आगामी २०७८ सालको राष्ट्रिय जनगणनालाई तथ्यपरक र उपलब्धिमूलक बनाउन सरोकारवालाले माग गरेका छन्। जनगणनाको तयारीस्वरूप बिहीबार गाईघाटमा आयोजित ‘राष्ट्रिय जनगणना ०७८ जिल्लास्तरीय सचेतना गोष्ठी’ का सहभागीले देश संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना भएकाले यसलाई वस्तुपरक बनाउनुपर्नेमा जोड दिएका हुन्।
जिल्ला समन्वय समिति उदयपुरको सभाकक्षमा आयोजित गोष्ठीमा जिल्ला तथ्यांक शाखा उदयपुरका प्रमुख तथा जिल्ला जनगणना अधिकारी शिवनारायण महतोले राष्ट्रिय जनगणनाको इतिहास, महत्व, उद्देश्य, उपादेयता, तयारी तथा सम्भावित परिणामलगायत विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए। नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ।
आगामी जनगणना तथ्यपरक, वस्तुवादी र वैज्ञानिक बनाउँदै भविष्य निर्माणको आधारस्तम्भ बनाउने उद्देश्यले ‘राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६’ जारी गरिएको थियो। जस अनुसार सामुदायिक प्रश्नावलीको प्रयोग, सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको उपयोग, ९ महिनाभित्रै तथ्यांकीय प्रतिवेदन सार्वजनिक गर्ने योजना छ।
तथ्यांक अधिकृत महतोले जनगणनालाई प्रभावकारी र तथ्यपरक बनाउन संघ, प्रदेश, जिल्लादेखि स्थानीय तह र वडासम्मको समिति तथा संयन्त्र निर्माण गर्ने व्यवस्था सरकारले गरेको बताए। उनका अनुसार संघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा ‘राष्ट्रिय जनगणना निर्देशक समिति’, आयोगकै सदस्यको अध्यक्षतामा निर्देशक समन्वय समिति र प्राविधिक समिति तथा विभिन्न ६ वटा उपसमिति गठन हुनेछन्।
प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा, जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समन्वय समिति र जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा सहजीकरण संयन्त्र गठन हुन्छ भने स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षता र वडामा वडाध्यक्षको अध्यक्षतामा सहजीकरण संयन्त्र गठनको व्यवस्था छ। देशभर आउँदो वैशाख २६ गतेदेखि जनगणना सुरु गर्नेगरी सचेतना गोष्ठी आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख खड्ग पयिारले वस्तुगत र यथाार्थ तथ्य समेटिएको विवरण लिन सकेमात्र दिगो, उपलब्धिमूलक र दूरगामी लक्ष्य निर्धारण गरेर अघि बढ्न सकिने बताए। गाउँ, समाज र विकास निर्माणलगायत हरेक कुरामा आवश्यक पर्ने तथ्यांक संकलन गरिने भएकाले जनगणना अत्यन्त महत्वपूर्ण हुने उनले बताए। राम्रो तयारी गरे मात्र नतिजा व्यवस्थित, तथ्यपरक र वास्तविक आउने भन्दै परियारले सबै पक्षलाई सचेत र संवेदनशील हुन आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले व्यक्ति र परिवारदेखि, गाउँ, वडा, स्थानीय तह, जिल्ला, प्रदेश र देशसँगै अन्तराष्ट्रियस्तरसम्ममा दूरगामी प्रभाव पार्ने भएकाले जनगणनाको महत्व धेरै रहेको बताए। जनगणनालाई प्रभावकारी बनाउन जनशक्ति दक्ष र तालिमप्राप्त हुनुपर्ने बताउँदै उनले घरघर पुगेर वास्तविक विवरण संकलन गर्न जनगणना कार्यालयलाई आग्रह गरे।
समन्वय समिति उपप्रमुख गंगा राईलगायतका वक्ताले १० वर्षमा एकपटक आउने राष्ट्रिय जनगणना कार्य आफैंमा महत्वपूर्ण र खुसीको विषय भएको भन्दै यसलाई उपलब्धिमूलक बनाउन सबै पक्ष जुट्न आग्रह गरे। वास्तविक विवरण संकलन भए तथ्यांक हुने जनगणना जे पायो त्यही विवरण लिएमा ‘मिथ्यांक’ हुने र त्यसले भ्रम सिर्जना गरेर देश र जनताकै भविष्यमाथि गम्भीर असर पर्ने भएकाले त्यसप्रति संवेदनशील हुन वक्ताहरूको आग्रह थियो।
जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले विभिन्न प्रश्नावली तय गरेको छ। जसका आधारमा देशको जनसंख्या, भूगोल, आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, कृषि, पशुपक्षी, सांस्कृतिक पक्षको विवरण संकलन गरिनेछ। त्यस्तै देशको रोजगार र बेरोजगार जनशक्ति, शैक्षिक, धार्मिकसँगै विभिन्न विषयमा विवरण संकलन गरेर राष्ट्रिय मापन हुने महतोले बताए। जनगणनाका लागि चाहिने गणक र सुुपरभाइजर छनोट कार्य विभागले अनलाइन माध्यमबाट गरिरहेको र आवेदकहरूको लघु सूची ९सर्टलिस्ट० समेत प्रकाशन भइसकेको छ।
छनोटमा पर्ने सुपरभाइजरलाई आगामी वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म जिल्लाका सबै स्थानीय तहका घरघर पुगेर घरधुरी र घर परिवारको विवरण संकलन गर्ने जिम्मा दिइनेछ। उनीहरूले गरेको सूचीकरणका आधारमा गणकहरूले जेठ २५ देखि असार ८ गतेसम्म विभिन्न प्रश्नावलीसहित घरदैलोमै पुगी तथ्यांक संकलन गर्नेछन्। वास्तविक र तथ्यपरक विवरण संकलन गर्न सकियोस् भनेर सुपरभाइजर र गणकलाई आवश्यक तालिम दिइनेछ। उदयपुरमा त्रियुगा नगरपालिकाको गाईघाट, चौदण्डीगढी नगरपालिकाको बेलटार, रौतामाई गाउँपालिकाको मुर्कुची र कटारी नगरपालिकाको कटारी गरी ४ ठाउँमा स्थानीय जनगणना कार्यालय राखेर गणक तथा सुपरीवेक्षक खटाइनेछ।
प्रकाशित: २१ चैत्र २०७७ ०१:५१ शनिबार