२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वनमा डढेलो कसले लगाउँछ ?

वन अधिकारी भन्छन्ः हत्तपत्ति थाहै हुँदैन

मनाङमा गत पुसमा लागेको आगो । फाइल तस्बिरः नागरिक

हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट गत मंसिर ११ देखि सुरु भएको आगलागी नियन्त्रणमा आउन झन्डै डेढमहिना लाग्यो । पहिलोपटकको आगो जसोतसो निभेको मात्र के थियो, माघ दोश्रोसाता नासोँ गाउँपालिका–६,७ र ८ का विभिन्न वन क्षेत्रमा आगलागी सुरु भयो । दोश्रोपटकको आगलागी झनै भीषण थियो ।

एकसाता बढी समय लगाएर दोश्रोपटकको आगलागी मुस्किलले नियन्त्रणमा आएको थियो । हिमपातले गर्दा दोश्रोपटकको आगो निभाउन केही सहज भएको थियो । दोश्रोपटकको आगलागी नियन्त्रणमा आएको धेरैदिन बित्न नपाउँदै मनाङमा तेश्रोपटक आगलागी भयो । तर, तेश्रोपटकमा भने थोरै क्षेत्रफलमा मात्र क्षति पुग्यो । तीनपटक आगलागी हुँदा मनाङमा २८ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा आगलागीले वनक्षेत्र नोक्सान ग¥यो ।  

एउटै क्षेत्रमा तीनपटक आगलागी भएर ठुलो वन क्षेत्र सखाप हुँदा पनि आगलागी गर्ने व्यक्ति पहिचान हुन सकेन । आगलागी यत्ति भीषण थियो की नियन्त्रणमा आउन हिउँ पर्नुको विकल्प थिएन । किनकी अग्ला डाँडाकाँडामा लागेको भीषण आगलागी सहजै नियन्त्रणमा आउने वा ल्याउन सकिने अवस्था थिएन । भौगोलिक कठिनाइका कारण मान्छेले आगलागी नियन्त्रणमा ल्याउन सक्ने अवस्था थिएन, यो सिजनमा हिउँ कम पर्दा बेलैमा नियन्त्रणमा पनि आएन । ढिलागरि हिउँ परेपछि बल्ल आगो निभ्यो । आगो त निभ्यो, तर, लामो समय बितिसक्दा पनि आगजनी गर्ने व्यक्ति अझैसम्म पहिचान हुन सकेको छैन ।  

‘२८ सय हेक्टर बढी क्षेत्रफल वनमा आगलागी भयो । तीनपटकसम्म आगलागी हुँदा पनि आगजनी गर्ने व्यक्ति पहिचान गर्न सकिएन,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का मनाङस्थित संरक्षण अधिकृत लेखनाथ गौतम भन्छन्, ‘आगजनी गर्ने व्यक्ति पहिचान गरेर दण्ड सजाय गर्न नपाउँदा अरुको मनोवल बढ्न सक्छ । आगजनी गर्ने व्यक्ति पत्ता लगाएर कारवाहि गर्न सकेको भए अर्काेवर्षका लागि यस्तो क्षति नदोहोरिन सक्थ्यो, तर, आगजनी गर्ने व्यक्ति नै पत्ता लागेन ।’

स्थानीयको सहयोगबिना आगजनी गर्ने व्यक्ति पहिचान गर्न नसकिने उनले बताए । ‘आगजनी गर्ने व्यक्ति पहिचान गर्नका लागि सुराकी नै परिचालन ग¥यौ, तर, पनि कसले ग¥यो भन्ने यकिन हुन सकेन’ गौतमले भने, ‘आगजनी गर्ने व्यक्तिलाई कारवाहि भएको भए आगामि वर्ष यस्ता घटना नदोहोरिन सक्थे । तर, त्यो अवस्था आउनै पाएन । पुरस्कार घोषणा गर्दा पनि आगजनी गर्ने व्यक्ति पहिचान गर्न सकिएन ।’ मनाङमा आगलागी भएको सबै क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्रको वन हो । आगलागीले वन क्षेत्र, जडिबुटी, बोटविरुवा ठुलो मात्रामा क्षति गरेको गौतमले बताए ।  

मनाङको आगलागी एउटा उदाहरण मात्र हो । जथाभाविको डढेलोले यतिबेला सबैतिर वायु प्रदूषण बढिरहेको छ । मुलुकका धेरै वन क्षेत्रमा आगलागी भईरहेको तथ्यांक सार्वजनिक भईरहेका छन् । वायु प्रदूषण बढाउनुमा वन डढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताईरहेका पनि छन् । तर, वनमा डढेलो लगाउने व्यक्ति हत्तपत्ति पत्ता लाग्दैन । जसले गर्दा आगजनी गर्ने व्यक्तिको मनोवल बढ्ने गरेको छ ।  

जिल्ला वन कार्यालय गोरखाका वन अधिकृत महेश पौडेल भन्छन, ‘गोरखामा यो सिजनमा करिब ५० ठाउँमा आगलागी भयो, तर, आगजनी गर्ने एकजना व्यक्ति मात्र पहिचान भए । सबैठाउँमा आगजनी गर्ने व्यक्ति पहिचान हुन सकेनन् ।’ गोरखाका यो सिजनमा ५० ठाउँमा आगलागी हुँदा धार्चे गाउँपालिका–३ उहिँयाका गोपाल सुनारको मात्र पहिचान भएको थियो । उनलाई पक्राउ गरेर वन क्षेत्रमा आगजनी गरेको अभियोगमा मुद्धा चलाइएको छ ।  

‘५० ठाउँमा आगजनी हुँदा एकजना मात्र पक्राउ परे । आगलागी पनि जघन्य अपराध हो भन्ने बुझाई हुन सकेन, त्यो अनुसार आगजनी गर्ने व्यक्ति पहिचान गर्न चाँसो पनि कम पुगेकै हो,’ पौडेल भन्छन, ‘आगजनी भएको सबै ठाउँका व्यक्ति पहिचान गरेर कारवाहि गर्ने हो भने घटना दोहोरिने थिएनन । तर, यहाँ हत्तपत्ति आगजनी गर्ने व्यक्तिकै खोजी कम हुन्छ ।’  

वन ऐन २०७६ ले फौजदारी मुद्धा अनुसार वनमा आगजनी गर्ने व्यक्तिलाई कारवाहि गर्ने व्यवस्था गरेको छ । त्यस अनुसार ६० हजार रुपैयाँ जरिवाना वा ३ वर्ष कैदको व्यवस्था भएपनि त्यो अनुसार कार्यन्वयन हुन नसकेको उनले बताए । ‘आगजनाी गर्ने व्यक्ति पहिचान नभएकै हो । आगो लागेपछिको क्षति अधिक छ । तर, आगजनी गर्ने व्यक्ति खोजेर कारवाहि गर्ने भन्दा पहिले नै लाग्न नदिनेतर्फ मात्र सचेतना बढेको छ,’ पौडेलले भने, ‘आगजनी गर्ने व्यक्ति पहिचान गरेर धमाधम कारवाहि गर्ने हो भने सचेतना बढिहाल्छ ।’ गोरखामा सामुदायिक वन क्षेत्रमा अधिक आगलागी भएको उनले बताए ।  

जिल्ला वन कार्यालय तनहुँका वन अधिकृत कोमलराज काफ्ले पनि आगजनी गर्ने दोषि पत्ता नलाग्दा घटना दोहोरिने गरेको बताउँछन् । ‘बारम्बार आगजनी हुँदा पनि आगो कसले लगाएको हो भन्ने यकिन हुन सकेको छैन,’ काफ्ले भन्छन, ‘आगलागी भएको घटनामा छिटफुट बाहेक संलग्न व्यक्तिलाई कारवाहि भएको हुँदैन । कसले आगो लगायो भन्ने पनि पत्तो लाग्दैन ।’ कतिपय अवस्थामा वन क्षेत्रमा नियन्त्रित तरिकाले आगो लगाउनुपर्ने अवस्था रहेपनि त्यता ध्यान नदिएको उनले बताए ।  

आगो नियन्त्रणको शैली पुरानै

वन क्षेत्रमा आगजनी भइहालेमा निभाउने तरिका पनि पुरानै रहेको वन अधिकारी बताउँछन् । प्रयाप्त सामाग्री अभावमा आगजनी नियन्त्रणमा सहज नभएको उनीहरुको भनाई छ । जिल्ला वन कार्यालय गोरखाका वन अधिकृत महेश पौडेल भन्छन्, ‘आगलागी भइहाल्यो भने नियन्त्रणको शैली परम्परागत नै छ । अग्नी नियन्त्रण गर्ने प्रविधि नै भित्रिएको छैन । त्यसले गर्दा पनि आगलागी नियन्त्रणमा आउन कठिन हुन्छ । आगलागी भएपछि नियन्त्रणमा ल्याउन हिउँ र पानी पर्नुको विकल्प नरहेको उनले बताए ।  

तनहुँका वन अधिकृत काफ्ले पनि अहिले जंगलमा आगजनी हुँदा नियन्त्रणको शैली भनेको फायरलाइन बनाउने, स्याउलाले पिट्ने, माटो खनेर पुर्ने, पानीको पहुँच भए भाडाकुँडामा बोकेर निभाउने मुख्य तरिका हुन् । तर, अप्ठेरोमा लागेको आगो नियन्त्रणका लागि जाने अवस्था नरहने उनले बताए । ‘स्थानीय र सुरक्षाकर्मीको भरमा आगजनी नियन्त्रणको प्रयास मात्र हुन्छ । त्यही पनि सहज हुँदैन,’ उनले भने । विकसित मुलुकले आगलागी नियन्त्रणका लागि प्रविधि प्रयोग गर्ने भएपनि नेपालमा अझै खनखोरसको भरमा मात्र आगो निभाउने प्रयास  गर्ने उनले बताए । 

प्रकाशित: १९ चैत्र २०७७ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App