुपरेको समितिका संयोजक दिपक बुढाक्षेत्रीले बताए। कटारी नगरपालिका ११ का वडाध्यक्षसमेत रहेका बुढाक्षेत्रीका अनुुसार सडक मर्मत कार्य तत्काल सुरु गर्न ज्ञापनपत्र बुझाइएको र अन्यथा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ।

संघर्ष समितिको गत आईतबार बसेको वैठक निर्णय अनुसार ज्ञापनपत्र बुझाउँदै बुढाक्षेत्रीले तत्काल माग सम्बोधन गर्न बेवास्ता गरे अनिश्चितकालीन सडक बन्द गर्न बाध्य हुने चेतावनी दिइएको छ। सडक स्तरोन्नतिको काम तत्काल सुरु नभए अनिश्चितकालीन सडक अवरुद्ध गर्नुपर्ने अप्रिय कदम चाल्न बाध्य हुने चेतावनीयुक्त अनुरोध ज्ञापनपत्रमा गरिएको छ। आउँदौ वैशाख ५ गतेभित्र माग सम्बोधन गर्न आग्रह गर्दै अन्यथा ६ गतेदेखि सडक सञ्चालन गर्न रोक लगाइने चेतावनी ज्ञापनपत्रमा दिइएको छ।  

‘हामीले बारम्बार सडक स्तरोन्नतिको माग गर्दै आएका छौं तर, सम्बन्धित निकायले कान थुनेर, आँखामा पट्टी बाँधेर बसेको छ’ संघर्ष समिति संयोजक बुढाक्षेत्रीको चेतावनी छ ‘त्यसैले बाध्य भएर संघर्ष समिति गठन गरी यो ज्ञापनपत्र बुझाएका छौं। यसको पनि बेवास्ता गरे सडक बन्द गर्ने अप्रिय कदम चाल्न बाध्य हुनेछौं।’ माग संबोधन नभए कटारीदेखि पहाडीभेगका मरुवा, पट्नाभञ्याङ गहुँबारी, बेतेनी हुँदै ठाँटी भन्ज्याङसम्मका स्थानीयले गाडी चल्न नदिइने उनले बताए। बुढाक्षेत्रीले सडक अवरुद्ध गर्दा शान्तिपूर्ण र सभ्य शैलीमा गर्ने तर, एम्बुलेन्स, सुरक्षाकर्मी र पत्रकारलाई भने रोक नलगाउने बताए।  

संघर्ष समितिले आर्थिकवर्ष २०७८÷०७९ को बजेटमा लोकमार्ग सुरक्षित आउजाउ गर्न यसअघिदेखि उठाउँदै आएको २ लाईन सडक बनाउनुपर्ने मागलाई कार्यान्वयन गर्न पर्याप्त बजेट बिनियोजन गर्न, त्यसको लागत ईस्टीमेट बनाएर काम थाल्ने सुनिश्चित गर्नुपर्ने माग राखेको छ। २ लाईन सडक बन्ने निश्चित नभएसम्म आउजाउलाई सहज बनाउनका लागि तत्काल मर्मत गर्न स्काभेटर, जेसिबीजस्ता उपकरण तैनाथ राख्न तथा सडकमा धुलो मार्न पानी छ्याप्ने ट्यांकर तैनाथ गर्न पनि माग गरेको छ।  

सिद्धिचरण लोकमार्गको कटारी नगरक्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म ४६ किलोमिटर सडक अत्यन्त जीर्ण भएकाले सवारी आउजाउ गर्न धेरै हम्मे हुने गरेको छ। कटारीका वडा नम्वर ८, ९, १०, ११, १३ र १४ ले छोएको उक्त खण्डको सडक स्तरोन्नतिको माग गर्दै धेरै पटक स्थानीयले सडक कार्यालय, नगरपालिका, सडक डिभिजन हुँदै मन्त्रालयको ध्यानाकर्षण गराईसकेका छन्। दिनरात हजारको संखयामा बढी भारक्षमताका टिपर चल्ने भएकाले वर्षेनी मर्मत गरे पनि ३ महिनाभित्रै बिग्रेर जस्ताको तस्तै हुने गरेकाले २ साईन सडक अर्थात बैकल्पिक सडक बनाउनुपर्ने माग स्थानीयले वर्षौंदेखि गर्दै आएका छन्।

सिराहाको चन्द्रोदयपुरस्थित मारुती सिमेन्टका लागि सिन्धुलीको ककरुठाकुरदेखि ओसार्ने चुनढुंगा बोक्ने टिपर यही लोकमार्ग भएर आउजाउ गर्नाले सडकको यो हालत भएको संघर्ष समितिको ठहर छ। पछिल्लो २ वर्षयता सौर्य र कसमस सिमेन्ट उद्योगका लागि कटारीकै पट्नाभन्ज्याङलगायत २ ठाउँको चुनढुंगा ओसार्ने रुट पनि यही भएकाले सडकमा थप भार पर्दै आएकाले बैकल्पिक सडक चाहिने संयोजक बुढाक्षेत्रीले बताए।  

मिर्चयादेखि कटारी घुर्मी हुँदै ओखलढुंगा, सोलुखुम्बुसम्म जोड्ने उक्त सडक नेपाली सेनाले ०५८ सालमा अस्फाल्ट प्रविधिको कालोपत्रेसहित निर्माण गरेको थियो। पुरानो प्रविधि, मेसिन उपकरणको अभावले जनशक्तिकै भरमा कोदालो र झम्पलको भरमा खनिएको उक्त सडक पहाडी भेग भएकाले घुम्ती र साँघुलो पनि छ । केहीवर्षसम्म कालोपत्रे टिके पनि चुनढुंगा बोक्ने टिपर दिनहुँ चल्न थालेपछि वर्षदिनमै कालोपत्रे उप्किएर सडक धुलाम्य र खाल्डैखाल्डामा परिणत भएको थियो। त्यसयता सडकको मर्मत कार्य वर्षेनी हुँदै आए पनि ३–४ महिनामै बिग्रेर जस्ताकोतस्तै हुने गरेको छ।  

कटारी र माथिल्लो सगरमाथाको ‘लाईफलाईन’ मानिएको उक्त लोकमार्गको दीगो मर्मत गर्न सकेमा दक्षिणीभेगका पर्यटक तथा तीर्थालुलाई खोटाङको त्रिधार्मिकस्थल हलेसी आउजाउ गर्न सजिलो पर्ने कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउँछन्। सडकको दीगो मर्मत र स्तरोन्नतिका लागि नगरपालिकाले पटकपटक सडक डिभिजन, विभाग र मन्त्री हुँदै प्रधानमन्त्रीसम्मलाई लिखित र मौखिक आग्रह गरिसकेको मेयर श्रेष्ठले बताए। साँघुरो र घुम्ती सडकमा हजारौं संख्याका सवारीसाधन चलाउन टिफरका लागि अलग्गै सडक बनाउन गरेको स्थानीयको माग जायज भएको स्थानीयको भनाई छ।  

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का सांसद सुरेशकुमार राईले सिराहादेखि उदयपुर हुँदै खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुसम्मका लाखौँ सर्वसाधारणको आउजाउ गर्ने सडक भएकाले त्यसको दीगो स्तरोन्नति र व्यवस्थापनमा जोड दिनुपर्ने खाँचो औंल्याए। दक्षिण नेपालको तराईदेखि उत्तरको सगरमाथासम्म जोड्ने लोकमार्ग आफैमा महत्वपूर्ण भएकाले फराकिलो, उन्नतस्तरको कालोपत्रे गर्नेगरी स्तरोन्नति गर्न आफुले प्रतिनिधिसभा, मन्त्रालय र विभागमा कुरा उठाउँदै आएको उनले बताए। सडक स्तरोन्नति गर्ने स्थानीयको माग जाय भएको भन्दै उनले जनताको माग सम्बोधन गर्न आफुले बारम्बार साथ दिदै आएको र आउँदा दिनमा पनि साथ दिइरहने प्रतिबद्धता सांसद राईले जनाएका छन्। 

प्रकाशित: ३१ चैत्र २०७७ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App