पाखो जंगलमा लागेको डढेलो गोठ नजिकै पुग्दै थियो। गोठमा रहेका दाउरा जल्न नदिन रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया सर्केनी दमाई डढेलो नियन्त्रण गर्न जान्छिन् तर विडम्बना डढेलोले दाउरा मात्र होइन सर्केनीलाई समेत जलायो। यहाँ डढेलो यो वर्ष मात्र होइन, प्रत्येक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिन्छ। यति मात्र होइन यतिबेला कर्णालीका पहाडी डाँडापाखामा डढेलो बढ्दो छ। अव्यवस्थित ढंगले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाइँदा वातावरणीय पर्यावरण तथा जीवजन्तुसँगै मानवीय क्षति हुँदै आएको छ।
सामान्यतया सुक्खा र गर्मी हुने मौसममा डढेलो बढी हुन्छ। डढेलो मानवीय कारणबाट लाग्छ तर मौसम परिवर्तन र बढ्दो तापक्रमका कारण हुने र नियन्त्रण गर्न कठिन हुने स्थिति छ। भौगोलिक विकटता र स्रोत साधन अभावमा डढेलो तथा आगो नियन्त्रण गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डिएसपी) धु्रवकुमार श्रेष्ठले जानकारी दिए। ‘पछिल्लो समय आगलागीका घटना बढ्दै गएका छन्,’ उनले भने, ‘स्थानीयका अनुसार हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलहरुमा आगो लगाउने गरिन्छ।’ जथाभावी डढेलो लगाउँदा भुगोलका कारण प्रहरी तत्काल पुग्न नसक्ने भन्दै उनले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउन नहुने बताए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यस आर्थिक वर्षमा ७६ वटा आगलागीका घटना भएका छन्। जसबाट एक सय ४० घरमा क्षति पुगेको छ। आगोमा परि तीन पुरुष र चार महिला गरी सातजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगोमा परि १० जना व्यक्ति घाइते भएका छन्। यस आर्थिक वर्षमा आगोबाट १० करोड ८१ लाख ८३ हजार पाँच सय १४ रुपैयाँ बराबरमा धनमाल नष्ट भएको उनले जानकारी दिए। उनका अनुसार सुर्खेत १४, दैलेख चार, जाजरकोट चार, सल्यान १२, रुकुम पश्चिम तीन, कालीकोट १२, जुम्ला १०, मुगु पाँच, डोल्पा ६ र हुम्ला ६ आगलागीका घटना भएका छन्।
जंगलमा जथाभावी लगाइएको डढेलोको तथ्यांक भने प्रहरीले संकलन गरेको छैन। दैनिकजसो कर्णालीका जंगलमा डढेलो भइरहेको छ। डढेलो लाग्ने कर्णालीका क्षेत्रमा दमल पुग्न नसक्दा स्याउलाको भरमा आगो नियन्त्रण गर्नुपर्ने बाध्यता छ। ‘भिरालो जमिन हुँदा दमकल जानै सक्दैन,’ सुर्खेतका भेरीगंगा नगरपालिका–५, घनश्याम खड्काले भने, ‘स्याउलाको भरमा मात्र आगो नियन्त्रण गर्दा क्षति धेरै हुन्छ।’ डढेलोले वातावरण प्रदूषणसमेत बनाएको उनको भनाइ छ।
चुरोटका ठुटा र सलाइका काँटी फाल्दा विशेष ध्यान दिने, खाना बनाउँदा भान्सामा अनिवार्य बस्ने, घरमा कोही नभएको बेला आगो वा हिटर बालेर नहिँड्ने, सजिलै आगो निस्कने पदार्थलाई केटाकेटीको सहज पहुँचमा नराख्ने, मैनबत्ती र धुप बाल्दा विशेष सतर्क हुने, राम्रो गुणस्तरको विद्युतीय सामग्री मात्र प्रयोग गर्ने, बिजुलीबाट हुने गडबडी कम गर्न वायरिङ राम्ररी गर्ने, ग्याँस सिलिन्डर र मट्टीतेलजस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढंगले राख्ने, आगो तापिसकेपछि वा खाना पकाएपछि राम्ररी आगो निभाउनेलगायतका उपाय अपनाएको खण्डमा आगलागीबाट हुने ठूलो जनधन न्यूनीकरण गर्न सकिन्छ।
प्रकाशित: २१ चैत्र २०७७ ०८:०२ शनिबार