८ वैशाख २०८१ शनिबार
समाज

तुँवालोले सुर्खेतमा उडान प्रभावित

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आइतबार हुने नियमित उडान प्रभावित भएको छ। जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिबिलिटी कम हुँदा यहाँ उडान प्रभावित भएको हो। बिहान सफा रहेको आकाश एक्कासि तुवाँलोले ढाकिएपछि उडान रद्द भएका थिए। सुर्खेत विमानस्थलबाट दैनिक आठदेखि १० वटासम्म उडान हुन्छन्।

आइतबार भिजिबिलिटी कम हुँदा सुर्खेतबाट हुम्लाको सिमकोट तारा एयरलाइन्सले एउटा मात्र उडान गर्न सक्यो। बर्दियाबाट मुगुमा अवस्थित रारा जान लागेको हेलिकोप्टरको पनि उडान प्रभावित बन्यो। बर्दियाबाट राराका लागि उडान भरेको उक्त हेलिकोप्टर सुर्खेतमा अवतरण गर्‍यो। रारा उडान गर्न भिजिबिलिटी नपुगेपछि सुर्खेतबाट नेपालगन्ज उडान भर्न लागेको उक्त हेलिकोप्टर बीच बाटोबाटै फर्कियो। उक्त हेलिकोप्टर दिउँसो ३ बजे सुर्खेत विमानस्थलमा अवतरण भएको थियो।

भिजिबिलिटी कम हुँदा आइतबार सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान प्रभावित भएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए। ‘नियमित उडानसँगै कर्णालीका जिल्ला र सुदूरपश्चिमको बाजुराका लागि उडान भर्ने चार्टर जहाजले पनि उडान भर्न सकेनन्,’ उनले भने, ‘१०÷१२ दिनदेखि तुँवालो लागे पनि उडान भइरहेको थियो तर आइतबार धेरै कम हुँदा उडान रद्द भए।’ सुर्खेतमा आइतबार २ हजारदेखि ३ हजार मिटरसम्म भिजिबिलिटी थियो। सुर्खेतका लागि ५ हजार मिटरसम्मको भिजिबिलिटी चाहिने विमानस्थल प्रमुख पन्थीले जानकारी दिए।

केही दिनदेखि सुर्खेतका आकाशमा तुवाँलो बढ्दै गएको छ। आकाशमा तुवाँलो देखिएकाले बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीलगायत घरबाहिर निस्किँदा सावधानी अपनाएर निस्किनुपर्ने स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। ‘बिहान केही बेर आकास खुले पनि दिउँसो तुँवालो देखिन्छ,’ उनले भने, ‘यस्तो बेलामा सचेत हुनुपर्छ।’ उडान प्रभावित हुँदा नेपालगन्जबाट रारासम्मको उडान गर्ने गरेको पर्यटन व्यवसायी मनराज सिंखडाले बताए। ‘सुर्खेतमा भिजिबिलिटी कम हुँदा हिजोअस्ति रारा–नेपालगन्ज उडान गरेका थियौं,’ उनले भने।

प्रकाशित: २३ चैत्र २०७७ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App