२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोशी टप्पु आरक्षः तीन पाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई रोक

हात्तीले गर्दा आरक्ष क्षेत्रमा सुरक्षा सावधानी

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १४ वटा हात्तीको समूह संगठित भएपछि उच्च सुरक्षा सावधानी अप्नाइएको छ। सुरक्षा सावधानी अप्नाएसँगै आरक्षमा तीन पाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई आरक्षको पूर्वी क्षेत्रमा रोक लगाइएको छ।  

बेला बेला मकुना हात्ती आरक्ष तथा आसपासका क्षेत्रमा आतंक मच्चाउने र मानवीय क्षति हुने गरेपनि पछिल्लो समय भने १४ वटा हात्तीको समूह नै सक्रिय भएपछि पूरै सुरक्षा सावधानी अप्नाएको आरक्षका वार्डेन अशोक रामले बताए। नयाँ वर्ष २०७८ को अवसरमा थुप्रै स्वदेशी तथा विदेशी पर्यटक आउने भएकाले गर्दा सावधानी अप्नाएको उनले बताए।  

मकुना हात्तीले मंसिरयता दुई मानवीय क्षति गरेपछि नियन्त्रणमा लिनका लागि विभिन्न उपायको खोजी गरिएको थियो। जसमा पुस दोस्रो सातादेखि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको डाक्टर अमीर सडौला, तीर्थ लामालगायतको टोलीले डार्ट गरेर शिथिल बनाएपछि ‘कन्ट्रोलमा’ आएको थियो। तर, यतिबेला पनि मकुनासहित १४ वटा हात्तीको समूह सक्रिय भएसँगै मानवीय क्षतिको खतरा बढ्दो छ। मकुनालाईं डार्ट गरेर हर्मोन ‘कन्ट्रोल’ गरेपछि पाँच(छ महिनासम्म हात्ती चुपचाप बस्ने मान्यता छ।

जंगली हात्तीको समूह संगठित भएर मानववस्तीमा प्रवेश गरेसँगै कोसी गाउँपालिकाको वडा नं. ३, ५, ६, ७, ८ र बराहक्षेत्र नगरपालिकाका केही वडावासी त्राहीमाम भएका छन्। उदयपुरको बेलका नगरपालिकाका, सप्तरीको सप्तकोसी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रका बासिन्दा पनि पीडित छन्।  

जंगली जनवारको आक्रमण रोक्न आरक्षण प्रशासनले सावधनी नअनाउँदा मध्यवर्ती क्षेत्रवासी समस्यामा परेको भन्दै पटक पटक आन्दोलन नै हुने गरेको छ। ‘मानवीय क्षति हुन नदिन आरक्ष प्रशासन पूरा सचेत छ,’ आरक्षका वार्डेन रामले भने। उनले सुरक्षाका लागि स्थानीयवासीलाई समेत जिम्मेवार हुन आग्रह गरे।

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाईं गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ। कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। यद्यपी कतिपय स्थानमा हात्तीले विद्युतीय घेराबेरा भत्काउने गरेको छ। रुखको हाँगा ढालेर लत्राएर घेराबेरा भत्काउने गरेको छ। जसले गर्दा सहजै वस्तीमा प्रवेश गर्छन्।  

०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्दा बन्दै आएको हात्तीपीडितको पीडामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेको छैन।

प्रकाशित: २८ चैत्र २०७७ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App