९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मुल्ली आगलागी : अन्न जल्यो, भण्डार रित्तियो

जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँका कलिमान बोहोराका मुल्लीमा रहेको घर जल्यो। उनी ढिपु गाउँमा बसेपछि बर्षायामका ६ महिना मुल्लीमै बस्थे। मुल्ली लेकाली बस्ती जस्तै थियो। प्रसस्त अन्न फलाउन सकिने भएकोले गाउँले त्यो बस्तीलाई अन्न भण्डारका हिसावमा चिनाउँथे।

त्यहाँ ६÷७ वर्षअघिदेखिको अन्न राखेका थिए। मौसमी बस्तीका रुपमा रहेको मुल्ली जलेपछि अन्नपातपुर्ण रुपमा जल्यो। स्थानीय कलिमान बोहोराले भने,‘आगलागीबाट मानवीय र पशुचौपायको क्षति भएन। तर अन्नपातपुर्ण रुपमा जल्यो। अन्नपात जल्नु भनेको नै यहाँका स्थानीय खाद्य संकटमा पर्नु हो। मानिसले खान नपाउनु पनि त ठूलो क्षति नै हो।’

यही चैत २१ गते बस्ती नै आगो लाग्यो। न त्यहाँ पानी थियो, न त आगो निभाउने अर्को कुनै विकल्प। आगो लागेको घरमा माटो छर्ने मात्रै काम भयो, उनले भने,‘आगो नियन्त्रणमा लिने अधिक प्रयास भए। नियन्त्रणमा आउन सकेन। २९ घर जले। घर जल्दै थिए, हामी हेरिरहेका थियौँ। अन्न जलेर खरानी हुँदै थियो। मन भकानिन्थ्यो तर आगो निभाउने कुनै उपाय थिएन।’

आगोले २९ घर जलेपछि स्थानीयको रुवाबासी चल्यो। गाउँका घरमा कम अन्न भण्डारण हुन्छ। मुल्लीका घरमा निकै बढी। तिला ९ का वडाध्यक्ष भन्छन्,‘आगोले निकै क्षति पुग्यो। किसानको मेहनतपुर्वक फलाएको गाँस खोस्यो। घरसंग मन जलायो।’

गाउँमा ९२ घर थिए। २९ घर पुर्ण रुपमा नष्ट भए। राखिएको अन्नपात, मौरीघार नष्ट भए। १ सय ५० मौरीघार नष्ट भएको स्थानीय बताउँछन्। किसानले गहुँ, जौँ, मकै, फापर भण्डारण गरेका थिए।

आगलागीलगत्तै तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाको नेतृत्वमा कृषि, भेटनरीसहितको प्राविधिक टोली मुल्ली पुग्यो। उनीहरुको टोली पुग्दा अन्नमा सल्केको आगो निभिसकेको थिएन। अन्न जलिरहेको थियो। किसान टाढैबाट हेरिराखेका थिए, उपाध्यक्ष बिष्णु बुढाले भनिन्,‘किसान भोकमरीमा पर्ने डरले त्रासिद थिए। अन्न जलिरहेको थियो। यो दृश्य निकै दर्दनाक र पिडादायी थियो।’

गाउँपालिकाले आगलागी पीडितका लागि राहतका कार्यक्रम ल्याउने आश्वासनसहित फर्कियो। आगो लागेको तीन चार घण्टापछि मात्र स्थानीय प्रशासनलाई जानकारी भयो। उद्वारका लागि सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली परिचालन भयो। भोलिपल्ट बिहान मात्र आगो नियन्त्रणमा आउन सक्यो।  

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बस्ती नै आगोले खरानी हुनु निकै दुःखद भएको बताउँछन्। उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट परिवार तत्काल गुजाराका लागि  संख्याका आधारमा ५ जना परिवार संख्या भएकोमा १५ हजार रुपैयाँ र ५ जनाभन्दा बढी परिवार संख्या भएका अग्नि पीडितलाई २० हजार रुपैयाँ निर्णय भइसकेको बताए।  

पीडितलाई खाद्यान्न गैससबाट उपलब्ध गराउने र बस्ती पुनस्र्थापना तथा पुनःनिर्माणको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण र कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जनाए।  

घरहरु नष्ट भएका अग्नी पीडितहरुलाई तत्काल आपतकालीन आश्रयस्थलको लागि गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट ४१ थान टेन्ट आइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।  

पछिल्लो समयमा जुम्लामा आगलागीका घटना तीव्र भइरहेका छन्। यसअघि जुम्ला तिला गाउँपालिका ७ स्थित गोठीमा गाउँमा आगलागी हुँदा २९ घर जलेर नष्ट भएका थिए। तीन करोड रुपैयाँ बढीको क्षति भएको थियो। प्रमुख जिल्ला अधिकारी थापाले अग्नी पीडितको राहत र उद्वारका लागि पहल भइरहेको बताए।  

एकै घरमा वर्षमा झण्डै पन्ध्र बिस क्वीन्टल अन्न फल्थ्यो। मुल्लीका अग्नी पीडितका लागि जुम्ला चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले व्यक्तिगत रुपमा राहतस्वरुप चामल उपलब्ध गराएकी छिन्। तत्काल राहतका कार्यक्रम ल्याएर जनजीवन सहज बनाइदिन स्थानीयले आग्रह गरेका छन्।  

जिल्ला प्रहरी कार्यालय जुम्लाले घटनाको अनुसन्धान गरेर आगो लगाउने एक जनालाई पक्राउ गरेको छ। ढिपु गाउँकै तेजबहादुर बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा आगो लगाएको स्पष्ट भएको हो।  

आगलागीबाट २९ घर पुर्ण रुपमा जलेका थिए। १५ घरमा आंशिक क्षति भएको थियो। प्रहरी नायव उपरीक्षक डिएसपी दानबहादुर थापाले निज बोहोरालाई पहिलोपटक जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको बताए।

प्रकाशित: २८ चैत्र २०७७ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App