७ वैशाख २०८१ शुक्रबार
समाज

‘स्थानीय भाषासंस्कृति जीवन्त राख्नुपर्छ’

क्याप्शन

काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, संस्कार, संस्कृति र सम्पदालाई जीवन्त राख्न ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाले महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन गरेको छ।  

उनीहरूलाई अभिनन्दन गर्नुअघि ‘नेपाः झिगु मांदेय् खः नेपालभाषा झिगु मांभाय् खः’ अर्थात् ‘नेपाल हाम्रो आमा हो, नेपालभाषा हाम्रो मातृभाषा हो’ भन्ने नारा लेखिएका ब्यानर र नेवारी संस्कृति झल्किने बाजागाजासहित नगर परिक्रमा गराइएको थियो। नगर परिक्रमामा ५० भन्दा बढी संघसंस्थाको सहभागिता थियो। नगर परिक्रमापछि वसन्तपुर डबलीमा आयोजित कार्यक्रममा प्रमुख शाक्य र उपप्रमुख खड्गी श्रेष्ठलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नागरिक अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए। कार्यक्रममा नेपालभाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ पनि सहभागी थिए।  

अभिनन्दनपछि सम्बोधन गर्दै मन्त्री पोखरेलले स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, संस्कार, संस्कृति र सम्पदालाई जीवन्त राख्न सकिने बताए। यस कार्यमा महानगरपालिकाको योगदान विशिष्ट रहेको उनले बताए। उनले यस्तो ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै महानगर प्रमुख र उपप्रमुखलाई धन्यवाद दिए। ‘नेवार जाति इतिहासको जीवित तथ्य हो,’ मन्त्री पोखरेलले भने, ‘नेपालीको इतिहास जातीय पहिचान हो। यही कुरालाई ख्याल गरेर काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रमसहित पठन–पाठन सुरु गर्नु ठूलो कुरा हो। केही ढिला सुरु भयो तर यो उत्तम काम हो।’  

कार्यक्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालभाषाको पाठ्यक्रमलाई व्यवस्थित ढंगले लागु गर्नुपर्ने भन्दै यसमा सरकारको पनि पूर्ण समर्थन रहने बताए। काठमाडौं महानगरपालिकाले नेपाल भाषाको पाठ्यपुस्तक छापेर पठन–पाठन सुरु गरेकोमा खुसी लागेको उनले बताए। उनले भने, ‘अब सबै स्थानीय तहमा स्थानीय भाषामा पनि पठन–पाठन हुनेछ।’  

महानगरपालिकाका प्रमुख शाक्यले स्थानीय भाषाको पाठ्यक्रम तयार गर्नु चुनौतीपूर्ण काम भएको भन्दै केन्द्र सरकारलेसमेत स्वामित्व ग्रहण गरेकोमा खुसी लागेको बताए। ‘हामीले स्थानीय भाषा, लिपि, कला, संस्कार, संस्कृति र सम्पदालाई जीवन्त राख्न यो चुनौतीपूर्ण काम अघि बढाएका हौं,’ शाक्यले भने, ‘स्थानीय तहले गरेको कामलाई केन्द्र सरकारले समेत स्वामित्व ग्रहण गर्दा खुसी लागेको छ। केन्द्र सरकारको समेत साथ र सहयोगले व्यवस्थित ढंगले लागु गरेर अघि बढ्न सकारात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौं।’  

उपप्रमुख खड्गीले ‘मेरो काठमाडौं, हाम्रो काठमाडौं’ भने जस्तै यहाँको भाषालाई पनि ‘मेरो भाषा, हाम्रो भाषा’ भनेर सिकाउन पनि स्थानीय भाषाको पठन–पाठन सुरु गरेको बताइन्। जनकवि श्रेष्ठले लामो समयदेखिको सपना पूरा भएको बताए। ‘नेपाललाई संसारमा परिचित गराउन चाहिने पहिचान भनेको राष्ट्रिय सम्पदा र त्यसको सुरक्षा हो। त्यो सुरक्षा कहिले हुन्छ त रु,’ उनले भने, ‘जब बच्चाहरूबाट पहिचानसम्बन्धी कुरालाई आत्मसात् गरिन्छ। त्यसपछि मात्रै हामी संसारको अघिल्तिर हाम्रो नेपाल भनेर उभिन सक्ने हुन्छौं।’ उनले स्थानीय भाषामा पठन–पाठन गर्नु पाउनु नैसर्गिक अधिकार भएको पनि बताए। ‘काठमाडौं महानगरपालिकाले नेपाल चिनाउने काम सुरु गरेको छ। यो व्यवस्थित ढंगले अघि बढ्न सकोस्,’ उनले भने।

प्रकाशित: २६ चैत्र २०७७ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App